शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं-८ का रास्वपाका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता पत्र सार्वजनिक

मङ्गलबार, २२ कात्तिक २०७९, १९ : २७
मङ्गलबार, २२ कात्तिक २०७९

काठमाडौं क्षेत्र नम्बर–८ का प्रतिनिधि सभा सदस्य पदका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘अबको निकास सहभागितामूलक विकास’ भन्ने नारासहित उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । 

उनले सार्वजनिक गरेको प्रतिबद्धतामा संसदीय प्रतिनिधित्व भएमा राजनीतिसँगै सामाजिक रूपान्तरण गर्दै सुशासन र राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ । उनले नेपालको राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाको निमित्त सदैव प्रतिबद्ध भई संसदमा प्रतिनिधित्व गर्दै देशमा व्याप्त भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको लागि आफ्नो आवाजहरू सदन र सडक दुवैबाट बुलन्द हुने प्रतिबद्धता जनाएका छन् ।

यसका साथै उनले युवा तथा दक्ष जनशक्तिको विदेश पलायनको समस्या न्यूनीकरणका लागि नीतिगत व्यवस्था गर्ने, विदेशमा रहेका नेपालीहरूको मताधिकारको संवर्द्धन गर्ने, अर्थतन्त्रमा आत्मनिर्भरता, कृषिमा आधुनिकताको प्रवर्द्धन गर्ने जस्ता विषयहरूलाई प्राथमिकताको साथ आफ्नो प्रतिबद्धतामा उल्लेख गरेका छन् । शारीरिक ,मानसिक र मनोवैज्ञानिक विकासको लागि खेल जगतलाई संवर्द्धन र प्रवर्द्धन तथा प्रोत्साहन गर्दै खेलाडीहरू मार्फत नेपाललाई विश्व सामु चिनाउने योजनाहरू आफ्नो प्रतिबद्धतामा समावेश गरेका छन् । गुठी पद्धति र व्यवस्थालाई समय–सापेक्ष बनाउँदै सामाजिक र सांस्कृतिक सद्भावलाई बलियो बनाउनका लागि देशभर फैलिएका सांस्कृतिक विविधता अन्तर्गत राष्ट्रिय पहिचानका धरोहरहरू संस्कृति र सम्पदालाई स्थानीयहरूको अपनत्व हुने गरी संरक्षण तथा प्रवर्धक गर्ने उनको प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

त्यस्तै उनको प्रतिबद्धता पत्रमा पूर्वाधार विकास, सहरी व्यवस्थापन, वर्षाको पानी सङ्कलन गर्ने, ऐतिहासिक हिटी र पोखरी पुनर्जीवित गर्ने, मासिँदै गएका पानीको स्रोतको संरक्षण गर्ने कानुन निर्माण गर्ने र कार्यान्वयन गराउन पहल गरिने, संविधानले प्रत्याभूत गरेको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य लगायत आधारभूत आवश्यकतालाई पूर्ति गर्न, नेपालका विश्वविद्यालयहरूमा विभिन्न विषयहरूमा अनुसन्धानको लागि आर्थिक कोषको व्यवस्था गर्न र देशको विकासका लागि दक्ष जनशक्ति निर्माण गर्न नीतिगत पहल गर्ने विषय समेटिएको छ ।

समता र समावेशितामा केन्द्रित रहेर, पिछडिएका व्यक्ति र समुदायको मुद्दाहरूमा पहल गर्ने, नियमित रूपमा सार्वजनिक सुनुवाइ अन्तर्गत काठमाडौं–८ का नागरिकहरूसँग जनसभा आयोजना गरेर अन्तरक्रिया गर्ने, सरकारी निकायको सेवा प्रवाहमा सुधार, फोहोरको उचित व्यवस्थापनसँगै वातावरण संरक्षण र सम्पदा संरक्षण जस्ता विषयलाई मुख्य एजेन्डाको रूपमा उनले प्रतिबद्धतामा राखेका छन् । यसरी पर्यावरण, सम्पदा संरक्षण, कृषिमा आधुनिकीकरण, युवा सशक्तीकरण, विदेशमा रहेका नेपालीहरूलाई मताधिकार, पूर्वाधार विकास, सहरी व्यवस्थापन, निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य जस्ता मुद्दाहरूलाई आफ्नो प्रतिबद्धता पत्रमा प्रमुखताका साथ समावेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप