शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेको वाचापत्र सार्वजनिक : चितवनलाई आर्थिक राजधानी बनाउने

मङ्गलबार, २२ कात्तिक २०७९, २० : १५
मङ्गलबार, २२ कात्तिक २०७९

चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । कालिका नगरपालिकाको जुटपानीमा सार्वजनिक गरिएको वाचापत्रमा चितवनलाई आर्थिक राजधानीको रूपमा स्थापित गर्न गुरुयोजना बनाइने विषयलाई उल्लेख गरिएको छ ।

वाचापत्रमा भनिएको छ, ‘आर्थिक राजधानीको गुरुयोजना बनाइ संसदमा विधेयक पेस गर्नेछु । भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नति, जोनिङ पद्धतिमार्फत चितवनमा सहरी योजनाको सुरुवात गरिने, चितवनभित्रका सडक १२ मास नै टिकाउ र स्तरीय हुने गरी सबै टोल बस्तीमा सडक सञ्जाल विस्तार गरिने र कर्पोरेट हेड क्वाटर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने लगायतका व्यवस्था गरिने छ ।’

लामिछानेको वाचापत्रमा हेलो रवि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । वाचापत्रमा भनिएको छ, ‘तपाइँको हर समस्याका लागि हटलाइन नम्बर दिइनेछ । तपाइँलाई सरकारी कार्यालयमा जाँदा परेको समस्या होस् वा अस्पताल जाँदा वा तपाइँका आफन्तलाई विदेशमा समस्यामा पर्दा होस्, तपाइँका कुनै पनि समस्याका लागि तपाइँको सांसदलाई हटलाइन नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । हटलाइनबाट सम्पर्क नगरी भौतिकरुपमा सम्पर्क गर्न चाहनेका लागि प्रत्येक वडामा संसदीय सेल गठन गर्नेछु ।’​

वाचापत्रमा संसदीय योजना तर्जुमा बोर्ड गठन गरिने उल्लेख गरिएको छ । टोल, वडा, पालिका र प्रतिनिधि, विज्ञ, चितवनका गैरआवासीय नेपाली, सांसद सचिवालय र म स्वयं मिली एउटा संसदीय योजना तर्जुमा बोर्ड गठन गर्छौं जसले तपाइँको टोल, वडा र पालिकाको समस्या, त्यसको समाधान र त्यहाँ आवश्यक विकास योजनाको तर्जुमा गरी हामी मिलेर काम अघि बढाउँछौं ।’​ वाचापत्रमा उल्लेख भएअनुसार यस बोर्डले वागेश्वरी क्षेत्रमा योगी नरहरि नाथले परिकल्पना गरेको पञ्चभाषा विश्वविद्यालय, वृहत् जल निकास आयोजना, नारायणी नदीमा व्यवस्थित तटबन्ध, कबुलियती वन विकास कार्यक्रम, उपरदाङगढीमा साहसिक पर्यटकीय खेलको विकास, मुग्लिन बजार चौबिसै घण्टा सञ्चालन हुने मनोरञ्जनात्मक पर्यटन क्षेत्रको रूपमा विकास, फोहोर व्यवस्थापनको लागि ल्यान्ड फिल्ड साइट, सरकारी जग्गाको संरक्षण गरी खुला पार्क र खेल मैदान निर्माण गरिनेछ ।’

रवि लामिछानेले आज सार्वजनिक गरेको वाचापत्रमा संसदीय अभ्यासलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘संसदमा गयल हुँदिन, गयल भए भत्ता लिँदिन । संसद् र संसदीय समितिको बैठकमा सक्रियताका साथ भाग लिन्छु । यस क्रममा नीति निर्माणमा धारणा राख्दा सम्बन्धित क्षेत्रको विज्ञसँग सल्लाह लिन्छु । राष्ट्रिय हित विपरीत कुनै कार्य गर्दिन । यसमा कुनै दुबिधा आए, पार्टीको प्रारम्भिक निर्वाचन पद्धति अनुरूप जनतालाई सोधेर निर्णय लिनेछु । सरकारी अस्पताल बाहेकमा उपचार गराउँदिन । स्वदेशमा उत्पादित पोसाक मात्र लगाउँछु । प्रत्येक ४–४ महिनामा सार्वजनिक सुनुवाइ गर्छु । तपाइँहरुलाई आफ्नो हरहिसाब बुझाउँछु । तपाइँहरुसँग सँगै बसेर विकास निर्माणका प्रत्येक योजनाको निरन्तर सामुदायिक अडिट गछौं । विकास निर्माणको कार्यमा भ्रष्टाचार हुन दिन्नौँ ।’

वाचापत्रमा युवाहरूका लागि व्यवसाय गर्न सहयोग गर्ने गरी विज्ञ टोलीले सहायता गर्ने व्यवस्था मिलाउने बताइएको छ । त्यसैगरी लामिछानेले निर्वाचित भएको ६ महिनाभित्र चितवनमा लगानी सम्मेलन गर्ने र निर्वाचित भएको एक वर्ष भित्रमा अन्तर्राष्ट्रिय कृषि मेला आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप