रेखा उम्मेदवार रहेको मोरङ ३ मा सुनिल र भानुभक्तबीच मुख्य प्रतिस्पर्धा
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका डा सुनील शर्मा र नेकपा एमालेका भानुभक्त ढकालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । सोही क्षेत्रबाट राप्रपाकी नेतृ तथा चर्चित नायिका रेखा थापा पनि उम्मेदवार रहेकी छन् ।
थापाले आफूले जित्ने आत्मविश्वासका साथ भाषण गर्दै आएकी छन् । तर, थापाले हल्लाखल्ला ठूलै गरिरहेको भएपनि सो क्षेत्रमा राप्रपाको जनाधार भने कमजोर छ । यो क्षेत्रमा धेरै वामपन्थीको मत हो । त्यसपछि काँग्रेसको मत छ । ‘गत स्थानीय तहको निर्वाचनमा एउटा वडासदस्य पनि जित्न नसकेको राप्रपाले उक्त क्षेत्रमा चुनाव जित्ने हो भने राजेन्द्र लिङ्देनले भनेजस्तै राप्रपा पहिलो पार्टी बन्छ,’ स्थानीय पत्रकार विवेक मिश्र भन्छन्, ‘त्यो हुनु भनेको चमत्कार हुनु हो ।’
कानेपोखरी ५ का अनिल धिमाल राप्रपाको केही मत बढाए पनि निर्वाचन जित्न कठिन रहेको बताउँछन् । ‘रेखा थापाले काँग्रेसको या एमालेको कसको बढी मत काट्छिन् भन्ने कुराले ढकाल र शर्माको जित निर्धारण गर्छ, यसको मतलब रेखा आफैंले दोस्रो स्थान ल्याउनु भनेको पनि कल्पना भन्दा बाहिरको कुरा हो,’ उनी भन्छन् ।
चलचित्र क्षेत्र हुँदै मोरङको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेकी नायिका रेखा थापाको चुनावी अभियान तीब्र बनाउँदै आएकी छन् । उनले आफूलाई जिताउन आग्रह गर्दै राजतन्त्रको पक्षमा वकालत गर्दै आएकी छन् । उनले आफूलाई जिताउनु भनेको मोरङ ३ कै जनताले जित्नु भएको दाबी गर्दै आएकी छन् ।
गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले ल्याएको मत अनुसार एमालेले ३७ हजार ४१०, कांग्रेसले ३६ हजार ९१६, माओवादी केन्द्रले ७ हजार ३७३, राप्रपाले २ हजार १२१ र नेकपा एसले १ हजार ८५५ मत ल्याएको छ । २ हजार मत ल्याएको राप्रपाकी उम्मेदवार रेखाले निर्वाचन जित्न झण्डै ४० हजार मत थप्नुपर्छ ।