शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे–२ का जनता भन्छन्–खेती गर्न लाग्यो मल हुँदैन, कसलाई भोट दिएर के हुन्छ ?

‘नो भोटको सिस्टम ल्याए हुन्थ्यो’
बुधबार, २३ कात्तिक २०७९, ११ : ४४
बुधबार, २३ कात्तिक २०७९

काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित कुन्ताबेसी बजारमा हरेक दिनजसो कुनै न कुनै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आएर कोणसभा गर्ने गरेका छन् ।

माथिल्लो पहाडी भेगको मुख्य बजारको रुपमा रहेको कुन्ताबेसीमा मानिसहरुको आवतजावत पनि बाक्लो हुने भएका कारण त्यस आसपासका गाउँबस्तीमा घरदैलो गरेपछि उम्मेदवाहरुले साँझपख बजार छेउमा कोणसभा गर्ने गरेका छन् ।

घरदैलो, कोणसभा र ¥याली गर्दै घर घरमा पुगेर भोट माग्ने क्रम बढेपनि जनता भने उनीहरुले केही गर्छन् भन्ने कुरामा आशावादी देखिएनन् ।​कुन्ताबेसी बजार काभ्रे क्षेत्र नम्बर २ अन्तर्गत पर्छ । यहाँपनि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारको कामलाई व्यापक बनाएका छन् । एमाले नेता गोकुल बास्कोटा अघिल्लो पटक विजयी भएको क्षेत्र र अहिले सत्ता गठबन्धनका उम्मेदवार शिव हुमागाईसँग बास्कोटा नै प्रतिस्पर्धी भएका कारण यो क्षेत्रको चुनावी प्रतिस्पर्धालाई रोचकताका साथ हेरिएको छ । यो क्षेत्रमा चलचित्र मनोज पण्डितपनि स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा उत्रिएका छन् ।

चुनावका बेला भोट माग्न आउने र त्यसपछि फेरि फर्केर नआउने, कृषक बाहूल्य रहेको काभ्रेमा खेतीपाती गर्न रासायनिक मल नपाउने, खानेपानी, बाटोको समस्या जस्ताको तस्तै रहेको सो क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।

मण्डनदेउपुर कुन्ताबेसीकी शारदा पौडेलले गाउँघरमा चुनावी चहलपहल बढेपनि जनता भने निराश रहेको बताइन् ।

उनले भनिन्, ‘चुनावको बेला यो गर्ने, त्यो गर्ने भन्छन् । चुनाव सकिएपछि मुख देखाउन आउने पनि होइनन् । कसैले केही गरेका पनि छैनन् । यो ठाउमा पानीको समस्या छ । ‘एक घर एक धारो’ नाराका साथ वितरण गरिएको पानी एकदिन आए अर्काेदिन आउँदैन । बाटो, खानपानी लगायतका समस्या जस्ताको तस्तै छ ।’

चुनाव जितेका नेताले केही काम नगरेकोले चुनाव र नेताप्रति विश्वास कम हुँदै गएको उनले बताइन् । जनतालाई केही गर्लान् भन्ने आश मरेको उनले बताइन् ।

मण्डनदेउपुर नगरपालीका वडा नम्बर ७ का स्थानीय सीताराम दुलालले पनि चुनावपछि नेताले केही गर्लान् भन्ने आशामा नरहेको बताए ।

उनले भने, ‘चुनाव त राम्रो लागेको छ । यहाँ पैसाको खेल पनि हुने देखेको छु । विकासप्रेमी र स्वच्छ छवि भएको नेताको चाहाना यो स्थानका मानिसको छ । यस अगाडि जित्नेले पनि राम्रो काम गरेको छैन । जितेर जानेले यो पनि मैले गरेको त्यो पनि मैले गरेको, यो गर्न दिएनन् । त्यो गर्न दिएनन् भनेका छन् । तर प्रष्ट कुरा गर्न सकेका छैनन् ।’

उनले विकसित मुलुकमा डाक्टर, इन्जिनियर, पाइलट लगायतका मान्छे राजनीतिमा आउने र उनीहरुले देश बनाउने भएपनि नेपालमा सक्षम नेता नभएको बताए । नेपालमा जनताले पनि राम्रो, को नराम्रो नेता हो चिन्न नसक्ने र नेताबाट कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको उनले बताए ।

कुन्ताबेसी, काभ्रेकी लिला पराजुलीलाई पनि चुनाव खासै लागेको छैन । चुनावको बेला मात्र आउने अघिपछि नआउने नेताले विकास गर्न नसक्ने उनले बताइन् ।

पराजुलीले भनिन्, ‘यहाँ खानेपानी, स्वास्थ्य अस्पताल लगायतको समस्या छ । मोटरबाटो पनि कतिपय स्थानमा कालोपत्रे गर्नुपर्नेछ । हरेक पटक चुनावमा यहाँ खानेपानी, मोटरबाटो, स्वास्थ्य नारामा बन्छ । चुनाव जितेपछि भने सबैकुरो बिर्सिन्छन् । अहिले आलु रोप्ने बेलामा मल छैन । मकैको समय पनि त्यस्तै भएर आम्दानी भएन । जो आएपनि हामी जस्ता जनताको समस्या समाधान गर्ने रहेनछन् ।’

मन्डनदेउपुर नगरपालिका रातोपैरोका सरोज तामाङ राजनीतिक दलका नेताप्रति भरोसा नभएको बरु स्वतन्त्र उम्मेदवारले केही गर्छ कि भन्ने आश राखेको बताउँछन् ।

उनी भन्छन्, ‘नेताहरु भोट चाहियो भन्दै आएका छन् । सबै देश बनाउँछु भन्छन् बनाउने कसले ? हामीले बुझ्न सकेको छैन । अहिलेसम्म म स्वतन्त्र छु । भोट पनि स्वतन्त्र हाल्छु यो पटक । एमाले, कांग्रेस, नेकपा माओवादी कसैले पनि राम्रो काम गरेको छैन । बालेन शाह, हर्क साम्पाङ जस्ता व्यक्ति स्वतन्त्रबाट उदाएकाले स्वतन्त्रप्रति विस्वास भएको हो । राजनीतिक दलका नेता राम्रो देखेको छैन ।’

मन्दनदेउपुर नगरपालिका वडा नं ७ का कृष्णप्रसाद सापकोटाको घरमा अहिलेसम्म दलका नेताहरु भोट माग्न पुगेका छै्रनन् । उनलाई देशको विकास गर्ने, जनताको हित गर्नेलाई भोट दिन पाए हुन्थ्यो भन्ने लागेको छ तर त्यस्तो नेता पाउन नसकेको उनले बताए ।

उनले भने, ‘स्वतन्त्रबाहेक सबै राजनीतिक दलका नेताहरुलाई देखिसकियो । देश र जनताका लागि खासै केही गरेको देखिएन । पञ्चायत अहिले भन्दा धेरै ठिक थियो । यो मान्छे यो दलको भन्ने विभेद थिएन । राष्ट्रियता भन्ने थियो । अहिले राष्ट्रियताको नाममा देश बेचेर खान लागिसके । बोलीमा सत्यता छैन ।’

सापकोटाले अगाडि भने, ‘सामान्य जनतालाई त अहिलेभन्दा पञ्चायत नै ठिक थियो । पहिले एउटा राजाले खान्थे भने अहिले गाउँनै पिच्छे राजा । चुनावमा उठेको उमेदवार कसैलाई पनि भोट दिउँजस्तो लागेको छैन । नो भोटको सिस्टम ल्याए हुन्थ्यो । यो सिस्टम आयो भने नो भोटमा जनता धेरै हुन्छन् भनेर नल्याएका हुन् । जनतालाई दलको आश छैन । कसैले केही भन्नान् की भनेर मात्र  जनता भोट हाल्न जान्छन् ।’

उनले किसानले खेती गर्ने समयमा हरेक वर्ष मलको समस्या भोग्नुपर्ने बताए ।

यस्तै सोही क्षेत्रमा दीपक गौतम पनि नेताहरु भोट माग्न आइरहेपनि सक्षम नेता नभएको बताउँछन् । उनले भने, ‘सक्षम भन्दा पनि पहिलेका नेता दोहोरिएका छन् । भोट हाल्नलाई खोजेजस्तो नेता अहिलेसम्म पाएको छैन । आफूलाई मन नपरेपनि भोट त हाल्छु । सकभर राम्रो नेता छान्ने प्रयास गर्ने हो ।’

यस्तै सूर्यप्रसाद डोटेल यो पटक भोट नदिने मनस्थितिमा रहेका छन् ।  उनले भने, ‘यो क्षेत्रमा जसले चुनाव जितेपनि उही हो । स्वतन्त्र हिसावले भन्दा यो पटक म भोटै हाल्दिन । जो नेता भएपनि फरक पर्दैन । हिजो माओवादीमा भोट हालेको व्यक्ति अहिले कांग्रसमा हाल्नु त मैले ? त्यो भएर भोट हाल्दिन भनेको हो । एमालेलाई भोट हाल्न हुन्थ्यो त्यसको समय पनि ठिक छैन । स्वतन्त्र पनि त्यति गतिलो देखिएको छैन ।’

अधिकांश स्थानीयले चुनावमा आउने तर नेता अरु बेला नआउने र भनेका कुरा पूरा नगर्ने भएकोले उनीहरुप्रति आशा गर्न नसक्ने प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप