वैदिक कथा

व्यावहारिक शिक्षा किन र कसरी ?

person explore access_timeकात्तिक २३, २०७९ chat_bubble_outline0

शिक्षा व्यावहारिक हुनुपर्छ अन्यथा जानेको बा बुझेको ज्ञान पुस्तकको ठेलीमै सीमित रहन्छ । परेको बेला काम दिँदैन, काम लिन सकिन्न । त्यसैले सैद्धान्तिक ज्ञान केवल ज्ञान मात्र हो भने व्यावहारिक ज्ञान व्यवहार हो, जीवन हो, जीवन जिउने कला हो । यसबारे वेदमा एउटा कथा आएको छ, जसलाई पढेपछि भाइबहिनीहरू आफैँ प्रष्ट हुने छौ ।


एकपटक देवताहरूले ब्रह्माजी समक्ष गएर भने–



‘ब्रह्मदेव ! अहिलेसम्म तपाईँबाट सैद्धान्तिक ज्ञान त प्रशस्तै पायौँ तर त्यसले काम गरेन । त्यसैले यस्तो ज्ञान दिनुहोस्, जसबाट मन तृप्त पनि होस् र आत्मकल्याण पनि गरोस् ।’



देवताहरूको कुरा सुनेर ब्रह्माजीले सोचे– ‘यी देवताहरू भोगी छन्, जसले गर्दा न यिनीहरूका मन तृप्त भएको छ न आत्मकल्याणको मार्ग पत्ता लगाउनै सकिरहेका छन् । त्यसैले अब यिनीहरूलाई यस्तो ज्ञान दिनेछु, जसले यिनीहरूको कल्याण होस् । यस्तैयस्तै सोच्दै उनले भने–

‘तपार्र्र्ईँहरूलाई ज्ञान त दिन्छु तर एउटा शर्तमा ।’ 

‘शर्तमा ?’

‘हो शर्तमा ।’

‘कस्तो शर्त ब्रह्मदेव !’

‘यही कि प्राप्त ज्ञानलाई व्यावहारिक प्रयोगमा ल्याउनुपर्छ ।’

‘यसमा त शङ्कै छैन ब्रह्मदेव ! त्यस्तै ज्ञान खोजेका हौँ ।’

त्यसपछि ब्रह्माजीले मुस्कुराउँदै भने–

‘द अक्षर नै तपाईँहरूका लागि उचित शिक्षा हो । राम्रोसँग प्रयोगमा ल्याउन सक्नुभयो भने पक्कै कल्याण गर्नेछ ।’

त्यसपछि देवताहरू खुसी हुँदै आफ्नो लोकतिर लागे । उनीहरू गएको एकै छिनपछि मानवहरू आएर भने–

‘ब्रह्मदेव ! देवताहरूको कल्याण भयो । अब हामी पनि त्यस्तै ज्ञान पाउन चाहन्छौँ ।’

उनीहरूको कुरा सुनेर ब्रह्मदेवले सोचे यी मानिसहरू बढी लोभी छन् । त्यसैले अहिलेसम्मको शिक्षाले काम गरेको छैन । त्यसैले अब यिनीहरूलाई पनि त्यस्तै कुनै  ज्ञान दिनुपर्नेछ, जसले कल्याण गर्न सकोस् ।

ब्रह्माजी मौन रहेको देखेर मानवहरूले भने–

‘किन बोल्नुहुन्न ब्रह्मदेव ? हामीलाई सुन्नुभएन ? हामी त्यस्तो ज्ञान माग्न आएका हौँ, जसले कल्याणको बाटो देखाउन सकोस् ।’

‘ठीकै छ त्यसो हो भने त्यही सही ।’ ब्रह्माजीले मुसकुराउँदै भने–

‘तपार्र्र्र्ईँहरूलाई पनि ज्ञान त दिन्छु तर एउटा शर्तमा ।’

‘शर्तमा ?’

‘हो शर्तमा ।’

‘कस्तो शर्त ब्रह्मदेव !’

‘यही कि जुन ज्ञान दिनेछु त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउनुपर्ने छ ।’

‘शङ्कै मान्नुपर्दैेन ब्रह्मदेव ! त्यस्तै ज्ञान चाहेका हौँ ।’

त्यसपछि ब्रह्माजीले उनीहरूलाई पनि उही ‘द’ अक्षर दिएर पठाए ।

त्यसको लगत्तै दानवहरूले आएर ज्ञान मागे । ब्रह्माजीले उनीहरूलार्ई पनि उही ‘द’ अक्षर नै दिएर पठाए ।

यहाँ पात्र तीन थिए देव, मानव र दानव तर शिक्षा भने एउटै थियो ‘द’ अक्षर । यसमा देवताहरू भोगी थिए त्यसैले ब्रह्माजीले ज्यादा भोगमा आशक्ति राख्नुहुन्न भनेका होलान् भन्ने सोचे र त्यही अर्थमा लिएर भोगाशक्ति कम गर्न थाले । मानवहरूका स्वाभाव लोभी थियो । अनावश्यक लोभ गरेर जीवन बरबाद गर्थे । त्यसैले उनीहरूले पनि आफ्नै स्वभाव अनुसार अथ्र्याए र ब्रह्माजीले ज्यादा लोभ गर्नु हुन्न भनेका होलान् भन्ने सोची सोही अर्थमा लिएर दान गर्नतिर लागे । उता दावनहरूको स्वभाव क्रोधी थियो । उनीहरूले पनि आफ्नै स्वभाव अनुसार ब्रह्माजीले दया गर्नुपर्छ भन्ने सन्देश दिएका होलान् भन्ने सोचे र सोही अनुसार दया गर्न लागे । अन्ततः यसैबाट उनीहरू सबैको कल्याण भयो ।

बृहदारण्यक उपनिषद्मा आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर शिक्षा त्यही सही हुन्छ, जुन व्यावहारिक हुन्छ भन्ने कुरा भने सत्य हो । यसका लागि पहिलो कुरा शिक्षाको पाठ्यक्रम र पाठ्यपुस्तक दुवै व्यावहारिक हुनुपर्छ । हजारौँ कुराको सैद्धान्तिक ज्ञान घोकाउनुभन्दा व्यावहारिक ज्ञानको एउटै शिक्षाले बढी महत्व राख्छ भन्ने कुरालाई बिर्सन हुँदैन ।

दोस्रो कुरा पाठ्यक्रम र पाठ्यपुस्तक मात्र व्याहारिक भएर पनि पुग्दैन त्यसलाई पढाउने गुरुहरू पनि त्यस्तै हुनुपर्छ, जसले शिक्षाको उद्देश्य र महत्व राम्ररी सम्झाएर बुझाउन सक्छन् ।

तेस्रो कुरा विद्यार्थीहरू पनि त्यस्तै हुनुपर्छ । जो जिज्ञासु छ, जसले शिक्षाको महत्व बुझ्न चाहेको छ र नबुझुन्जेल सोधपूछ गरी बुझ्ने प्रयास गर्छ र बुझेको कुरालाई व्यावहारिक प्रयोगमा ल्याउनतिर लाग्छ तिनै विद्यार्थीहरूले नै उन्नति र प्रगति गर्न सक्छन् ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।