शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओनसरीको घोषणापत्रः अण्डरपासदेखि सुरुङ मार्गसम्म

मङ्गलबार, २२ कात्तिक २०७९, १६ : २९
मङ्गलबार, २२ कात्तिक २०७९

 सत्ता गठबन्धनले काठमाडौं क्षेत्र नम्बर–२ को घोषणापत्र सार्वजनिक गरेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, रोजगारी, सामाजिक सुरक्षा, खेलकुद लगायत क्षेत्रमा गर्ने कामको प्रतिबद्धता समेटेर गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म संसद विघटन गरेका कारण देशको राजनीतिक स्थिरता, संवैधानिक  सर्वोच्चता र जनताको आर्थिक समृद्धिप्रतिको तीव्र आकांक्षामाथि घात पुर्याएको उल्लेख छ । बदलिएको राजनीतिक परिस्थितिमा देशलाई दिशानिर्देश गर्दै उत्पादनमुखी, समावेशी अर्थतन्त्र र दिगो विकासको युगमा लैजान  संविधानको रक्षकका रुपमा लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको दाबी गरिएको छ ।

उनीहरुले प्राकृतिक एवम् सांस्कृतिक पर्यटन तथा कृषिको प्रचुर सम्भावना बोकेको काठमाण्डौं–२ लाई राजधानीकै पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।  प्राकृतिक पर्यटकीय सर्किट क्षेत्रको पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, फलफुल खेती एवम् कृषिमा आधुनीकिकरण र कृषि पकेट क्षेत्रको विकास, साइकल लेनसहितको सडक सञ्जाल, विशेष खेलकुद क्षेत्रको विकास, साना तथा मझौला उद्योगको प्रर्वद्धन गर्ने कार्यक्रम घोषणापत्रमा समेटिएका छन् । यसैगरी गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य, सफा खानेपानी, प्रयाप्त सिँचाइको व्यवस्था, स्वच्छ र स्वस्थ वातावरण, सुरक्षाको प्रत्याभुति, साथै नागरिकलाई रोजगारीको अवसरहरू सृजना गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ ।

साँखु –फड्केश्वर सडकलाई पूर्णता दिई मध्य पहाडी लोकमार्ग सडकसँग जोड्ने तथा साँखुु– बज्रयोगिनी– घुुमारचोक– डाँडाकटेरी –चौही  भञ्ज्याङ –धारापानी –पटाप –कुुण्डेश्वर हुँदै सिन्धुुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने प्रतिबद्धता छ । चावहिल–साँखु सडकलाई मापदण्ड अनुसार यथाशिघ्र निर्माण सम्पन्न गराउने, शालीनदि–मनोहरा–मुलपानी–हरहर महादेव–पेप्सिकोला–नरेफाँट–बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम संचालन गर्ने, मनोहरा खोलाको कटान तथा डुबान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने तथा जग्गा एकीकरण गर्न पहल गर्ने पनि घोषणापत्रमा प्रतिबद्धता जनाइएकोे छ ।

शिक्षा र स्वास्थ्य

गठबन्धनले काठमाडौं–२ अन्तर्गतका सबै विद्यालयहरुमा अनुसन्धान तथा आविस्कार केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । यस्तै संविधानअनुसार निःशुल्क आधारभुत शिक्षा र स्वास्थ्यमाथि जनताको अधिकार स्थापित गराउने सरकारी तथा सामुदायिक विद्यालयमा भौतिक तथा प्राविधिक पूर्वाधार र शैक्षिक गुणस्तरको सुधार गरी सबै सरकारी शैक्षिक संस्थालाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

सीमान्तकृत गरिब समुुदायका घर परिवार लक्षित पौष्टिक आहार, सुुत्केरी स्याहार लगायतका विषेश कार्यक्रम संचालन गर्ने र प्रत्येक नागरिक स्वस्थ नागरिक अभियान अन्तर्गत खुला जिमको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि गठबन्धनले गरेको छ । यस्तै शंखरापुुर नगरपालिका–३ जहरसिंहपौवामा सुुविधा सम्पन्न अस्पताल निर्माण गर्ने घोषणा गरिएको छ । 

महिलाहरुको सशक्तिकरणका लागि उद्यमशिलताको विकास, महिला हिंसा न्यूनीकरण र क्षमता विकासका नीति तथा योजनाहरु बनाउने गठबन्धनको घोषणापत्रमा उल्लेख छ । यस्तै गर्भवती महिलाको लागि निःशुल्क यातायातको सेवा प्रदान गर्ने, जनजाति तथा दलित वर्गलाई मध्यनजर गरेर आधुनिक र प्रविधिमैत्री उद्यमशीलता तथा सीप सिकाई केन्द्रहरुको स्थापना गर्ने विषय समेटिएको छ ।

सम्पुर्ण सरकारी कार्यालय तथा सामुदायिक संस्था, अस्पताल, सडक तथा यातायात, सार्वजनिक मठमन्दिर तथा गुम्बा, र शैक्षिक संस्थाहरुलाई अपाङ्गमैत्री बनाउने पनि गठबन्धनले बाचा गरेको छ ।

सुरक्षित सहरः व्यवस्थित बसोबास

मनोहरा करिडोर निर्माण गर्ने तथा पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि गठबन्धनको घोषणापत्रमा छ । गठबन्धनले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने बाचा मतदातालाई गरेको हो ।

जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने घोषणापत्रमा प्रतिबद्धता गरिएको छ । यस्तै आवश्यक स्थानमा मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तिनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने फोहोर र ढल व्यवस्थापन गर्ने, क्षेत्रअन्तर्गतका सबै खोलाहरुमा बग्ने प्लाष्टिकजन्य फोहोरलाई ट्रयाक-याक निर्माण गरी संकलन गर्ने र उचित व्यवस्थापन गर्ने, पेप्सिकोला—ब्रह्मखेल सडकको निर्माण सम्पन्न हुुन बाँकी सडक खण्डलाई सम्झौताअनुुसार सम्पन्न गराउने, स्मार्ट सडक बत्ती र सीसीटीभी क्यामेरा जडान गरी उज्यालो, सुन्दर र सुरक्षित सहर बनाउने घोषणापत्रमा छ । यस्तै कागेश्वरी मनोहरामा खेलकुद पार्क, खेलकुद एकेडेमी तथा वैकल्पिक राष्ट्रिय रगंशाला निर्माण गरी खेल पर्यटनको प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि गठबन्धनको छ । कागेश्वरीलाई प्रशस्त खानेपानीयुक्त, पर्यावरणमैत्री शहर बनाउने प्रतिबद्धता गठबन्धनका उम्मेदवारले गरेका छन् ।

शंकरापुरमा नेपालको कला, साहित्य र संस्कृति झल्किने गरी सांस्कृतिक ग्राम निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने, ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेका नेवाः सांस्कृतिक सहर साँखु, शालीनदी, बज्रयोगिनी तथा मणिचुड क्षेत्रलाई समेटेर सुन्दर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वृहत् गुरुयोजना तयार गरी  सोही अनुसारका संरचना निर्माण, सम्पदा संरक्षण, पर्यटकीय पथ, केवलकार निर्माणको पहल गर्ने साथै बज्रयोगिनी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने घोषणा गठबन्धनको छ ।

काठमाण्डौं–२ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा माओवादीबाट पूर्वसभामुख ओनसरी घर्ती तथा प्रदेश (क) मा काँग्रेसका ध्रुव केसी र प्रदेश (ख) मा  एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप