आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

आक्रमणपछि आफ्नो खुट्टाबाट तीनवटा गोली निकालिएको इमरान खानको दाबी

मङ्गलबार, २२ कात्तिक २०७९, १६ : ००
मङ्गलबार, २२ कात्तिक २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गत हप्ता आक्रमणपछि उनको दाहिने खुट्टामा तीनवटा गोली निकालिएको बताएका छन् । खानलाई अघिल्लो बिहीबार गुजरानवालाको एक राजनीतिक ¥यालीमा गोली हानिएको थियो । 

बन्दुकधारीको हत्या प्रयासबाट बचेका भए पनि खानको खुट्टामा गोली लागेर घाइते भएका थिए । सोमबार सीएनएनसँगको कुराकानीमा खानले उनको दाहिने खुट्टाबाट तीनवटा गोली निकालेको र बायाँ खुट्टाबाट गोलीका छर्राका टुक्रा निकालिएको बताए । आक्रमणपछि खानको खुट्टामा प्लास्टर गरिएको छ र उनलाई चिकित्सकले चारदेखि छ हप्ता आराम गर्न भनेका छन् । लाहोरको जमान पार्कस्थित निवासबाट सीएनएनकी बेकी एन्डरसनसँग कुराकानी गर्दै खानले आफूलाई गुप्तचर निकायभित्रका विश्वस्त व्यक्तले आक्रमण हुनसक्ने चेतावनी दिएको बताए । 

एन्डरसनले कस्तो जानकारी दिइएको थियो भन्ने प्रश्नमा खानले भने ,‘ म साढे तीन वर्ष सत्तामा थिएँ र यस अवधिमा खुफिया एजेन्सीभित्र मेरो सम्बन्ध बनेका छन् । गुप्तचर निकाय भित्रकाले किन सूचना दिए त भन्ने सोच्नु होला । किनभने यो देशमा जे भइरहेको छ त्यसभित्रका मानिसहरु पनि त्रसित छन् ।’

बिहीबारको खानको हत्याप्रयासमा गरिएको गोलीबारीमा एक व्यक्तिको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । खुट्टामा गोली लागेका खानलाई तत्काल उपचारको लागि लाहोरको अस्पताल लगिएको थियो ।
शुक्रबार अस्पतालबाट भिडियो सन्देश जारी गर्दै उनले बिना प्रमाण ‘प्रधानमन्त्री शेबाज शरीफ, गृह मन्त्री राणा सनोल्लाह र मेजर जनरल फैसलको योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाएका थिए । - सीएनएन  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप