बालनिबन्ध : दुःखका कारण

person explore access_timeकात्तिक २३, २०७९ chat_bubble_outline0

संसारमा अनेक किसिमका दुःख छन् । यो कुरा भाइबहिनीहरूलाई पनि थाहा हुनुपर्छ । खानको दुःख, लाउनको दुःख, रोगको दुःख, भोकको दुःख, शोकको दुःख, पढाइको दुःख, परीक्षामा पास हुन सकिन्न कि भन्ने चिन्ताको दुःख, पढेपछि जागिर पाइन्न कि भन्ने चिन्ताको दुःख केके हो केके तर ती आफैँमा दुःख भने होइनन् । तिनले कारण थाहा नपाउँदासम्म मात्र दुःख दिने हुन् ।


उपनिषद्मा ग्रन्थमा विद्या र अविद्याको कुरा आएको छ । ‘अविद्यायाः मृत्युंतीत्र्वा विद्यायाऽमृतमश्नुते ।’ यसको व्याख्या लामो हुन सक्छ, घण्टौँ प्रवन दिन्छन्, दिन सकिन्छ तर यसको भाव हो अविद्या अर्थात् अज्ञानले दुःख दिन्छ वा अविद्याका कारण दुःख पाइन्छ, विद्या अर्थात् ज्ञानले सुख दिन्छ । यो सैद्धान्तिक कुरा मात्र होइन अपितु बेजोड व्यावहारिक कुरा हो । दुःख दिने भनेको अज्ञानले हो, अज्ञानकै कारण दुःख पाइने हो । ज्ञान हुनासाथ त्यसबारे जानकारी पाइन्छ र बच्न सकिन्छ ।



मानौँ भाइबहिनीहरूले आगाको कोइला समात्यौ । आगोको कोइला समातेपछि के हुन्छ थाहा छ ? पोल्छ यही होइन ? यही त हो त्यसको नतीजा ? हो, तिमीहरूले अज्ञानका कारण आगाको कोइला समाएका थियौ, जसले नराम्ररी पोल्यो र तिमीहरू रुन थाल्यौ । आगोले पोल्छ, छुनुहुँदैन भन्ने ज्ञान थिएन । ज्ञान भएको भए समाउने नै थिएनौ, नसमाएको भए पोल्ने पनि थिएन । 



ज्ञान र अज्ञानबीचको दूरी त्यति टाडा छैन, एउटै अक्षरको फरक हो, टाडा हो तर प्रभाव भने आकाश र जमिनबीच जत्तिकै फरक छ, टाडा छ । अविद्याले (अज्ञानले) घोर अँध्यारो संसारमा पु¥याइदिन्छ, दुःखको संसारमा धकेलिदिन्छ, विद्याले (ज्ञानले) उज्यालो संसारमा, सुखको संसारमा पु¥याइदिन्छ । यहाँ पनि भएको यस्तै हो ।  

कुखुराको चल्लालाई चीलले लान्छ, दुःख दिन्छ भन्ने कुरा पहिले नै थाहा हुन्छ । उसले यो कुरा कसरी थाहा पाउँछ त्यसको छुट्टै दर्शन हुन सक्छ, कारण हुन सक्छ त्यतातिर नजाउँ तर यथार्थ यही हो कि यसको ज्ञान उसले गर्भैदेखि लिएर आएको हुन्छ, सिकेर आएको छ, त्यसैले त अण्डाबाट निस्कनासाथ चीलसँग डराउँछ, उसको छायाँ देख्नासाथ माउको काखमा लुक्न पुग्छ । माउले रक्षा गर्न सक्छसक्दैन यसको पनि छुट्टै दर्शन छ, चिन्तन छ । यसै पनि आफ्ना बाबुआमामा कति शक्ति छ, के गर्न सक्छन्, के गर्न सक्दैनन् भन्ने कुन चाहिँ बालकलाई थाहा हुन्छ र ? जसले पनि यही सोचेको हुन्छ कि आफ्ना बाबुआमामा असीम शक्ति हुन्छ, शक्ति छ । जे होस् कुखुराको चल्लाले गर्ने काम भनेको यही हो ।

माछाका भूराको अवस्था पनि त्यस्तै हो । उसले पनि त्यस्तै गर्छ । उसलाई पनि पानीमा तैरिन नजान्ने हो भने डुबेर मरिन्छ भन्ने पहिले नै थाहा छ । गर्भैबाट सिकेर आएको हुन्छ । त्यसैले त ऊ पनि अण्डाबाट निस्कनासाथ पानीमा तैरिन सुरू गर्छ । स्वामी विवेकानन्दले यसबारेमा राम्रो व्याख्यान दिएका छन् विवेकानन्द साहित्यमा । यद्यपि उनले पनि अर्कै प्रसङ्गमा गरेका छन् यस्ता कुराका चर्चा तर यही नै सार्वभौम सत्य हो, जीवन हो, जीवन जिउने कला हो, जसले जीवन बचाउने काममात्र गर्दैन जीवनलाई सुखी र आनन्दित राख्नसमेत सहयोग पु¥याउँछ तर हामीलाई भने त्यति पनि थाहा छैन । त्यति पनि जानेनौँ, जान्न चाहेनौँ, सिकेनौँ, सिक्न चाहेनौँ, बुझेनौँ, बुझ्न चाहेनौँ, जसको प्रतिफल हामी आफैँले भोगेका छौँ । हिजो भोगेका थियौँ, आज भोगेका छौँ, भोलि पनि भोग्ने छौँ ।

यस सम्बन्धमा सच्चिदानन्द सरस्वती खप्तड बाबाको भनाइ निकै चासो पर्दो छ । उनले धर्मविज्ञान नामक ग्रन्थमा भनेका छन्– ‘एकपटक एउटा बालक आँगनमा खेल्दै रहेछ । खेल्दै जाँदा छाँयामा आफ्नै गोलो टाउको देखेछ र खेलौना ठानेर समात्न दौडिएछ तर ऊ जति अगाडि बढ्थ्यो छायाँ उति अगाडि पुग्थ्यो । आमा पिँढीमा बसेर यी सबै दृष्य रमाइलो मानेर हेरिरहेकी थिइन् । कुद्दाकुद्दै बालक हैरान भयो तैपनि समाउन सकेन र आँगनको डिलमा बसेर रुन थाल्यो । जब बच्चा रुन थाल्यो तब आमालाई पनि नरमाइलो लाग्यो र कठैबरा भन्दै उसको हात लगेर उसकै टाउकोमा राखिदिइन् । खेलौना भेटिएको ठानेर बालक खुसीले नाच्न थाल्यो । यद्यपि उनले यो दृष्टान्त अर्कै प्रसङ्गमा दिएका थिए तर परिस्थिति भने अहिले पनि उस्तै छ । जहाँ पनि अज्ञानताको अवस्था यस्तै हुन्छ, अबोधको अवस्था यस्तै हुन्छ । 

खाना काचो भयो भने पच्दैन, पेट दुख्छ । पच्यो भने त्यही खाना प्राण उर्जा बन्छ, शरीरका अङ्ग प्रत्यङ्ग पुष्ट पार्छ । पचेन भने त्यही खाना विषाक्त बनेर रोग, भोक र शोकको कारण बन्न पुग्छ । त्यसो भए के गर्ने त ? प्रश्न गम्भीर छ तर उत्तर सहज छ । थप त्यस्तो केही पनि नगर्ने । काम त्यही गर्ने जुन काम आफूले गर्ने गरेको छ, गर्दै आइएको छ । त्यसमा थप भनेको अवस्था अनुसार केही परिवर्तन गर्ने, त्यस्तै भए उल्टोपाल्टोसम्म पार्ने, त्योभन्दा बढी केही पनि नगर्ने । सर्वप्रथम आफूलाई हेर्ने, परिवेशलाई हेर्ने, आवश्यकतालाई हेर्ने अनि त्यसको स्रोतमा जाने, स्रोतलाई केलाउने, नमन गर्ने, होसमा आउने, होसले काम गर्ने । गर्ने यति हो, यस बाहेक केही पनि नगर्ने । यसैबाट रोग, भोग, शोकजन्य तमाम समस्या समाधान गरी जीवनलाई सुखी र समृद्ध बनाउन सकिन्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।