पहिलो जितको खोजीमा रहेकी डिना भन्छिन्– सडक र पुल बनाउनुमात्र विकास होइन (भिडियोसहित)
आगामी मंसिर ४ गते हुन लागेको आमनिर्वाचनमा सत्ता गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार छिन् । मकवानपुर–२ बाट लगातार ३ वटा निर्वाचनमा पराजित उनी यो पटक भने गठबन्धनको साथ पाएर जित हासिल गर्ने दाउमा छिन् । उनी चौथो पटक चुनावी प्रतिस्पर्धा गर्दैछिन् ।
डिना उम्मेदवार रहेको क्षेत्रमा नेकपा एमालेबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा उम्मेदवार छन् । थापा एमालेको ‘सूर्य’ चिह्नबाट चुनाव लड्ने भएपछि डिनामाथि केही चुनौती भने थपिएको छ । आसन्न निर्वाचनमा जनताको मन जितेर उच्च मतान्तरका साथ चुनाव जित्ने डिनाको छ । विगतमा आफूले गर्न चाहेका तर सत्ताविहीन हुँदा सम्भव नभएका अधुरा काम पूरा गर्ने उनको लक्ष्य छ ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडासहित सिङ्गो मकवानपुरको विकासलाई सही दिशामा गति दिन आफ्नो उम्मेदवारी रहेको बताउँछिन् उनी । लामो समय एमाले र कम्युनिस्टहरुले शासन गरेको मकवानपुरमा २०७० मा कांग्रेसले जितेपछि बसालेको विकासको जगलाई थप मजबुत बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।
सडक, पुल निर्माण विकासको मेरुदण्ड भए पनि त्यसलाई मात्र विकास भन्न नमिल्ने उनको भनाइ छ । ‘जनताको आवश्यकता पूरा गर्नु र उनीहरुलाई राज्य भएको अनुभूति गराउनु नै विकास हो,’ उनले भनिन्, ‘हामी विकास विकास भन्छौं, अनि बाटो बनाउँछौं, पुल बनाउँछौं तर स्वास्थ्यमा आम जनताको पहुँच कतिको छ भन्ने हामी बिर्सन्छौं । शिक्षाको पहुँच कस्तो छ ? भन्नेबारे हाम्रो ध्यान नै पुग्दैन ।’
जनताको जीवनस्तरसँग जोडिएका कुराहरु सम्बोधन हुन नसकेको उनको भनाइ छ । जनतालाई सरकारको अनुभूति दिलाउन र उनीहरुलाई राज्यबाट उपलब्ध सेवामा सहज पहुँच पु¥याउनु आफ्नो मुख्य काम रहेको उनले बताइन् ।
जनताको दैनिकीसँग जोडिएका कतिपय कुराहरुमा अझै पनि कानुन बाधक बनेको र केही कानुन पुराना भएकाले जनतालाई सेवा दिनै समस्या भइरहेको भन्दै उनले त्यसको परिवर्तन÷संशोधन गर्नु आफ्नो जिम्मेवारी रहेको बताइन् ।
हेटौंडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोड दिँदै युवाहरुका लागि रोजगारको अवसर सिर्जना गर्नु आफ्नो पहिलो पहिलो प्राथमिकता रहेको उनले बताइन् । उनले सबल महिलाहरुलाई अवसर प्रदान गरी महिला सशक्तीकरणलाई प्राथमिकता दिएको प्रस्ट पारिन् ।
समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान, सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाह, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाको विकास र विस्तार, हेटौंडालाई सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न बनाउने, सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान रहने उनले बताइन् ।
मकवानपुरको भूगोलको पहिचान गरेर विकास र समृद्धिको नमुना निर्माण गरिसकेको भन्दै उनले. त्यसको सफल कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । उनले आम मतदातामा रहेको राजनीतिक दल र दलका प्रतिनिधिहरुप्रतिको वितृष्णालाई सम्बोधन गर्न सक्ने विश्वाससमेत व्यक्त गरिन् ।
भिडियो हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’