आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मैले झुक्याउने कुरा गरेको छैन, मतदाता सकारात्मक छन् : गगन थापा

मङ्गलबार, २२ कात्तिक २०७९, १६ : ०५
मङ्गलबार, २२ कात्तिक २०७९

कांग्रेस महामन्त्री समेत रहेका काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गगन थापा आफूले भोट माग्दै गर्दा जनतासामू झुटा कुरा नगरेको बताउँछन् । राजनीतिको मुहान ठिक गर्न आफू चुनावी मैदानमा आएको भन्दा मतदाताले सकारात्मक लिएको थापाको भनाइ छ ।  हाल आफ्नो निर्वाचन क्षेत्रमा मत माग्न व्यस्त थापासँग रातोपाटीले गरेको चुनाव केन्द्रित कुराकानीः

मत माग्न चुनावी घरदैलोमा व्यस्त हुनुहुन्छ । मतदाताको घरदैलोमा जाँदा कस्तो प्रतिकृया पाइरहनुभएको छ ?

म झुक्किएको हो भने थाहा छैन । मैले यो भन्दा अगाडिको निर्वाचनमा जस्तो सद्भाव र सहयोगी भावनासहितको उत्साह बढाउने प्रतिकृया पाएको थिएँ, अहिले पनि त्यसैगरी मतदाताहरुले सहयोग गर्नुभएको छ, आशीर्वाद दिनुभएको छ र माया प्रकट गर्नुभएको छ । त्यसमा उहाँहरुको दुई खालको प्रतिकृया पनि छ । एउटा देशको राजनीतिप्रति ठाउँठाउँमा गुनासो छ । जस्तो अब पनि तिमीहरु बदलिएनौ भने अब हामी थप माया गर्दैनौं । अर्थात् तिमीहरु बदलिनुपर्छ । यो पार्टी, त्यो पार्टी नभनी मतदातामा एकदम ठुलो छटपटी देखिन्छ एउटा ।

​अर्को, म यहाँको निरन्तर एउटा सांसद भइरहेको हुनाले स्वाभाविक रुपमा स्थानीय बाटो, ढल, पानीको समस्या राख्नुभएको छ । त्यो फेरि उहाँहरुका लागि पनि नयाँ होइन, मेरा लागि पनि । किनभने यो भन्दा पहिला आउँदा पनि भनिरहनुभएको हो । त्यो सम्झाउनुभएको छ, गुनासो राख्नुभएको छ । त्यो गुनासोहरु राख्दा पनि मैले अन्तिममा के पाएको छु भने सबैमा देशको राजनीतिमा ठुलो परिवर्तन आओस् भन्ने चाहना छ । साथै यो भन्दा अघिको ५ वर्षको अवधि खेर गयो भन्ने सबैतिरको धारणा छ । अबचाहिँ यो अवधि खेर नजाओस् र परिणाम निस्कियोस् भन्ने ठाउँमा पु¥याउनुपर्छ भन्ने भाव मतदातामा पाएको छु ।

५ वर्षअघि यो क्षेत्रमा तपाई मत माग्न आउदा कांग्रेसको सामान्य नेता हुनुहुन्थ्यो भने अहिले महामन्त्री पनि हुनुहुन्छ । साथै तपाईले केही समय अघि ‘अब ड्राइभिङ सिटमा बस्ने हो’ भन्नुभएको थियो । जनतासँगको भेटघाटका क्रममा उनीहरुले तपाईलाई अब कुन रुपमा हेर्न चाहेको पाउनुभयो ?

मलाई सबैभन्दा बढी त्यही कुराले उत्साहित बनाएको छ । आम जनतालाई नेपालको राजनीतिमा ठुलो परिवर्तनको चाहना छ । त्यो परिवर्तनका निम्ति मुख्य कर्ता हुन्छ । त्यहाँभित्र त्यो पंक्तिमा वर्षौंवर्षदेखि एउटा तहको नेताहरुको निरन्तर रुपमा प्रवाह र नियन्त्रण छ, त्यसमा बदलाव आओस् भन्ने छ । त्यो क्रममा कोही नजिक नजिक पुगेको छ भने नेपाली कांग्रेस पार्टीभित्रको महामन्त्री पनि भएकाले र जिम्मेवारीमा पुगेकाले र मैले आफूले त्यो संकल्प पनि गरेकाले म प्रयत्न गर्छु । मलाई थाहा छैन, परिणाम के आउँछ तर प्रयत्न गर्छु भनेर म मतदातामाझ जाँदै गर्दा त्यसले उहाँहरुलाई पनि उत्साहित गराएको छ । जो आउनुभएको छ, बोल्नुभएको छ, उहाँहरुले मलाई त्यो ठाउँमा पुग्नुपर्छ, गर्नुपर्छ भन्नुभएको छ र शुभकामना दिनुभएको छ ।

मुख्य प्रतिस्पर्धी पुरानै अनुहार र केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् । कस्तो महसुुस हुँदैछ ?

मैले निर्वाचनलाई र प्रतिस्पर्धीलाई कहिल्यै पनि कमजोर ठानेको छैन । साथै मतदाताको मनलाई यो मेरो किल्ला, आधार र यस्तो हुन्छ भनेर ठानेको छैन । मतदातासँग यति ठुलो तागत छ कि उनीहरुले जे पनि गरिदिन सक्छन् । अहिले मत दिन्छु भनिरहेको मतदाताको मन बदलिन पनि सक्छ । त्यसैले मतदातालाई त्यसरी नै राख्नुपर्छ भन्ने ठान्छु । म मतदातामाझ आउँदैगर्दा मैले यतिबेलासम्म हेर्ने भनेको आम मतदाताको प्रतिकृया हो । त्यसैले म ०७० मा पनि र ०७४ मा पनि यही क्षेत्रमा लडेको हुनाले पहिलेको भन्दा फरक पाएको छैन ।

जनताका अपेक्षा एकातिर राखेर हेर्दा तपाई आफूले चाहिँ यो क्षेत्रबाट निर्वाचित भएपछि मुलुकका लागि के गर्छु भन्ने दृढ संकल्प गर्नुभएको छ ?

निर्वाचन क्षेत्रका सन्दर्भमा पूर्वाधारहरु समयमा सम्पन्न भएको छैन । खासगरी सबैभन्दा ठुलो मुद्दा खानेपानीको छ । तर यो यहाँको मात्र होइन, सिङ्गो काठमाडौंकै समस्या हो । म घरबाट निस्कने बेला आफ्नै घरको पनि यही समस्या छ । काठमाडौंमा खानेपानीको मुद्दा ठुलो छ । यी मुद्दाहरुका बारेमा त स्वाभाविक रुपमा चासो हुने भइहाल्यो । युवासँग कुरा गरे रोजागारीको मुद्दा छ । तर त्यो भन्दा पनि मुख्य कुरा मैले मेरा मतदातालाई झुक्याउने कुरा गरेको छैन । यहाँको ढल, खानेपानीलगायतका मुद्दा पनि हेर्ने हो । तर यो सबै ठिक पार्न देशको राजनीतिको मुहान ठिक हुन जरुरी छ । मतलब मुहान सफा गर्न जान खोजेको हो । त्यसैले मुहान सफा गर्नका लागि तपाईहरुको सहयोग चाहिएको छ भनेर मैले भनिरहेको छु । त्यो कुरालाई उहाँहरुले सकारात्मक लिएको पाएको छु ।

राजनीतिको मुहान गठबन्धनबाटै सफा गर्न सकिएला ?

यो गठबन्धनले बहुमत दिन्छ, बहुमतले स्थिरता दिन्छ । त्यो स्थिरतालाई हामीले सदुपयोग गर्नुपर्छ । यो भन्दा अघिल्लो पटक पनि गठबन्धन थियो, बहुमत थियो । तर बहुमतको सदुपयोग भएन, यो पटक सदुपयोग हुन्छ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप