शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मेरो जनसम्बन्ध र यहाँको पूर्वाधार विकास नै मैले चुनाव जित्ने बलियो आधार हो : राजन केसी

काठमाडौँ १० का उम्मेदवार, नेपाली कांग्रेस
बुधबार, २३ कात्तिक २०७९, ०८ : ४६
बुधबार, २३ कात्तिक २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १० मा अन्यत्रभन्दा भिन्न समीकरण छ । काठमाडौँ–१० मा कांग्रेस र माओवादी केन्द्र एक आपसमा प्रतिस्पर्धा गर्दैछन् । काठमाडौँ–१० मा कांग्रेसबाट राजेन्द्रकुमार केसी, नेकपा माओवादी केन्द्रबाट अञ्जना विशंखे उम्मेदवार छन् । यस्तै, नेकपा एमालेबाट हिमेस केसी, राप्रपाबाट बलराम थापा उम्मेदवार छन् ।

एउटा निर्वाचनमा माओवादीकै अध्यक्षलाई पराजित गरेको र अर्को निर्वाचनमा एमाले र माओवादीसहितको वाम गठबन्धनका बाबजुद जित हासिल गरेका कारण उच्च मनोबल बनाइसकेका राजन घरदैलोमा व्यस्त रहेका छन् । प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :

चुनावी गतिविधि कसरी सञ्चालन गरिराख्नुभएको छ ?

यस क्षेत्रमा कांग्रेसको आफ्नो किसिमको संरचना छ । त्यसकारण यहाँ हामीलाई सहज पनि छ । अहिले घरदैलो अन्तर्गत कीर्तिपुर वडा नम्बर १, २, ३ मा छौँ । हाम्रो क्षेत्रमा दक्षिणकाली, कीर्तिपुर र चन्द्रागिरि नगरपालिका पर्छन् । हरेक वडामा आम मतदाता समक्ष हाम्रा एजेण्डा लिएर गइरहेका छौँ । अब अर्को आमसभा गरेर घरदैलो गर्ने कार्यक्रम छ ।

घरदैलो कति सकाउनुभयो ?

करिब करिब आधा सकियो होला । आधा बाँकी छ । यसपाली निर्वाचन आचारसंहिताले १५ दिनमात्रै घरदैलो गर्ने समय दिएकाले ८ दिनमा आधा सकियो होला ।

तपाईं यो क्षेत्रबाट २/२ पटक निर्वाचित भइसक्नुभयो । केके योजना पूरा गर्नुभयो ? केके योजना लिएर जनतामा पुग्नु भएको छ ?

यस क्षेत्रका तीन वटा नगरपालिकाका आफ्नै विशेषता छन् । दक्षिणकाली नगरपालिका आफैमा धार्मिक रूपमा परिचित छ । कृषिको अथाह सम्भावना छ । तरकारी खेतीका लागि कृषकलाई प्रोत्साहन गरेका छौँ । व्यापक रूपले सम्भावना भएको तरकारी खेती उत्पादन भइरहेको छ ।

कीर्तिपुर नगरपालिका आफैमा नेवार जातीको बाहुल्यता भएको र नयाँ बस्तीसमेत रहेकाले अनेकतामा एकता भएको विशेष संस्कृतिले भरिएको छ । यो नगरपालिकालाई सांस्कृतिक सहर र पर्यटकीय सहरको रूपमा र नेवार जातीको भाषा, लिपी, धर्म सबैलाई जगेर्ना गरेर हामीले काम गरेका छौँ । र यहाँका नागरिकलाई सम्मान गरेका छौँ । पूर्वाधारको सम्बन्धमा हामीले सडक बनाएका छौँ । खानेपानीको व्यवस्था गरेका छौँ । यहाँको संस्कृतिको संरक्षण गर्ने र पूर्वाधारको विकासमा पाँच वर्षमा उल्लेख्य काम गरेका छौँ ।

अबको पाँच वर्षमा भने हामीले रोजगारीमा बढी ध्यान दिने छौँ । मुलुकको साधन स्रोतलाई प्रयोग गरेर आम युवाहरूलाई रोजगारी दिनेछौँ ।

काठमाडौँ–१० मा सत्ता गठबन्धन तोडिएको छ, यो अवस्थामा तपाईंले चुनाव जित्ने बलियो आधार के–के हो ?

बलियो आधार भनेको मेरो निरन्तर ३० वर्षको आम मतदाता समक्ष रहँदै आएको सक्रियता नै हो । मैले जनताको सेवा गरेको छु । म कीर्तिपुरको स्थायीवासी भएको नाताले मेरो आधार भनेको मैले निरन्तर यहाँको आम मतदातालाई गरेको सेवा, उहाँहरूसँगको सजिलो भेटघाट र यहाँको पूर्वाधार विकास नै हो ।

यो गठबन्धन सरकार बनिसकेपछि भ्रष्टाचार, महँगीले जनताको ढाड सेकिसक्यो, त्यसैले यसबाट छुटकारा पाउन एमालेलाई मत दिनुपर्छ भनेर एमालेका कार्यकर्ता मत मागिरहेका छन् नि ?

२०७४ सालमा वाम गठबन्धनलाई जनताले दुई तिहाई मत दिएकै हो । त्यो दुई तिहाई मत जनताको सेवाका लागि हुनुपर्नेमा, समृद्धिका लागि हुनुपर्नेमा अहम् र दम्भका कारण त्यो ६४ प्रतिशत बहुमत खेर गयो । मतलाई उहाँहरूले अपमान गर्नुभयो । जसको कारण ५ वर्षको स्पष्ट जनादेशलाई तीन वर्षमै उहाँहरुले यो मुलुक कांग्रेसकै पोल्टामा पार्नुभयो । त्यतिबेला कति भ्रष्टाचार भयो ? कति लुटतन्त्र भयो मुलुकमा ? आम जनताले देखेकै हो ।

२०७४ सालमा अभूतपूर्व दुई तिहाई बहुमतको जनादेश थियो, त्यो जनादेशलाई केपी ओलीको अहम् र अहंकारले अपमान भयो । त्यसकारण यतिखेर भ्रष्टाचार भयो, महँगी भयो भन्नु हास्यास्पद हो । जति विकृति भयो, विसंगति भयो, लुटतन्त्र भयो, यही केपी ओलीको पालामा तीन वर्षमा भएको आम मतदातालाई थाहा छ ।

तपाईं काठमाडौँ क्षेत्र नम्बर १० बाट निर्वाचित भएमा आगामी पाँच वर्षको अवधिमा के के कुरामा परिवर्तन भएको देख्न पाउनेछन् ?

यहाँ पानीको समस्या छ, यो समस्यामा हामीले धेरै काम गर्‍यौँ । तर, पानीको स्रोतको अभावमा पर्याप्त पानी अहिले पनि कीर्तिपुरबासीलाई उपलब्ध गराउन सकिएको छैन । त्यसले गर्दा हामीले अहिले मेलम्चीको पानी काठमाडौँ महानगरबासीले खाँदैगर्दा कीर्तिपुरबासीलाई पनि खुवाउनुपर्छ भनेर विश्वविद्यालयकै कम्पाउण्डमा ६० लाख लिटरको ट्यांकी बनायौँ र हामीले पानी वितरण पनि गर्‍यौँ । २/३ हप्ता वितरण गर्दा मेलम्ची आफैमा दुर्घटनामा पर्‍यो, अब फेरि पानी आउँछ ।

हामीले यहाँका परम्परागत स्रोत पनि संरक्षण गर्दै आएका छौँ । यहाँ पर्याप्त पानी पाइसकेको अवस्था छैन । मेलम्चीको पानी आउने अवस्था आइसकेको छ । मेलम्ची आएपछि कीर्तिपुरबासीलाई पानी दिनेछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप