शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिनियाँ भ्लगर ककपिटमै छिराएपछि क्याप्टेन विजय लामामाथि क्यानको एक्सन

​तत्कालका लागि उडानमा प्रतिबन्ध, लाइसेन्स खारेजसम्म हुनसक्ने
बुधबार, २३ कात्तिक २०७९, १२ : २६
बुधबार, २३ कात्तिक २०७९

उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध लगाइएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले लामालाई गत आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो ।

केही समयअगाडि दुबईबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमानको ककपिटभित्रै एक भ्लगरलाई प्रवेश दिएर क्याप्टेन लामाले गम्भीर सुरक्षा लापरबाही गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण –क्यान)ले जनाएको छ । सोही विषयमा क्यानले लामालाई क्यानको कार्यालयमा बोलाएर दुई दिनअघि यथाशक्य चाँडो स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले रातोपाटीलाई बताए । 

दुबईबाट काठमाडौँ आउने क्रममा चिनियाँ एभिएसन भ्लगर साम चुइलाई विमानको ककपिटमै प्रवेश गराएको र यसबाट गम्भीर सुरक्षा लापरबाही भएको भन्दै उक्त विमानका क्याप्टेन लामालाई स्पष्टीकरण सोधी कारबाही गर्ने तयारी भएको हो । क्यानले यथाशक्य चाँडो स्पष्टीकरण पेस गर्न भनेपछि लामाले यस विषयमा छलफल गरिरहेका छन् । 

चिनिया भ्लगर साम चुईले गत ५ नोभेम्बरमा आफ्नो भ्लग युट्युबमा प्रकाशन गरेपछि यात्रुलाई ककपिटमा प्रवेश दिएको र उडान कर्मचारीसँग भिडियो वार्ता गरेको जानकारी आएको थियो । तर त्यसका लागि अनुमति नै नलिइएको पाइएपछि यसले गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै लामालाई तत्कालका लागि उडानमा प्रतिबन्ध लगाएर स्पष्टीकरण माग गरिएको हो । 

क्यानका प्रवक्ता निरौलाका अनुसार तत्कालका लागि लामासँग स्पष्टीकरण माग गरिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभएमा र यसबाट लापरबाही पुष्टि भएमा उनको लाइसेन्स नै खारेज हुनेसम्मको कारबाही हुन सक्नेछ । 

फ्लाइट सेफ्टी रुलमा यात्रुलाई ककपिटमा प्रवेश दिनुलाई गम्भीर सुरक्षा चुनौती र लापरबाही मानिन्छ । इकोनोमी क्लासमा रहेका यात्रुलाई बिजनेस क्लास खाली भएमा उडान सुरु भएपछि त्यहाँ लैजाने अधिकार भने क्याप्टेनलाई दिइएको हुन्छ । तर ककपिटमै लगेर देखाउने हो भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पहिले नै अनुमति लिएको हुनुपर्नेछ । अनुमति नलिई यात्रुलाई ककपिटमा पुराएको विषयमा उनीमाथि स्पष्टीकरण सोधिएको हो । 

चिनिया एभिएसन भ्लगर साम चुई नेपाल आएपछि पनि लामालाई सँगै लिएर सगरमाथा क्षेत्रको भ्रमणमा निस्किएका छन् । लामा ती चिनिया भ्लगरसँगै सगरमाथा क्षेत्र घुमेर फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप