आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

डडेल्धुरा ‘ग्राउण्ड जिरो’ : देउवाप्रति आशा र आक्रोश उत्तिकै (भिडियोसहित)

मङ्गलबार, २२ कात्तिक २०७९, १८ : ४२
मङ्गलबार, २२ कात्तिक २०७९

 मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डडेल्धुरालाई ‘इपी सेन्टर’को रुपमा हेरिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सातौं पटक चुनावी मैदानमा रहेका कारण डडेल्धुराले देशको ध्यान तानेको हो ।

देउवाको प्रतिस्पर्धीका रुपमा कांग्रेस (बीपी) बाट कर्णबहादुर मल्ल र राप्रपाबाट गोविन्द खडायत उम्मेदवार छन् । जसपाका श्याम सिनालले भने शनिबार देउवालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय पारेका छन् । विक्रमबहादुर शाही, गुल्मीका युवा सागर ढकाल, ८४ वर्षीय वृद्ध कर्णसिंह रावल र लालबहादुर कठायत डडेलधुरामा स्वतन्त्र उम्मेदवारका रुपमा देउवाविरुद्ध चुनावी मैदानमा छन् ।

देउवाको मुख्य प्रतिस्पर्धीका रुपमा कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति मल्ललाई हेरिएको छ । उनलाई नेकपा एमाले र गठबन्धनमा विद्रोह गरेर प्रदेशसभा (ख)मा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता तारा जोशी समूहको समर्थन छ ।

यद्यपि मल्लले प्रदेशसभा (ख)मा जोशीलाई बोकेको डडेल्धुरा एमालेले निको मानेको छैन । एमालेको प्रदेशसभा (ख) कमिटीले मल्ललाई समर्थन गरेको छैन । उसले एमालेमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीलाई भोट मागिराखेको छ ।

स्वतन्त्र उम्मेदवार सागर ढकालको चार महिनादेखिको चुनावी प्रचार–प्रसारले पनि डडेल्धुराको चुनावी माहोल बढाएको छ । डडेल्धुराका अधिकांश मतदातामाझ सागर परिचित नाम हो । प्रधानमन्त्री देउवाको चुनावीसभा र भेटघाटस्थललाई प्रयोग गरेर सागरले थप चर्चा बटुले । 

कात्तिक १८ गतेदेखि २१ गतेसम्म डडेल्धुराका ग्रामीण क्षेत्रबाट प्रधानमन्त्री देउवालाई भेट्न आउने सर्वसाधारणले सदरमुकाम भरिभराउ थियो । कांग्रेस नेता कार्यकर्ताका साथै गठबन्धन सम्बद्ध माओवादी, एकीकृत समाजवादी र जनमोर्चाका नेता कार्यकर्ता पनि देउवालाई भेट्न सदरमुकाम आएका थिए । देउवा डडेल्धुरा बसुन्जेल सदरमुकाममा चुनावी चहलपहल बढेको थियो ।  देउवा हरेक चुनावमा जिल्लाका ५ ठाउँमा चुनावीसभा गरेर फर्कन्थे भने यस पटक ७ वटै पालिकामा पुगे ।

सदरमुकामको चुनावी सभापछि उनले आफ्नो गृहपालिका गन्यापधुराका साथै अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, आलीताल गाउँपालिका र परशुराम नगरपालिकामा ४ दिनसम्म छुट्टाछुट्टै चुनावी सभामा सम्बोधन गरे । चुनावी सभामा देउवाले यहाँको विकासका लागि भन्दै मत मागे । उनले अधुरा कामलाई पाँच वर्षभित्रै पूरा गर्ने बाचा गरे । चुनावी सभालाई सम्बोधन गरेका देउवा घरदैलो नगरी डडेल्धुराबाट आइतबार फर्किए ।

डडेल्धुरामा देउवा र उनका प्रतिस्पर्धीको चुनावी अभियान नितान्त भिन्न देखिन्थ्यो । देउवाका प्रतिस्पर्धीले चुनावी घरदैलोलाई तीव्र पारिरहेका बेला देउवाको दैलोमा मतदाताको भिड थियो । मतदाताले समस्याका पोका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको हातमा थमाउथे ।

सर्वसाधारण सबैले देउवासँग गुनासो सुनाउन पनि पाउने अवस्था थिएन । जिल्लाका विभिन्न संघ, संस्थान, निजी क्षेत्रका प्रतिनिधिले भने देउवासँग खुलेर आफ्नो समस्या राखे ।​ मतदाताहरुले नै आफ्ना समस्या लिएर देउवा बसेको दैलोमा पुगेकाले घरदैलो गरिराख्न आवश्यक नभएको गठबन्धनबाट प्रदेशसभा (क)मा उम्मेदवार रहेका खगराज भट्टको बुझाइ छ । देउवाका लागि चुनावी प्रतिस्पर्धा चुनौतीरहित भएकाले पनि घरदैलो नगरिएको भट्टले सुनाए । तर यहाँका आम मतदाताले चुनावप्रति मिश्रित प्रतिक्रिया दिएका छन् ।

कोही मतदाताले देउवालाई निर्विकल्प उम्मेदवारको रुपमा हेरेका छन् भने केही विकल्पको खोजीमा रहेको भेटियो । विकल्प खोज्नेहरुले देउवा पटक–पटक प्रधानमन्त्री हुँदा समेत विकासको दृष्टिकोणले डडेल्धुरा निकै पछाडि रहेको गुनासो गरे । ​

जिल्लाको नवदुर्गा गाउँपालिका–१ घर भई अमरगढी नगरपालिकाको तुफान डाँडामा व्यवसाय गर्दै आएका लालबहादुर बुढा ऐरले पैसा र पावरको भरमा यहाँ चुनाव जित्ने काम हुँदै आएको सुनाए । उनले भने, ‘जसले पब्लिकलाई पैसा बाँड्न सक्यो त्यसैको हो भोट । यहाँबाट देउवाले पटक–पटक जितेर गए । प्रधानमन्त्री भए । आश्वासन मात्रै दिए । केही विकास गरेनन् । मलाई विश्वास छैन अझै ।’

प्रधानमन्त्री देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका–१ का युवा टंक प्रसाद अवस्थीको भनाइ पनि लालबहादुरको जस्तै छ । उनले भने, ‘डडेल्धुराको राजनीति भन्ने बित्तिकै सबैको ध्यान पैसामा जान्छ । यहाँको सामाजिक मानसिकता नै त्यस्तै बनाइदिएको छ । यहाँका युवाले परिवर्तन चाहेका छन्, तयार छन् । परिवर्तनको लहर पनि देखिएको छ । तर उहाँले (देउवा) कुनै जादु टुनामुना गर्नुभएन भने केही हुन्छ । खुल जा सिमसिम भने झै गर्नुभयो भने केही भन्न सकिन्न ।’

डडेल्धुराका स्थानीयमा देउवाप्रति आक्रोशको ग्राफ बढ्दो छ । तर आशा र भरोसा पनि टुटेको छैन । नवदुर्गा गाउँपालिका–१, असुर्पाकी ५८ वर्षीया शंकरी देवी बुढा ऐरले गरिबका लागि कसैले काम नगरिदिएको दुखेसो पोखिन् ।

उपचारका लागि धनगढी जान तुफानडाँडा बजारमा गाडी कुरिरहेकी उनले रातोपाटीसँग भनिन्, ‘जसले गरिब जनताको सेवा गर्छ उसैलाई भोट हाल्ने हो । हेर्ने–हेर्ने भन्छन्, अहिलेसम्म कसैले हेरेको छैन । जति पार्टी आए पनि गरिबलाई कसैले हेरेका हैनन् । गरिब जनता जस्ताको तस्तै छन्, बाटोघाटो उस्तै छन् । उपचार पनि पाइन्न यहाँ । मेडिकल कलेज बनाइदिने भनेको सुनेकी छु, आँखाले देख्नुप¥यो नि ।’

चुनावको मिति नजिकिए पनि कतिपय स्थानीयमा कसलाई किन मतदान गर्नेबारे पनि अन्योल देखिएको छ । अमरगढी नगरपालिका–२ का विष्णुराज पन्तले हालको वाम लोकतान्त्रिक गठबन्धनको चुनावी तालमेलप्रति नै आक्रोश व्यक्त गरे । आउँदो निर्वाचनप्रति आफूमा कुनै उत्साह नरहेको बताउँदै उनले कसलाई किन मतदान गर्नेबारे पनि आफूमा अन्योल रहेको सुनाए ।

‘यो चुनावलाई मैले खासै अर्थ राखेको छैन । किनकि अहिले यहाँ फरक–फरकका ध्रुवका, विचारका मानिसहरु मिलेर राजनीति गरिरहेका छन् । एउटा क्रान्तिकारी र अर्को लोकतान्त्रिक पार्टी गठबन्धन गरेर चुनावमा छन् । कसरी राज्यसत्तामा जाउँ, कसरी मिलीजुली खाउँ भन्ने मात्रै यिनीहरुको उद्देश्य हो’, उनले रातोपाटीसँग भने ।

देउवा ५–५ पटक प्रधानमन्त्री भए पनि यहाँ कुनै हेर्नलायक विकास नभएको उनको गुनासो छ । ‘उहाँकै गाउँको अवस्था हेर्नुस्, विडम्वनापूर्ण अवस्था छ । देउवाजी भएर पनि कुनै नौलो कुरा छैन,’ उनी भन्छन्, ‘राष्ट्रलाई सन्देश दिने केही छैन । जननी जन्मभूमि स्वर्गदपी गरीयसी भन्छन् । जन्म दिने आमा भन्दा ठूलो केही छैन । सबैभन्दा पहिले आफ्नो घर बनाउनुप-यो नि ।’

त्यस्तै आफू स्वतन्त्र मान्छे रहेको बताउँदै उनले डडेल्धुराबाटै स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल बाहिरको मान्छे भएकाले पनि यहाँको लागि खासै अर्थ नराख्ने सुनाए । उनले अगाडि थपे, ‘यहाँको रोडको अवस्था हेर्नुस् न, केही परिवर्तन छैन । यहाँको बस्ती हेर्नुस् । फोहोर हेर्नुस् । यहाँबाट हरेक वर्ष हजारौं विद्यार्थी पास भएर जान्छन्, यहाँ एउटा विद्यार्थी रहँदैन । कि ऊ धनगढी जान्छ, या काठमाडौं जान्छ । एउटा विद्यार्थीलाई पढ्ने उपयुक्त क्याम्पस छैन । जुनकारण यहाँ बालेनजस्तो मान्छे आउन जरुरी छ ।’ 

अमरगढी नगरपालिका–३ का नरेशदत्त पाण्डेले पनि डडेल्धुराले अब विकासका लागि नयाँ अनुहार चाहेको बताउँछन् । तर डडेल्धुरामा देउवालाई टक्कर दिन सक्ने अन्य उम्मेदवार नरहेकाले देउवाको विकल्प नरहेको उनको बुझाइ छ ।

यता देउवा देशकै नेता भएकोले पनि पुनः दोहोरिनुपर्ने मत राख्ने स्थानीय पनि उस्तै भेटिए । अमरगढी नगरपालिका–५ का कृष्णदत्त भट्टलाई देउवाले बाहेकले जित्दा डडेलधुरामा थप विकास हुनेमा विश्वास छैन । उनले भने, ‘प्रधानमन्त्रीले डडेल्धुरालाई मात्रै हेर्नुपर्छ भन्ने छैन । उहाँले ७७ वटै जिल्लाको विकास गर्नुपर्छ । आफ्नै जिल्लालाई सर्वोपरि ठान्नु हुन्न । अरुको तुलनामा त विकास भएकै छ । अरु मान्छेलाई जिताउँदा यहाँको विकास हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

कृष्णदत्तको भनाइ जस्तै अमगरगढी नगरपालिका–५, कीर्तिपुरकी तारा ऐरको छ । बसपार्कमा फलफूल पसल सञ्चालन गर्दै आएकी उनले भनिन्, ‘यहाँबाट जित्ने शेरबहादुर देउवा नै हो । यहाँबाट जितेर सुदूरपश्चिमको नाम राखिदिएका छन् । यहाँको विकास देउवाले गरेन भन्छन् तर उहाँले धेरै गरेको हो । धेरै गर्न खोजेको हो ।’

त्यस्तै परशुराम नगरपालिका–५ परिगाउँका प्रेमबहादुर चन्दले पनि राज्य शक्तिमा देउवा नै रहेकाले उनको विकल्प खोज्ने बेला नभएको बताए । तर यथार्थमा डडेल्धुराले देउवाबाट चाहेको विकास अझै पाउन नसकेको उनको भनाइ छ ।

कीर्तिमान जितको खोजीमा देउवा

२०४८ यता भएका सबै संसदीय निर्वाचनमा डडेलधुराबाट निर्वाचित देउवा यसपटक विगतको भन्दा गणितीय रूपमा बलियो अवस्थामा छन् । यसपटक डडेलधुराको दोस्रो ठुलो पार्टी माओवादी पनि देउवाको साथमा छ ।

०५१ मा कांग्रेसभित्रको अन्तरकलह, ०६४ को माओवादीको प्रभाव र ०७४ को वाम लहरले समेत देउवाको जित रोक्न सकेको थिएन । गत वैशाखमा सम्पन्न स्थानीय चुनावको परिणामले देउवालाई थप सहज देखिन्छ ।

०६४ यता डडेलधुरामा देउवाका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट नै अहिले उनको मुख्य सारथि बनेको अवस्था छ । भट्ट सत्ता गठबन्धनबाट प्रदेशसभा (क) मा र कांग्रेस नेता गोविन्द बोहरा प्रदेशसभा (ख) मा उम्मेदवार छन् । एमालेबाट प्रदेशसभा (क) मा पठानसिंह बोहरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाही उम्मेदवार छन् ।

२०७४ मा कांग्रेसले सातमध्ये चार पालिका र १७ वडामा मात्र जितेको थियो । सदरमुकाम रहेको अमरगढी नगरपालिका एमालेले जितेको थियो । यसपटक एमालेले डडेलधुराका कुनै पनि स्थानीय तहको प्रमुख पद जित्न सकेन ।

कांग्रेसले अमरगढीसहित पाँच पालिका र २९ वडा अध्यक्ष जितेको छ । बाँकी दुई पालिका र १३ वडा अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । एमाले ५२ मध्ये ४ वडा अध्यक्षमा सीमित भएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीका २, कांग्रेस (बीपी) का २ र स्वतन्त्र २ वडाअध्यक्ष छन् ।

स्थानीय चुनावमा डडेल्धुरामा कांग्रेसको २१ हजार ७३५, माओवादीको १२ हजार ८७८, एमालेको १० हजार ४४९, नेकपा एकीकृत समाजवादीको ५ हजार ४१, राप्रपाको ७१४, जसपाको १५६ मत छ । डडेल्धुरामा सत्ता गठबन्धनसँग ३९ हजार ६ सय ५४ मत छ । बीपी कांग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्षका उम्मेदवारले ३ हजार ५४२ मत पाएका छन् ।

एकीकृत समाजवादीका नेता तारा जोशीले मल्ललाई समर्थन गरेपछि उक्त पार्टीको पाँच हजारमध्ये केही मत घट्न सक्छ  ।

स्थानीय निर्वाचनको मत अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार देउवा २५ हजार मतान्तरले मल्लभन्दा अघि छन् । देउवा यस पटक कीर्तिमान जितको खोजीमा छन् । सोही अनुसार सत्ता गठबन्धनले चुनावी रणनीति बनाइरहेको कांग्रेस जिल्ला सभापति भीमबहादुर साउदले रातोपाटीलाई बताए । प्रदेश (क)का उम्मेदवार भट्टले त देउवाले मतान्तरमा  विश्व रेकर्ड राख्ने दाबी गरे ।

रातोपाटीसँग कुराकानीका क्रममा उनले भने, ‘यस पटक खसेको मतको ८०–९० प्रतिशत मत ल्याएर देउवा जित्नुहुन्छ । ६० हजार मत खस्यो भने उहाँको मत ५० हजारभन्दा माथि हुन्छ ।’

तर कांग्रेस बीपीका उम्मेदवार मल्लले भने त्यो दिवासपना मात्र भएको बताउँछन् । उनले भने, ‘उहाँ चुनाव हेर्दै हुनुहुन्छ । स्थानीय मतका आधारमा चुनाव जित्ने भए गत निर्वाचनमा वाम गठबन्धन ११ हजार मतले अगाडि थियो । देउवाजीले ६ हजार मतान्तरले जित्नु भयो । यो पटक पनि गठबन्धनका उम्मेदवार हार्दै छन् ।’

यहाँका पुरानै एजेण्डा

डडेल्धुरा धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । सुदूरपश्चिमको सात पहाडी जिल्लाको ‘ट्रान्जिट पोइन्ट’ पनि हो डडेल्धुरा । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको यहाँ प्रधानमन्त्री देउवा मात्रै होइनन्, अन्य उम्मेदवारहरु पनि पुरानै एजेण्डा लिइ पुनः चुनावी मैदानमा छन् ।

यहाँ खासगरी पश्चिम सेती, पञ्चेश्वर जलविद्युत परियोजना निर्माण, डडेल्धुरा मेडिकल कलेज, एयरपोर्ट, खानेपानी समस्या समाधान, साँघुरो सडक चौडा, डडेल्धुरालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन, डडेल्धुरा–धनगढी सडक चार लेन बनाउने, जिल्लालाई भारतको टनकपुरसँग जोड्न महाकाली नदीमाथि पक्की पुल निर्माणलगायत चुनावी मुद्दा बन्दै आएका छन् ।

यसमध्ये पश्चिम सेती, पञ्चेश्वर, मेडिकल कलेज, सडक चौडा पार्ने काम प्रक्रियामा छन् । बाँकी एजेण्डा भने चुनावी मुद्दाका रुपमा अगाडि सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप