शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउन्ड रौतहट–१ : अङ्कगणित माधवको पक्षमा, तर अजय भन्छन्, ‘उहाँ मेरो प्रतिस्पर्धी नै होइन’

बुधबार, २३ कात्तिक २०७९, १२ : १२
बुधबार, २३ कात्तिक २०७९

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार रहेको रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी रौनक बढ्दै गएको छ । उम्मेदवारहरू मत माग्दै जनताका घरआँगनमा पुगिरहेका छन् भने केही चोक र पायक पर्ने स्थानमा चुनावी सभासहितका कार्यक्रममा व्यस्त छन् । सोमबार बिहान रातोपाटी टीम गौर नगरपालिका– ५, कोइरी (कुशवाहा) टोलमा पुग्दा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालको चुनावी प्रचार–प्रसार तथा घरदैलो कार्यक्रम चलिरहेको थियो । घरदैलो भन्दैमा पूर्व प्रधानमन्त्री नेपाल भने भोट माग्न जनताको घरघरमा पुगेका थिएनन् । ठाउँठाउँमा मञ्च बनाएर त्यस क्षेत्रका जनतालाई भेट्न पुग्ने र त्यहीँ भाषण गर्ने उनको चुनावी प्रचार–प्रसारको शैली देखिन्थ्यो । उम्मेदवारलाई भोट माग्ने चटारो भए पनि मतदाताहरू भने आफ्नै समस्या सुनाइरहेका थिए ।

मञ्चदेखि केही पर बसेर सोही टोलका ३५ वर्षीया राजेश कुशवाहाले नेताहरूको भाषण सुनिरहेका थिए । कक्षा ५ सम्मको अध्ययन गरेका उनले परिवारसँग मिलेर एक बिघा जमिनमा तरकारी खेती गर्छन् । उनको परिवारको नाममा चार कट्ठा जमिन छ, बाँकी जमिन उनीहरूले भाडामा लिने गर्छन् । ‘यहाँका कृषकका लागि जमिनमुनिबाट पानी तान्ने मेसिन, बिजुली र मल–बिउ आवश्यक छ । सरकारले किसानलाई हेर्नुपर्‍यो, समयमै मल–बिउहरू आउनुपर्‍यो’, राजेशको माग छ ।

राजेशको जस्तै माग गौर– ८ का ७० वर्षीय नन्दलाल पाण्डेको पनि छ । १० कट्ठा जमिनमा खेती गरी सात जनाको परिवार धान्दै आएका उनलाई नेताको भाषण सुन्ने फुर्सद छैन । ‘हामीलाई कृषिमा सहुलियत हुनुपर्‍यो । सिँचाइको असुविधा छ, जमिनमुनिबाट पानी तान्न घण्टाको चार सय रुपैयाँ तिर्नुपर्छ’, राजनीतिप्रति वितृष्णा रहेको भावना पाण्डेले व्यक्त गरे ।

तर, निर्वाचन प्रचारमा जुटिरहेका उम्मेदवार नेपाल भने जनताको प्रतिक्रियाबाट उत्साहित देखिन्छन् । ‘जनताले हामीबाट धेरै आशा र अपेक्षा गरेका छन् । त्यो अवस्थामा बाम लोकतान्त्रिक गठबन्धनका हामी उम्मेदवारहरू विजयी हुन्छौँ भन्ने पूर्ण विश्वासका साथ हामी अगाडि बढिरहेका छौँ ’, उम्मेदवार नेपालको भनाइ छ ।

उनले काठमाडौँ छोडेर जन्मभूमिबाट निर्वाचन लड्दा आनन्दको अनुभूति भएको समेत बताए । ‘दुईवटामा उठ्ने स्थिति भइदिएको भए एउटा कुरा हुन्थ्यो । एक ठाउँमा उठ्ने कुरा भएको हुनाले मैले रौतहट–१ रोज्ने स्थिति बन्यो । यसमा मलाई बेग्लै खालको आनन्दको अनुभूति भइरहेको छ’, नेता नेपालले रातोपाटीसँगको कुराकानीमा भने ।

उनले धेरै ठाउँमा बागी उम्मेदवारहरूको समस्या भए पनि आफ्नो क्षेत्रमा नभएको बताए ।

‘यहाँका जनताले तपाईं नै चाहियो भनेका छन् । गर्न सक्ने मान्छे तपाईं नै हो, गर्ने सोच भएको मान्छे पनि तपाईं नै हो, क्षमता भएको मानिस पनि तपाईं नै हो, इमानदारिताको प्रतीक पनि तपाईं नै हो’, जनताको भनाइ उद्धृत गर्दै नेपालले भने, ‘आम किसानदेखि लिएर, व्यवसायी, मजदुर, महिलादेखि लिएर बुद्धिजीवीहरूसम्म सबै तहका जनताले मलाई अत्यन्तै माया गरेका छन् । तपाईं आउनै पर्छ भनेका छन् । किनभने एउटा ठाउँ त रोज्नै पर्छ ।’ उनले विगतमा डुबान हुने गौरमा अव त्यसको समाधान आफूले गरेको समेत बताए । ‘अहिले गौरमा डुबान हुँदैन’, उनको जवाफ छ ।

यता एमालेका उम्मेदवार अजय गुप्ता ‘हेभीवेट’ नेता नेपाललाई प्रतिस्पर्धी नै ठान्दैनन् । गुप्ता आफू मतदाताको घरदैलोमा जाँदा राम्रो समर्थन प्राप्त भइरहेको भन्दै एमालेप्रति जनता उत्साहित भएको बताउँछन् ।

‘जनता मलाई जिताउन एकदम व्याकुल छन्’, उनी भन्छन्, ‘तपाईंलाई यस क्षेत्रका जनताले किन मत दिने ? म यही क्षेत्रको छोरा हुँ र म जनताकै बीचमा बस्छु । जनताको समस्या समाधानका लागि सधैँ भूमिका निर्वाह गर्दै आएको छु ।’

यसअघि चुनाव जित्नेहरू पाँच वर्षसम्म फर्केर नआएको भन्दै उनले आफ्नो क्षेत्रमा फर्केर नआउनेलाई भोट दिन जनता तयार नभएको बताए । ‘म भने सधैँ चुनाव क्षेत्रमा बस्ने, गाउँ–टोलमा बस्ने उम्मेदवार हुँ । जनताको सुखदुःख, जनताको विकासको कुरालाई सक्रियताका साथ सदैव उठाइरहने गरेको छु ।’

सत्ता गठबन्धनका उम्मेदवार माधव नेपालसँग लड्दा कत्तिको चुनौती महसुस भइरहेको छ ? भन्ने प्रश्नमा गुप्ता भन्छन्, ‘छैन, चुनौती छैन । उहाँसँग प्रतिस्पर्धा नै छैन ।’

उनले प्रभु साह फ्याक्टरको कुनै असर नभएको र जसपा विवादले पनि कुनै असर नगर्ने बताए ।

अंक गणितमा नेपाल सेफ जोनमा

उम्मेदवार नेपाल सत्तागठबन्धनका साझा उम्मेदवार पनि हुन् । २०७४ मा काठमाडौँ २ बाट निर्वाचित नेपाल यो पटक गृह जिल्लाबाट प्रतिस्पर्धा गर्दैछन् । नेपालसँग पूर्व एमालेकै एमालेका अजय गुप्ता जसपाको समर्थनसहित मूल प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।  

गएको स्थानीय निर्वाचनमा रौतहट १ का गौर र राजदेवी नगरपालिका एकीकृत समाजवादी, यमुनामाई गाउँपालिकामा लोसपा, दुर्गाभगवती गाउँपालिका माओवादी र माधवनारायण नगरपालिका कांग्रेसले जितेको थियो । रौतहट १ मा माधवनारायण, राजदेवी र गौर नगरपालिकाका साथै गढीमाइका तीनवटा वडा, गरुडाको १ नम्बर वडा, यमुनाइमाई गाउँपालिका र दुर्गाभगवती गाउँपालिका पर्दछन् ।

यो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार नेपाल ‘सेफ’ जोनमा देखिन्छन् । यहाँ एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले १९ हजार ६ सय ९८, कांग्रेसले १६ हजार नौ सय २८, लोसपाले १२ हजार ६२, जसपाले ८२४१, माओवादीले आठ हजार १९१ र एमालेले सात हजार ३८५ मत पाएका थिए ।

हालको सत्ता गठबन्धनमा रहेका दलको मत जोड्दा नेपालको पक्षमा ५६ हजार ८७९ रहेको छ  भने एमाले र जसपा तालमेल गर्दा गुप्ताको पक्षमा १५ हजार ६२६ पुग्छ । ०७० को दोस्रो संविधान सभा निर्वाचनमा पनि नेपालले यही क्षेत्रबाट चुनाव जितेका थिए ।  तर गठबन्धनको सबै मत ‘ट्रान्सफर’ हुने/नहुने यकिन भने छैन ।

‘गठबन्धनको विकल्प अरू कसैले नसोचे पनि हुन्छ’

माधवकुमार नेपाल​, नेकपा एकीकृत समाजवादी

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको सिलसिलामा रातोपाटीका टिमले देशका विभिन्न चुनावी क्षेत्रबाट विभिन्न उम्मेदवारहरूसँग छलफल र स्थलगत रिपोर्टिङ गरिरहेको छ । त्यस क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा रौतहट–१ का प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार माधवकुमार नेपालसँग रातोपाटीका लागि रोहित दाहालले गरेको निर्वाचनकेन्द्रित कुराकानी ः 

–कस्तो चलिरहेको यहाँको प्रचार प्रसार अभियान ?

बडो राम्रो गतिका साथ, उत्साहजनक जनसहभागिता र जनप्रतिक्रियाका साथ अगाडि बढिरहेको छ । जनतामा एउटा उत्साह छ । जनताले हामीबाट धेरै आशा र अपेक्षा गरेका छन् । त्यो अवस्थामा बाम लोकतान्त्रिक गठबन्धनका हामी उम्मेदवारहरू विजयी हुन्छौँ भन्ने पूर्ण विश्वासका साथ हामी अगाडि बढिरहेका छौँ । 

–यहाँ काठमाडौंबाट पनि चुनाव लड्नुभयो । अन्तिममा आफ्नै जन्मस्थानले साथ दिनेरहेछ । यहाँकै जनतामा आउनुपर्ने रहेछ भन्ने कुरा भावनात्मक रूपमा कत्तिको पर्दो रहेछ ?

काठमाडौंका जनताले पनि साथ दिएका हुन् । अहिले पनि साथ दिन्छौं भनेकै हुन् । रौतहट जिल्लाका जनताले पनि साथ दिँदै आएका हुन् । उहाँहरूले पनि पूरै सहयोग पनि गरिरहनुभएको छ । जन्मभूमिका जनताले तानेर धेरै माया गरेर यहाँ ल्याइसकेपछि दुईवटामध्ये एउटा रोज्नुपर्ने स्थिति बन्यो । दुईवटामा उठ्ने स्थिति भइदिएको भए एउटा कुरा हुन्थ्यो । एक ठाउँमा उठ्ने कुरा भएको हुनाले मैले रौतहट–१ रोज्ने स्थिति बन्यो । यसमा मलाई बेग्लै खालको आनन्दको अनुभूति भइरहेको छ । 

–यो क्षेत्रमा एमाले र जसपाबीच पनि तालमेल भएको छ । प्रतिस्पर्धी गठबन्धन अहिले बलियो छ भन्ने कुरा छ । यसलाई तपाईंले कत्तिको चुनौतीका रूपमा लिनुभएको छ ? 

स्थानीय तहको निर्वाचनमा नराम्ररी पराजित भइसकेकाले राजनीतिको र कति बुझेको छ, थाहा छैन (हा.. हा.. हा...लामो हाँसो) तर महिना महिनामा, वर्ष वर्षमा पार्टी फेर्ने मानिसको चरित्रलाई अवसरवादी चरित्र भनिन्छ, त्यस्तो चरित्र बोकेको मानिसलाई कसैले पत्याउँदैनन् । त्यसमा पनि कम्युनिस्ट पार्टीको क पनि नजानेको मान्छे, एउटा किताब पनि नपढेको मान्छे, दर्शनको कुनै व्याख्या गर्नै नसक्ने मान्छेका बारेमा मैले केही भनिरहनुपर्ने आवश्यकता छैन । कसैले पनि मुकाबिला भइरहेको छ भनेर बुझेका छैनन् । हामी जित्छौं । 

–रौतहटको केही क्षेत्रमा प्रदेश उम्मेदवारमा तपाईंकै पार्टीको बागी उम्मेदवार किन उठाइ दिनुभयो ?

बागी उम्मेदवारहरूको समस्या धेरै ठाउँमा छ । समाजवादीमा पनि छ, माओवादीमा पनि छ, काँग्रेस पार्टीमा पनि छ । स्वयं शेरबहादुर देउवाको क्षेत्रमा पनि छ । हाम्रो प्रचण्डजीको निर्वाचन क्षेत्रमा पनि के भएको छ, थाहा छैन । बरु मेरो निर्वाचन क्षेत्रमा छैन । भनेपछि त्यस्ता ठाउँहरूमा समस्या छन् । हामीले फिर्ता गर्न भन्दाभन्दै पनि अहिलेसम्म पनि कतिपयले फिर्ता गरिसकेका छैनन् । हामीले एक ढङ्गले सहमति गरेका छौँ । तर त्यो अवस्था आउनु त्यति राम्रो कुरा होइन । 

–यहाँ त एकीकृत समाजवादीकै बागी उम्मेदवार भए नि माओवादीविरुद्ध भन्ने छ उहाँहरूको ? 

होइन, होइन, त्यो त अरूको पनि त्यही ढङ्गले भएको छ । टिकट त हामीले सही गरेर पठाउँछौँ । त्यसैले, यहाँ आफ्नै किसिमको जटिलताले हो । पहिले दिने भन्ने कुरा भयो । फेरि होइन भनेर परिवर्तन गर्ने कुरा भयो । यी सबै कारणले यहाँबाट अलि राम्रो सन्देश गएन । नभए पनि हामीले गठबन्धन दलको तर्फबाट लिस्ट जारी गरिसकेका छौँ । हामीले जुुन लिस्ट जारी गरिसकेका छौँ, त्यही आधिकारिक लिस्ट हो । 

–रौतहट क्षेत्र नं. १ का जनताले पहिले पनि विजयी गराएर पठाए । फेरि पनि तपाईंलाई मतदान किन गर्ने ? 

यहाँका जनताले तपाईं नै चाहियो भनेका छन् । गर्न सक्ने मान्छे तपाईं नै हो, गर्ने सोच भएको मान्छे पनि तपाईं नै हो, क्षमता भएको मानिस पनि तपाईं नै हो, इमानदारिताको प्रतीक पनि तपाईं नै हो । रौतहटको अर्को नाम पनि तपाईं नै हो । तपाईंको नामबाट चाहिँ रौतहट जिल्ला हो । रौतहट जिल्ला भन्नेवित्तिकै कसको जिल्ला त भन्दा माधव नेपालको जिल्ला भनेर बुझ्छन् । त्यसकारण तपाईं आउनुपर्छ भनेर आम किसानदेखि लिएर, व्यवसायी, मजदुर, महिलादेखि लिएर बुद्धिजीवीहरूसम्म सबै तहका जनताले मलाई अत्यन्तै माया गरेका छन् । तपाईं आउनै पर्छ भनेका छन् । किनभने एउटा ठाउँ त रोज्नै पर्छ । 

यदि २०५१ सालमा तटबन्धन बनाउन मैले पहल नगरेको भए, डुबानमा जाने क्षेत्र हो यहाँ । मेरो घरमा समेत प्रत्येक वर्ष घाँटी घाँटी डुबान हुन्थ्यो । म बच्चा हुँदाका उमेरको सम्झन्छु । अहिले पनि प्रत्येक वर्षातका समयमा राति, दिउँसो कतिखेर बाढी आउने हो भन्ने चिन्ताले पूरै बर्खाको समय बित्ने गथ्र्यो । मैले यहाँ काम गरेकैले मलाई मत दिन्छन् ।

–भनेपछि अहिले गौर क्षेत्र डुबान हुँदैन ? 

अहिले गौरमा डुबान हुँदैन । चाहे बागमतीको तटबन्ध या बकैयाको तटबन्धको कुरा गर्नुस्, गौर–चन्द्रनिगाहपुरको बाटो हेर्नुस् । यहाँका कुनै बाटामा खाल्टाखुल्टी पाउनु हुन्न । एक ठाउँमा यहाँको पुल बनाउने जिम्मा पाएका यहाँका मेयरका नजिकसँग जोडिएका पुराना मेयरको हालत हेर्नुस् । पाँच पाँच वर्ष बसेर नगरपालिकाको प्रमुख भएका मान्छेले गौर छिर्ने पुल पनि बनाउन सकेनन् । 

मैले बर्राहमा साढे सात करोड रुपियाँ ताल बनाउन पठाएकोमा त्यहाँ छड हेर्नुस् बिजोग छ । त्यो छानबिन गर्न लगाउने हो भने अकुत भ्रष्टाचार गरेको छर्लंग हुनेछ । भ्रष्टाचारबाहेक यहाँ केही पनि छैन । यहाँ बाटो पिच भएको छ । दुई अर्ब रुपियाँ मैले बाटो बनाउनका लागि पठाएँ । झण्डै ५० किलोमिटर बाटो बनाउन मैले नै शिलान्यास गरेको हुँ । यहाँको सांसद् नहुँदा पनि मैले गरेको हुँ । तर त्यसलाई बरु अरूले रकम दुरुपयोग मात्र गर्ने, काम केही पनि नगर्ने गरे ।

 गौरबाट बकैया जाने पुल मैले बनाएको हो । त्यो नहुँदा मान्छेको विजोग थियो । फलामको सामान्य पुल मान्छे पैदलसम्म हिँड्थे । गाडी पास हुन सक्दैनथ्यो । यस्तो विकासको काम धेरै गरियो ।

–राजनीतिमा युवा पुस्ता अहिले धेरै अगाडि आइरहेको अवस्था छ । अब माधव नेपाल अन्तिम पटक चुनाव लड्दै हुनुहुन्छ भनेर सोधेँ भने के भन्नुहुन्छ ? 

युवाहरू आउँदा त म स्वागत गर्छु । युवाहरू आएर जिम्मेवारी सम्हालुन्, अति खुसी हुन्छु । म युवाहरूलाई अगाडि बढाउने पक्षमा छु । असक्त हुँदा पनि राजनीतिमा नेतृत्व लिइरहनुपर्छ भन्ने पक्षमा म छैन । 

जहाँसम्म अब यो चुनावलाई अन्तिम ठान्ने कि नठान्ने भन्ने बारेमा नबोल्नुस् भनेर धेरै साथीहरूले भनेका छन् । मेरो मनको कुरा गर्नुहुन्छ भने यो अवधिभन्दा बढी किन जानु र ? भन्ने छ मेरो दिमागमा । हुन त मैले प्रचण्ड कमरेडलाई भनी पनि सकेका छु, तपाईं पनि म पनि छोडिदिनुस् अब भनेर । यो अवधिभरि बसौँ, त्यसपछि छोडिदिऔँ । 

त्यसैले, मेरो मान्यता पनि के हो भने ७०, ७५ को सीमालाई आधार राखौँ । ८० नाघ्ने कुरा त गर्दै नगरौँ, यो ठीक पनि हुँदैन । ७५ वर्षलाई आधार मानेर गर्दाखेरि ठिक्क हुन्छ मान्छेले, नेपालको औसत आयुभित्र पर्ने पनि बन्न सक्दछ । त्यतिबेलासम्ममा नयाँ नेतृत्व तयार पनि भइसकेका हुन्छन् । उनीहरूलाई क्रमशः जिम्मेवारी दिँदै जानुपर्छ । उनीहरूले पार्टीको अगुवाइ गर्ने, आन्दोलनलाई सशक्त बनाएर लैजाने, त्यसपछि आफ्नो राम्रो कामबाट जनविश्वास आर्जन गर्ने काम गर्नुपर्छ भन्ने पक्षमा छु । 

–यो सत्ता गठबन्धनको प्रारम्भिक परिणामको बारेमा तपाईंको केही अनुमान छ ?

परिणामको बारेमा भन्दा गठबन्धनको बहुमत आउँछ, कम्फर्टेबल बहुमत । त्यसो हुनाले गठबन्धनको विकल्प अरु कसैले नसोचे पनि हुन्छ । शानदार सफलताका साथ निकै धेरै मत लिएर, निकै धेरै सिट लिएर गठबन्धनका दलहरूले जित्दैछन् । 

–प्रधानमन्त्री को हुन्छ त्यसपछि ?

अब बसेर छलफल गरिन्छ, शक्ति सन्तुलनले के भन्छ, त्यो अवस्थाले तय गर्छ । 

–तपाईंको सम्भावना छ ?

अब मेरो सम्भावना छ भनेर मैले गीत गाउँदै हिँड्नु राम्रो हुन्छ कि हुँदैन, सोच्ने तपाईंहरूले हो । 

माधव नेपाललाई मैले प्रतिस्पर्धी नै ठानेको छैन

अजय गुप्ता, नेकपा एमाले

चुनाव प्रचार अभियान कस्तो चलिरहेको छ ?

राम्रै भइरहेको छ । मतदाताको घरदैलोमा जाँदा राम्रो समर्थन प्राप्त भइरहेको छ । जनता उत्साहित छन् । जनता मलाई जिताउन एकदम ब्याकुल छन् । 

तपाईलाई यस क्षेत्रका जनताले किन मत दिने ?

म यही क्षेत्रको छोरा हुँ र म जनताकै बीचमा बस्छु । जनताको समस्या समधानका लागि सधैँ भूमिका निर्वाह गर्दै आएको छु । मलाई चिन्नेहरु बाहिरको मान्छेलाई किन मत दिने, मत तपाईलाई नै हो भन्छन् । यसअघि जसले चुनाव जित्यो, ऊ पाँच वर्ष आफ्नो क्षेत्रमा फर्केर आएन, विकास गरेन । मानिसहरु त्यस्ता मानिसलाई भोट दिन तयार छैनन् ।

म भने सधैं चुनाव क्षेत्रमा बस्ने, गाउँ–टोलमा बस्ने उम्मेदवार हुँ । जनताको सुखदुःख, जनताको विकासको कुरालाई सक्रियताका साथ सदैव उठाइरहने गरेको छु । समस्या समाधानमा अग्रसर रहने भएकाले यस क्षेत्रका जनताले मलाई मत दिनुहुन्छ ।

तपाईको प्रतिस्पर्धा शत्तिशाली नेतासँग छ, पूर्व प्रधानमन्त्री, नेकपा एकीकृत समाजवादीका अध्यक्ष र सत्ता गठबन्धनका उम्मेदवार माधव नेपालसँग लड्दा कत्तिको चुनौती महसुस भइरहेको छ ?

छैन, चुनौती छैन । उहाँसँग प्रतिस्पर्धा नै छैन । यो रौतहट क्षेत्र नम्बर १ को चुनाव एकतर्फी हाम्रो पक्षमा हुनेछ । हामीले ठूलो मत ल्याएर जित्नेछौं । तपाईले शक्तिशाली नेता भन्नुभयो, त्यो त उहाँलाई जनताले शक्तिशाली बनाएको थियो । जनताको समस्या समधानका लागि, यस क्षेत्रको विकासका लागि उहाँले कुनै पनि भूमिका निर्वाह गर्नु भएन । देशको सर्वोच्च पद प्रधानमन्त्री भएर पनि यो क्षेत्रको विकास गर्न जोड दिनुभएन ।

म मेयर हुँदा साढे चार वर्षको कार्यकालमा दुई वर्ष कोभिडले काम गर्न कठिन भयो तर त्यसबेला पनि मैले जति काम गरेँं, त्यति गठबन्धनका उम्मेदवार माधव (नेपाल) जीले २६ वर्षमा पनि गर्नु भएन ।

भनेपछि माधव नेपाललाई तपाईले आफ्नो प्रतिस्पर्धी नै ठान्नु भएको छैन ?

छैन । उहाँलाई प्रतिस्पर्धी (बलियो) ठानेको छैन ।

उहाँ त त्यत्रो शक्तिशाली नेता ?

नेता शक्तिशाली त जनताको मतले हुने हो । जनताको समर्थनले न नेता हुने हो । जनसमर्थन नै छैन भने कसरी शक्तिशाली ?

तपाईको जितको आधारचाहिँ के हो ?

म टोल टोलमा जाँदा जनता उत्साहित छन् । जनतामा नेकपा एमालेप्रति विश्वास छ । जनतामा अजय गुप्ताप्रति विश्वास छ । त्यो मेरो एउटा ठूलो शक्ति हो । र जनताको शक्ति र मतले म विजयी हुन्छु । यो क्षेत्रको समग्र विकास गर्छु । जनताका जति पनि समस्या छन्, तिनलाई समाधान गर्छु ।

जनता समाजवादी पार्टीसँग तपाईहरुको देशव्यापी तालमेल छ । तर यही गठबन्धनकै कारण प्रभु साह तपाईहरुसँग असन्तुष्ट बनेर पार्टी छाड्नुभयो । रौतहट प्रभु साहको एकदम वश्र्चस्व भएको जिल्ला मानिन्छ । त्यसको प्रभाव के हुनेछ ?

प्रभु साहको ‘च्याप्टर क्लोज’ भइसक्यो । प्रभु साह एमालेमा हुनुहुन्न । म एमालेबाट उम्मेदवार छु ।

तर प्रभु साहसँग हिजो एमालेमा आएकाहरु उतै फर्किए त ? तपाईहरुलाई घाटा लाग्दैन ?

कुनै घाटा लाग्दैन । मलाई प्रभु साहले मत दिने होइन, यो क्षेत्रको जनताले मत दिने हो । र यस क्षेत्रका जनताले यहाँको नेता चुनिसकेका छन् । तिनले अजय गुप्तालाई ‘जनताको छोरा’ मानिसकेका छन् । म जनताको बीचमा बस्ने मान्छे हो र त्यो नाताले मैले जनताको अपार समर्थन हासिल गरिरहेको छु ।

जसपासँगको गठबन्धनको कारण तपाईको पार्टीमा आन्तरिक विवाद छ, असन्तुष्टि छ त्यसलाई कसरी मिलाउनुहुन्छ ?

कुनै विवाद छैन । अहिले पनि यो घरदैलो कार्यक्रममा जसपाका पूर्व माननीय रम्भा देवी हामीसँगै हुनुहुन्छ । त्यसैले हामीबीच कुनै विवाद छैन ।

तपाईहरुकै पार्टी एमालेभित्र पो विवाद छ त ?

मलाई लाग्दैन कि एमालेभित्र कुनै विवाद छ । जो मानिस असन्तुष्ट थिए, तिनले पार्टी छाडेर गइसके ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप