सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि बढाउँछौँ : महासचिव मैनाली

मङ्गलबार, २२ कात्तिक २०७९, २० : ५२
मङ्गलबार, २२ कात्तिक २०७९

नेकपा (माले)ले बाह्य हस्तक्षेप र आर्थिक सङ्कटको चुनौतीबाट मुलुकलाई उकास्न राष्ट्रवादी शक्ति गोलबद्ध हुन आवश्यक रहेको जनाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मुलुक, राजनीतिक स्थायित्व, लोकतन्त्र र जनहित लागि जनआलोच्य संवैधानिक प्रावधानलाई परिवर्तन गर्ने अभियानमा जुट्न मालेले अपिल गरेको छ ।  

विभिन्न समयमा भएका राजनीतिक परिवर्तनसँगै आएका बाह्य अवाञ्चित प्रभाव र हस्तक्षेपले राज्य कमजोर बनेको उल्लेख गर्दै पार्टीले जनजीविकामा सुधार र देश विकासका लागि सही नीति अपनाउन आह्वान गरेको छ । चुनाव चिह्न हँसिया तारा रहेको उक्त पार्टीले जारी गरेको अपिलमा भनिएको छ, “देशभक्त प्रगतिशील लोकतान्त्रिक शक्ति निर्माण गर्दै साझा एजेण्डा लागू गर्नु नै वर्तमानमा देशलाई अप्ठेरोबाट उद्धार गर्नु हो ।”  निर्वाचनमा मतदान गर्नुअघि गम्भीर भई निर्भिकताका साथ मताधिकार प्रयोग गर्न आग्रह गर्दै पार्टीका महासचिव सिपी मैनालीले पार्टी विजयी भएमा लोककल्याणकारी अर्थतन्त्र अघि बढाउन र रोजगारीका लागि विदेश गएका नागरिकलाई स्वदेश फर्केर काम गर्न वातावरण बनाउने प्रतिबद्धता जाहेर गरे ।

भ्रष्टाचार भएको अकुत सम्पत्तिलाई अभियानकै रुपमा छानबिन गरी असुलउपर गरिने अठोट गर्दै उक्त पार्टीले संवैधानिक राष्ट्र प्रमुख र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रमुख हुने प्रणालीको पक्षमा रहने जनाएको छ । नागरिकता नीति कसिलो, पूर्ण समानुपातिक निर्वाचन, पञ्चशीलको सिद्धान्त तथा असंलग्नतामा आधारित परराष्ट्र नीतिको पक्षमा पार्टी दृढताका साथ उभिँदै आएको बताउँदै महासचिव मैनालीले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि बढाउने उद्घोष गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप