शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ–७ : ‘हेभीवेट’ नेताका बीचमा पराजुलीको उम्मेदवारी, मङ्सिर ४ मा ‘घण्टी’ बज्ने दाबी (भिडियोसहित)

मङ्गलबार, २२ कात्तिक २०७९, १६ : ५४
मङ्गलबार, २२ कात्तिक २०७९

४० वर्षका एक युवक, जो घण्टी चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का मतदाताको घरघरमा पुगिरहेका छन् । फुर्तिलो बनेर जनताको घरदैलोमा पुगिरहेका ती युवा हुन् गणेश पराजुली ।

कात्तिक २१ गते सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा रहेको बिहानीबस्ती पुग्दा तिनै फुर्तिला युवा निकै उत्साहका साथ घरदैलोमा थिए । उनलाई साथ दिन करिबकरिब उस्तै उमेरका युवाहरू लामवद्ध भएका थिए र उमेर पुगिसकेका अग्रजहरुले पनि ती युवाका लागि मत मागिरहेका थिए ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका पराजुली भर्खरैमात्र राजनीतिमा होमिएका छन् । पराजुलीकै शब्दमा भन्ने हो भने पुराना राजनीतिक दल र तिनका नेताबाट दिकदार भएपछि आर्थिक र राजनीतिक परिवर्तनका लागि उनी आफै निर्वाचनमा होमिएका हुन् ।

पुराना दलबाट विकास र निकास नभएको र देशको समृद्धि सम्भव नदेखिएको भन्दै ‘बाध्य’ भएर आफै राजनीतिमा होमिएको उनको भनाइ छ । राजनीतिक दलहरुप्रतिको वितृष्णा र निराशा बढिरहेको बेला परिवर्तन र विकासको घण्टी बजाउन आफूहरु निर्वाचनमा होमिएको पराजुलीले बताए ।

एमालेको लालकिल्लामा ‘घण्टी’ बजाउने दाबी

नेकपा एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्ने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा यसपटक एमालेबाटै श्यामकुमार घिमिरे, सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराई, जसपाबाट नेता राजेन्द्र श्रेष्ठ र एमालेकै तर्फबाट बागी बनेका पूर्व सांसद रामवीर मानन्धर चुनावी मैदानमा होमिएका छन् । यी चारैजना ‘हेभीवेट’ उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्, ४० वर्षका युवा गणेश पराजुली । पुराना पार्टी र पुराना व्यक्तिको बीचमा भर्खरै राजनीतिमा होमिएका युवा गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिस्पर्धा गरिरहेका छन् ।

२०६४ सालमा हिसिला यमीले जितेको यो क्षेत्रमा त्यसपछि दुईपटक एमालेले जित निकालेको छ । यो स्थानमा दुवैपटक एमालेका तर्फबाट रामवीर मानन्धर सांसद बनेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका रामवीर मानन्धरले १८ हजार १०२ मत पाएका थिए । उनका निकटतम प्रतिद्वन्द्वीका रुपमा कांग्रेससँग गठबन्धन गरेको राप्रपाका उम्मेदवार विक्रम बहादुर थापाले १० हजार ७९ मत ल्याएका थिए । एक्लाएक्लै लड्दा प्रतिनिधिसभातर्फ काठमाडौं–७ मा एमाले बलियो रहेको दाबी गरिन्छ ।

२०७९ को स्थानीय तहको वडागत अंकगणित हेर्दा भने काठमाडौं–७ मा नेपाली कांग्रेस बलियो देखिन्छ । काठमाडौं–७ मा वडागत रुपमा हेर्दा नेपाली कांग्रेसको १४ हजार १६७, एमालेको १२ हजार २०२, एकीकृत समाजवादीको ३ हजार ८३९, राप्रपाको २ हजार २७, माओवादीको ५७६ र जसपाको १६२ मत देखिन्छ ।

हाल माओवादीको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी मानुषी यमी भट्टराई तत्कालीन समयमा जनता समाजवादी पार्टीमै थिइन् । तर अहिले जनता समाजवादी पार्टी पनि टुक्रिसकेको छ र मानुषी नेपाल समाजवादी पार्टीमा छिन् । तर गठबन्धनमा आवद्ध दलहरुको कुल मत हेर्ने हो भने यसपटक गठबन्धनलाई पहिलेकै जस्तो सबै मत आउने हो भने १८ हजार ७४४ मत प्राप्त हुन सक्छ ।

यता नेकपा एमालेले राप्रपासँग गठबन्धन गरेका कारण एमाले र राप्रपाको मत जोड्दा एमालेले १४ हजार २२९ मत प्राप्त गर्न सक्ने देखिन्छ । एमालेका तर्फबाट अहिले काठमाडौं–७ मा श्याम कुमार घिमिरे उम्मेदवार छन् ।

तर एमालेकै तर्फबाट दुईपटक सांसद बनिसकेका रामवीर मानन्धर काठमाडौं–७ मा बागी उम्मेदवार बनेका छन् । आफूलाई उम्मेदवार नबनाइएको भन्दै उनले घण्टाघर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले काट्ने भोट एमालेकै भएकाले एमालेलाई उक्त क्षेत्रमा चुनौती बढेको छ ।

यता काठमाडौं–७ मै जसपाका तर्फबाट राजेन्द्र श्रेष्ठले समेत उम्मेदवारी दिएका छन् । पहिले एमालेका तर्फबाट सांसद रहिसकेका श्रेष्ठ पछि जनता समाजवादी पार्टीमा आवद्ध भएका थिए । नेवार समुदायमा आफ्नो राम्रो मत भएको दाबी गर्ने श्रेष्ठले त्यस क्षेत्रबाट राम्रो मत ल्याउने दाबी गरिरहेका छन् ।

यी चारजना उम्मेदवारको भिडमा उम्मेदवारी दिएका युवा गणेश पराजुलीको पार्टी यसअघि कुनै निर्वाचनमा सहभागी छैन । यद्यपि युवा नेतृत्व भएको कारण आफूहरुले राम्रो मत ल्याएर जित्ने पराजुलीको दाबी छ । पहिले निर्वाचनमा भाग नलिए पनि राजनीतिक दलबाट दिक्क र निराश भएका मतदाताले आफूलाई मत दिने उनको दाबी छ ।

घण्टीमा मतदानका लागि मतदाता आतुर छन् : पराजुली

घरदैलो अभियानकै क्रममा भेटिएका युवा उम्मेदवार पराजुलीले मतदातामा परिवर्तनका लागि जोश देखेको बताए । निर्वाचनको माहोल कस्तो छ त भन्ने रातोपाटीको प्रश्नमा पराजुलीले भने, ‘उत्साहपूर्ण माहोल छ, मतदातामा परिवर्तनका लागि जोश छ । र, मंसिर ४ गते परिवर्तनका लागि घण्टी चुनाव चिह्नमा मतदान गर्न उहाँहरु आतुर हुनुहुन्छ ।’

चुनाव चिह्न परिवर्तन हुँदैमा देशकै परिवर्तन हुन्छ र भन्ने प्रश्नमा पराजुलीले भने, ‘चुनाव चिह्नको परिवर्तन भनेको देश परिवर्तनको सुरुवात हो । अवस्था परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जिम्मा लिएको छ । देशको समृद्धिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नुपर्ने सबै पहल र जिम्मेवारी लिएको छ । देश परिवर्तन गर्छु भनेको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताएर राष्ट्रिय पार्टी बनाउने र परिवर्तनको संवाहक बनाउने दिशामा जनता आतुर हुनुहुन्छ । यो एउटा सुरुवात हो ।’

काठमाडौं–७ का जनताले तपाईलाई किन भोट हाल्ने त भन्ने प्रश्नमा पराजुलीले आफ्नै मेहनत र पसिनाले खारिएको युवाले देशलाई परिवर्तन गर्न सक्ने दाबी गरे । पराजुलीले भने, ‘आजको दिनमा देशलाई चाहिएको युवा नेतृत्व हो र एक सशक्त युवा, आफ्नै मिहेनत र पसिनाले खारिएको युवा देशलाई चाहिएको हो । विरासतबाट आएको युवा देशलाई चाहिएको होइन ।’

आफू यसभन्दा पहिले प्रत्यक्ष राजनीतिमा नरहे पनि राजनीतिलाई धेरै नजिकबाट नियालिरहेको उनको भनाइ छ । ‘म मेरै पेसा र व्यवसायमा लगनशील भएर लागिरहेको थिएँ । पेसा र व्यवसायबाहेक म समाजसेवामा थिएँ,’ उनले भने, ‘तर त्यसमा मात्रै गरेको योगदानले राष्ट्रलाई परिवर्तन गर्न असम्भव देखियो । र, राष्ट्रको मेरुदण्ड अर्थात् राष्ट्र हाँक्ने भनेको राजनीति हो भनिसकेपछि अब देशको परिवर्तन राजनीतिमा आएर मात्रै गर्न सकिन्छ भन्ने महसुस भयो र म सक्रिय राजनीतिमा आएको छु ।’

आफ्नो आँट, साहस र हिम्मतलाई यहाँका जनताले स्वीकारेको उनले बताए । त्यही परिवर्तनका लागि नै आफूलाई मतदाताले मत दिने उनको भनाइ छ ।

परिवर्तनका लागि साहस र हिम्मत छ

उम्मेदवार पराजुलीले परिवर्तनका लागि आफूमा साहस र हिम्मत रहेको दाबी गरे । उनले भने, ‘परिवर्तनका लागि हिम्मत गर्नुपर्छ र त्यो हिम्मत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशव्यापीरुपमा गर्दै गर्दा त्यो हिम्मतलाई गन्तव्यमा पुर्‍याउनका लागि म काठमाडौं क्षेत्र नम्बर ७ मा घण्टी चुनाव चिह्न लिएर उठेको छु । म मात्रै होइन, म जस्तै युवा साथीहरु देशैभरिबाट अग्रसर भइरहँदा परिवर्तनको संवाहक हामी नै हौँ भन्ने आभाष भइसकेको छ ।’

पराजुलीले अगाडि भने, ‘हामीले खाली नेता र राजनीतिक दललाई गाली मात्रै गरेर होइन, काम गर्नका लागि हामी सक्षम युवाहरु अघि सर्नुपर्छ भनेर अघि सरेपछि आम जनताले हामीलाई साथ दिनुहुन्छ । परिवर्तनका लागि काम गर्नुपर्छ, गाली र गफ होइन, मिहेनत गर्नुपर्छ, जिम्मेवारीपूर्वक काम गर्नुपर्छ भनेर नै जनताले नै हामीलाई अगाडि सार्नुभएको हो ।’

ठूला दलले समृद्धि नदिएपछि मैले उम्मेदवारी दिएँ

काठमाडौं–७ का उम्मेदवार पराजुलीले ठूला दलले समृद्धि दिन नसकेपछि आफू निर्वाचनमा आएको बताए । उनले भने, ‘पहिलेका ठूला भनिएका दलहरुलाई नै क्षेत्र नम्बर ७ र देशैभरका जनताले विश्वास गरेका हुन् । तर उहाँहरुले जनतालाई के दिनुभयो ? परिवर्तनको कुनचाहिँ सम्भावना देखाइदिनु भयो ? समृद्धिको कुनचाहिँ सुरुवात गरिदिनुभयो त हाम्रा लागि ? उहाँहरुबाट केही नहुने भएपछि म निर्वाचनमा होमिएको हुँ ।’

बाध्यताले राजनीतिमा आएँ

पराजुलीले आफू बाध्यतामा परेर निर्वाचनमा होमिएको बताए । उनी भन्छन्, ‘पुराना राजनीतिक दलहरुले यो देश, यहाँका जनता आदिका लागि काम गरेका थिए भने त मैले राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा बोक्नुपर्ने थिएन होला । यहाँहरुले गर्नुभएको काम राम्रो नभएको कारण हामी यहाँ आउनुपरेको हो । नत्र त हामी हाम्रै पेसा र व्यवसायमा रमाइरहेका हुन्थ्यौँ होला नि त ।’

पुरानाहरुबाट यो देश र जनताको समृद्धिको सम्भावना नदेखिएपछि आफूहरु नयाँ पार्टीमा आवद्ध हुनुपरेको र नयाँ पार्टीको झण्डा बोकेर निर्वाचनमा होमिएको उनको तर्क छ ।

मंसिर ४ पछि काठमाडौं–७ मा घण्टी बज्छ

४ जना हेभीवेट नेतासँग प्रतिस्पर्धामा होमिएका पराजुली मंसिर ४ गतेपछि काठमाडौं–७ मा घण्टी बज्ने दाबी गर्छन् । ठूलाठूला दलका गठबन्धन उम्मेदवार र दुई हेभीवेटका नेताका बीचमा पनि आफ्नो उपस्थिति बलियो भएको र जनताले पुरानो पार्टीलाई भोट नदिने भनेर आफूलाई हौसला बढाइरहेको पराजुलीको दाबी छ । पराजुली भन्छन्, ‘काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ का जनताले युवा उम्मेदवार र केही गरौँ भन्ने सोच लिएर आएको कारण मलाई निर्वाचित गराउनुहुन्छ भन्ने पूर्ण विश्वास छ । मंसिर ४ गतेपछि काठमाडौं ७ मा घण्टी बज्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप