शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्याटलग्राउन्ड सिन्धुपाल्चोक–१ : कांग्रेस मतदातासँग मोहन बस्नेतको अभाव हुन नदिने बाचा गर्दै माधव सापकोटा (भिडियो)

मङ्गलबार, २२ कात्तिक २०७९, १० : ४५
मङ्गलबार, २२ कात्तिक २०७९

शम्भु दंगाल/कुबेर गिरी

सुनकोसी नदी छेउ बिहान हल्का चिसो थियो । चौतारा साँगाचोकगढी नगरपालिकातर्फको अरनिको हाइवेबाट च्याने सुकेटेको सुनकोसी नदीमाथिको पुल तर्ने बित्तिकै सुनकोसी गाउँपालिका टेकियो । झन्डै आधा घण्टा सवारी साधनमा उकालो बाटो लागेपछि पुगियो सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित यमुना डाँडा ।

यमुनाडाँडामा चुनावी चहल पहल थियो । मध्याह्न १२ बज्न लाग्दा हल्का घाम चर्किएको थियो । ठ्याक्कै नेपाली कांग्रेसको चुनाव चिह्नमा अंकित चित्रजस्तै समी रुखको चौतारोमा चुनावी कार्यक्रम भइरहेको थियो । सो चौतारो मुनि बनाइएको मञ्चमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी दल मिलेर बनेको वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा नेताहरू लहरै कुर्सीमा बसेका थिए ।

त्यो लहरको छेउमा बसेर आफू निर्वाचित भएमा सिन्धुवासीका लागि के के गर्ने, माओेवादी र कांग्रेस भनेर भेदभाव नगरी विकासका काम अघि बढाउँछु भनेर आफ्ना प्रतिबद्धता सुनाइरहेका थिए– ४० वर्षीय उम्मेदवार माधव सापकोटा ‘सुवोध’ ।

पूर्व सभामुख अग्नि सापकोटाले आफ्नो भागमा आएको प्रतिनिधिसभा उम्मेदवारको टिकट युवा पुस्ताका लागि भनेर माधवलाई सुम्पिएका थिए । उनै माधव अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायत ५ दलको साझा उम्मेदवारका रुपमा पूर्व सभामुख सापकोटाको विरासत बोकेर गाउँ गाउँमा मतदातालाई आफ्ना एजेण्डा सुनाउन र खासगरी कांग्रेस मतदाताको मन जित्न गाउँ वस्तीमा घरदैलो गरिरहेका छन् ।

उनको साथमा छन् प्रदेशसभा सदस्यमा उठेका अर्का युवा नेता सरल सहयात्री पौडेल । उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका छन् । पूर्व मन्त्रीसमेत रहेका र हाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेसका नेता मोहन बस्नेतलाई क्षेत्र नम्बर १ मा पनि अभाव हुन नदिने भन्दै कांग्रेस मतदाताका घरमा पुगेर वाचा गरिरहेका छन् उनीहरू ।

आइतबार भएको घरदैलोमा आफू फरक दलबाट उम्मेदवार भए पनि कांग्रेसका मतदाताप्रति माओवादीको रङ र गन्ध नदिनेगरी सुख दुःखमा साथ दिने र उनीहरूले उठाएका विकासका मागहरू पूरा गर्न मरिमेटेर पहलकदमी लिने बाचा सापकोटाले गरिरहेका थिए ।

उनले मोहन बस्नेतले अघि बढाएका कामहरूलाई निरन्तरता दिने र कांग्रेसका मतदातालाई उनको अभाव हुन नदिने बाचा गरे ।

नेपाली कांग्रेसको निकै प्रभाव रहेको सिन्धुपाल्चोकको यमुनाडाँडामा कुनै समय वीपी कोइरालासमेत आएर बसेको स्थानीय लोकबहादुर खड्काले बताए । कांग्रेसको सो प्रभाव क्षेत्रमा उम्मेदवार सापकोटाले हिजो युद्धकालमा पनि र हालका दिनमा पनि कांग्रेस र माओवादी केन्द्रको हार्दिकतापूर्ण सम्बन्ध रहेको बताए ।

उनले भने। ‘युद्धकालमा माओवादी धेरै आउने जाने गरेको ठाउँ यमुनाडाँडा हो तर यहाँ हामीले कहिले पनि अप्रिय प्रकारको घटना भोग्नु परेन । एउटा राम्रो राजनीतिक संस्कार र त्यसैबेलादेखि माओवादी र कांग्रेसका बीचमा कस्तो सहकार्य थियो भन्ने हामी सहज अनुमान लगाउन सक्छौँ । अलिकति नराम्रो रस्साकस्सी भएजस्तो पनि मलाई लाग्दैन । त्यसैले यो नेपाली कांग्रेसको सच्चा विरासत बोकेको क्षेत्र यमुनाडाँडा हो ।’

नेपाली कांग्रेसका सच्चा कार्यकर्ता तथा मतदाताले गठबन्धनको मर्म अनुसार गोलाकार भित्रको हसियाँ हथौडामा मतदान गर्न अजसहज मान्ने छैनन् भन्ने विश्वास पनि उनले व्यक्त गरे ।

उनले विगतमा कांग्रेस र माओेवादीबीच केही तितामिठा सम्बन्ध भए पनि त्यसलाई बिर्सिएर गठबन्धनको मर्मअनुसार मतदान गर्न आग्रह गरिरहेका थिए ।

२०४८ सालदेखि मोहन बस्नेतले सो क्षेत्रमा कहिले चुनाव जितेको र कहिले हारेको इतिहास रहे पनि बस्नेत सधैँ जनताको साथमा रहेको उल्लेख गर्दै सापकोटाले उनको अभाव खड्किन नदिने बताए । कांग्रेस नेता बस्नेतको पनि प्रतिनिधिको रुपमा आफू आएको बताउँदै उनले आफू निर्वाचित भएमा कांग्रेस र माओवादीबीच विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘अहिले मोहन दाइको प्रतिनिधिको रुपमा म गठबन्धन दलको साझा उम्मेदवारको हिसावले आएको छु । यस हिसावले म तपाईंहरूलाई के विश्वास दिलाउन चाहन्छुु भने तपाईंहरूको सदा विश्वास लिएर तपाईंहरूका लागि मोहन दाइले गरेको भन्दा ज्यादा मेहनत गर्नेछु । सकिनँ भने तपाईंहरूसँग मोहन दाइले गर्दै आउनुभएको व्यवहारभन्दा कमी हुन दिने छैन, चाहे त्यो राजनीतिक हिसावले होस्, चाहे सम्पर्क सम्बन्ध वा विकास निर्माण र सबै हिसावले होस् ।’

उनले पूर्व सभामुख सापकोटा र कांग्रेस नेता बस्नेतको मार्गनिर्देशनमा सो क्षेत्रमा आफू सधैँ क्रियाशील हुने बाचा गरे । आफू निर्वाचित हुँदा  माओवादीको गन्ध नदिने बरु दुवै दलको साझा जनप्रतिनिधिका रुपमा सो क्षेत्रको विकासमा खटिने उनको प्रतिबद्धता छ ।

यमुना डाँडाको सभा सकेर चुनावी घरदैलो अभियानको टोली सुनकोसी गाउँपालिकाको सुनखानी, बाँँसबोटे टोलमा पुग्यो ।

सापकोटा र उनीसँगै रहेका सोही क्षेत्रको प्रदेश १ का युवा उम्मेदवार सरल सहयात्रीले पनि पार्टी फरक रहे पनि लक्ष्य र उद्देश्य एउटै रहेकाले गठबन्धन दल बनेको र यो गठबन्धन आगामी दिनमा पनि सहकार्य गर्दै जाने भन्दै माओवादीलाई फरक नसोच्न आग्रह गरिरहेका थिए ।

स्यालेदेखि माथिल्लो भागको बाटो निर्माणका लागि पहिलो प्राथमिकता दिएर अघि बढ्ने उल्लेख गर्दै उनले निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने भएकाले सडक बनाउनका लागि आफैले पहल गरेर बजेट ल्याउने बाचा गरे । उनले आफ्नो पहलले नभ्याएमा मोहन बस्नेत, पूर्व सभामुख अग्नि सापकोटा लिएर प्रचण्ड र देउवालाई भेटेर काम पूरा गराईछाड्ने उल्लेख गरे ।

बस्नेतलाई ‘मिस’ गरेका कांग्रेस मतदाता : बस्नेतको विरासत बोक्न सापकोटालाई बाचा गराउँदै 

‘ल्हास्सो, फ्याफुल्जी, लौ है भोट माग्न आएको हामी । गठबन्धनलाई जिताउनुहोला ।’

तामाङ बाहुल्यता र कांग्रेस मतदाताको बर्चश्व रहेको सुनकोसी गाउँपालिकाको रतनकोटमा सापकोटा र सरल सहयात्री हात जोड्दै स्थानीयका घरघर पुगे । पक्षघातको बिरामी भएका एक स्थानीयलाई भेटेर उनीहरूले सहानुभूति पनि प्रकट गरे । सो क्षेत्रका कांग्रेस मतदाताका घरमा पुगेका उम्मेदवार सापकोटा र सरललाई स्थानीयले खादा माला लगाएर स्वागतमात्र गरेनन्, उनीहरूका माग सम्वोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न लगाए ।

रतनकोट गाउँको सिरानमा रहेको गुरु पद्मसंभव रिम्पुन्छेको मूर्ति स्थापना भएको ठाउँका लागि बजेट व्यवस्था गरेर विकास गर्न उनीहरूले माग गरे । साथै सो क्षेत्रको सडक विकास र विस्तारका लागि लिखित रुपमै मागपत्र पेस गरे ।

उम्मेदवार सापकोटा र सहयात्रीले गुरु रिम्पुन्छेको मूर्ति स्थापना गरेको क्षेत्रलाई पर्यटकीय स्थल बनाउन आफूहरू निर्वाचित भए लगत्तै पहलकदमी लिने बाचा गरे ।  

प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार सहयात्रीले भने, ‘गुरु रिम्पुछेको मूर्ति स्थापना भएको क्षेत्रमा के के विकास गर्न सकिन्छ, त्यो काम अघि बढाउँछौँ, यहाँको संस्कृति झल्कने गरी विकास गर्ने र यहाँ पर्यटक आइपुगेपछि केही समयमात्र भए पनि बस्न सक्ने अवस्था बनाउँछौँ ।’

यस्तै सरल सहयात्रीले सो क्षेत्रको सडक विस्तारका लागि आफू निर्वाचित भएर गएपछि बागमती प्रदेशबाट सकेसम्म बजेट पारेर विकास गर्ने र सापकोटाले केन्द्रीय सरकारबाट पहल गरेर विकासका कामलाई अघि बढाउने बाचा गरे । उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा सहज पहुँच भएकाले सो माग पूरा गर्न कुनै समस्या नहुने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक पर्दा कांग्रेसका नेता मोहन बस्नेत र पूर्व सभामुख अग्नि सापकोटाको समेत सहयोग लिएर अघि बढ्ने बाचा गरे ।

यस्तो छ सिन्धुपाल्चोक–१ को चुनावी लडाइँ : साँचो कांग्रेसको हातमा

यो क्षेत्रमा सत्ता गठबन्धन दल र एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट साझा उम्मेदवारका रुपमा माओवादीका माधव सापकोटा ‘सुवोध’ र नेकपा एमालेका सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

यता प्रदेशमा १ मा कांग्रेसकी मसिना खड्का भण्डारी र प्रदेश २ मा माओवादीका सरल सहयात्री प्रतिस्पर्धामा छन् । 

एमालेका उम्मेदवार नेपाल यसअघि बागमती प्रदेश सभा सदस्य र प्रदेश मन्त्री भइसकेका व्यक्ति हुन् भने सापकोटा पहिलो पटक चुनावी मैदानमा उत्रिएका युवा उम्मेदवार हुन् ।

गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रको पालिकामा पाएको मतविवरण हेर्दा गठबन्धन दल एमालेभन्दा बलियो देखिए पनि मुख्य निर्णायक शक्तिको रुपमा कांग्रेस छ । फरक दलका उम्मेदवार र अर्को पार्टीको चिह्नमा मतदान गर्नुपर्ने भएपछि कांग्रेसका मतदाता सापकोटासँग आफ्ना लागि प्रतिबद्धता खोजिरहेका छन् भने सापकोटाले पनि मोहन बस्नेतको आफू प्रतिनिधिको रुपमा आएको र उनको अभाव महसुस नगराउने बाचा गरिरहेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा ७ वटा पालिका पूरै र एक पालिकाको ५ वडा पर्छ । क्षेत्र नम्बर को  प्रदेश १ अन्तर्गत भोटेकोसी, बाह्रविसे, त्रिपुरासुन्दरी र लिसंखुपाखर पर्छ । यो प्रदेश क्षेत्रमा कांग्रेसबाट मसिना खड्का भण्डारी उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका युद्धविक्रम तामाङ छन् ।

यस्तै प्रदेश २ तर्फ  बलेफी, सुनकोसी, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नम्बर २, ३ ४, ९ र १० पर्छ । यो क्षेत्रमा माओवादी केन्द्रका सरल सहयात्री पौडेल उम्मेदवार बनेका छन् । उनका मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका उम्मेदवार होमनारायण श्रेष्ठ छन् ।

गत स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत हेर्दा यो क्षेत्रमा कांग्रेसले ३३ हजार ९०० मत ल्याउँदै ३४ वडाध्यक्ष, ३ स्थानीय तह प्रमुख, ६ उपप्रमुख पदमा विजय हासिल गरेको थियो ।

माओवादी केन्द्रले कूल २० हजार मत ल्याउँदा ३ स्थानीय तह प्रमुख र ५ वटा वडा जितेको थियो ।

यस्तै कुल २६ हजार मत ल्याएको एमालेले एक पालिका प्रमुख र १४ वडामा जित निकालेको थियो । यस्तै एक पालिका उपप्रमुख जितेको एकीकृत समाजवादीले २ हजार ३ सय मत पाएको थियो ।

यहाँ गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाएको मत मिसाउँदा ५६ हजार २०० हुन्छ जुन एमालेको पाएको मतभन्दा ३० हजार २०० मत बढी देखिन्छ ।

हेर्नुहोस् भिडियो :

‘अग्नि सापकोटा र मोहन बस्नेतको विरासतलाई जोगाएर अघि बढ्छु’

कांग्रेसका मतदाताले ढुक्क भएर मत गन्न तयार हुनुस् भनेका छन्

चुनावी घरदैलो अभियानमा हुनुहुन्छ । जनताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

उम्मेदवारी दर्तादेखि नै हामी घरदैलो अभियानमै छौँ । मुलतः निर्वाचन आयोगले भनेको १८ गतेदेखि औपचारिक रुपमा टिमवद्ध भएर घरदैलो अभियान सञ्चालन गरिरहेका छौँ । अहिलेसम्म भएका घरदैलो कार्यक्रमबाट म उत्साहित छु । पहिलोपटक निर्वाचन अभियानमा सहभागी छु । विगतका कमीकमजोरी, त्रुटिहरू, गुनासा, चिन्ता खुलेर हामीलाई गरिरहनु भएको छ । विगतमा जे भयो, भविष्यमा त्यो नदोहोर्‍याउनुहोस्, तपाईंहरूप्रति अहिले हामीले बढी नै आशा राखेका छौँ भन्ने कोणबाट जनता, मतदाताहरूले हामीलाई कुराहरू राखिराख्नु भएको छ । हाम्रा बीचमा विगतको समीक्षा गर्दै केही गुनासा र अनुभव राखिराख्नु भएको छ । म त्यसलाई हामीप्रतिको विश्वास हो भन्ने ठान्छु । यसले अहिले निर्वाचनको माहोलका लागि एउटा आधार पनि बनेको छ । सँगसँगै भोलि हामीले जितिसकेपछि काम गर्न एउटा सकारात्मक खबरदारी, चेतावनीको रुपमा पनि हामीले लिएका छौँ । हामीलाई विश्वास गरेर उहाँहरूले त्यो कुरा राख्नु भएको म बुझ्छु । समग्रमा आजसम्म आउँदा जनतामा जाँदा दिन प्रतिदिन उत्साह नै थपिएको छ ।

एमालेबाट उम्मेदवार बनेका प्रदेशका पूर्व मन्त्रीसँगको तपाईंको प्रतिस्पर्धा छ । कति चुनौती महसुस गरिरहनु भएको छ ?

म आफ्नो प्रतिस्पर्धीको बारेमा धेरै नकारात्मक टिप्पणी गर्न चाहन्न । उहाँ मेरो बुबाको उमेर सरह त्यही पुस्ताको प्रतिनिधि हुनुहुन्छ । उहाँले जिन्दगीको लामो समय संसदीय अभ्यासमा व्यतित गर्नु भएको छ । तपाईंले यहाँका वरपरका मतदातासँग बुझ्दा मैलेभन्दा राम्रोसँग भन्नुहुन्छ । त्यसैले गठबन्धनलाई पूर्ण रुपमा प्याक गर्न सकियो भने चुनौती होइन, संघ र प्रदेशका हामी सबै उम्मेदवारले दोब्बर मतले विजय निकाल्न सक्छौँ ।

पूर्व सभामुख अग्निप्रसाद सापकोटाको एउटा बिरासत बोकेर हिँड्नु भएको छ । त्यो बिरासत सफल रुपमा अगाडि बढाउन सक्नुहोला ?

त्यो म सक्छु । किनभने सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले नेपालको राजनीतिमा एउटा त्यागको संस्कृति सुरु गरेर पुस्तास्तरण र हस्तान्तरणको एउटा विधि सुरुवात गर्नु भएको छ । यस अर्थमा अघिल्लो पुस्तालाई बिस्थापित गरेर होइन, बढी स्थापित गरेर उहाँहरूको अनुभवलाई ल्याएर हाम्रो युवा जोस, जाँगरसँग जोडेर सकारात्मक परिणाम हासिल गर्ने हो ।

यसरी हेर्दा उहाँले मलाई प्रत्यक्ष रुपमा भोलि निर्वाचित भएपछि समग्र काम कारबाहीको संयोजन गर्नका लागि अनुभव सहित निर्देशित गर्नुहुनेछ । म जनताको ऊर्जासहित क्रियाशीलताका साथ  भौतिक, मानसिक र अरु समग्र कुराको हिसावले सक्रिय रुपमा खट्नेछु । यो दुई कुरोको तालमेल मिलाउदा अद्भुत ढंगले कामको तालमेल गर्न सकिन्छ र त्यसले पूर्ण रुपमा सफल बनाउँछ भन्नेमा मलाई आत्मविश्वास छ ।

यो क्षेत्र नेपाली कांग्रेसको प्रभाव बढी भएको क्षेत्र पनि हो । कांग्रेसको भोट पूर्ण रुपमा तपाईंतिर ट्रान्सफर हुन्छ भन्नेमा कति विश्वस्त हुनुहुन्छ ?

यो बीचको समय धेरै कांग्रेस नेता, कार्यकर्ता र मतदातासँग नै म बढी साक्षात्कारमा छु । एउटा लेवलको नेतासँग मेरो उठबस छ । किनभने म अर्काे कुनै जिल्ला, क्षेत्रबाट आएको होइन । यही जिल्ला र यही क्षेत्रमा म लामो समयदेखि क्रियाशील छु । खाली म संसदीय अभ्यासमा भइनँ । तर पनि म जनताको घरमा जाने, संगठन गर्ने, गाउँगाउँ कुद्ने कुरो सांसद नभएपनि सधैँ गरिरहेको छु । त्यसले सबै पार्टीका नेता कार्यकर्तासँग घुलमिल हुन, अन्तक्र्रिया गर्न, चिनजान गर्न केही जटिलता छैन ।

एउटा प्रश्न छ, खास गरेर नेपाली कांग्रेसका मतदाताहरूको– भोलि निर्वाचित भएपछि हामीलाई चिन्दिन भन्ने प्रकारको व्यवहार गर्नुहुन्छ कि ? तपाईंले त्यो कुरा नगर्नुहोस् । जिताउने जिम्मा हाम्रो छ भन्ने कुरा गर्नुभएको छ ।

उहाँहरूले के भन्नु भएको छ भने, ‘ढुक्क भएर भोट गन्न तयार हुनुहोस् ।’ यसरी हेर्दा खाली मैले गठबन्धनभित्रका मतदाताहरूलाई विश्वासमा लिएर सबैको साझा प्रतिनिधि भएर पाँच वर्ष कसरी काम गर्न सक्छु भन्ने चुनौती दिन प्रतिदिन मलाई थपिएको छ भन्ने महसुस गरेको छु । जित निकाल्ने र यो गठबन्धन एकताबद्ध भएर एउटा परिणाम हासिल गर्ने कुरामा हाम्रो क्षेत्रमा धेरै द्विविधा छैन ।

यो क्षेत्रका स्थानीयलाई मोहन बस्नेतले धेरै राम्रोसँग हेरेको भन्ने कुरो पनि सुनियो । कांग्रेसी मतदाताले बस्नेतलाई ‘मिस’ गरेको जस्तो देखियो । त्यसलाई तपाईंले कसरी परिपूर्णता दिनुहुन्छ ?

मैले अहिले सबै नेता, कार्यकर्ता र मतदातालाई भन्ने गरेको छु । म युवा छु । पहिलो पटक यो अभ्यासमा भाग लिँदैछु । जित्ने कुरोमा म निर्धक्कजस्तै छु । मोहन बस्नेतले भन्दा धेरै सक्रिय भएर काम गर्छु । त्यो भन्दा कम हुन दिन्न । चाहे राजनीतिक हिसावले संरक्षण गर्ने कुरो होस्, सामाजिक, सांस्कृतिक विकास निर्माण लगायतको यावत प्रश्नहरूमै किन नहोस् । भौतिक, मानसिक, शारीरिक लगायत सबै कुराका हिसाबले अहोरात्र सक्रियतापूर्वक खट्न सक्छु ।

त्यसकारण म उहाँहरू सबैको घरघरमा पुगेर, सुखदुःखको सारथि बनेर, सामीप्यमा रहेर, अन्तरक्रिया गरेर यी सबै समस्याहरूको समाधान गर्न सक्छु भन्ने मलाई आत्मविश्वास छ । यही आत्मविश्वास उहाँहरूलाई बाँड्दै हिँडिरहेको छु ।

यो क्षेत्रका लागि तपाईंले कस्ता एजेन्डा जनतामाझ लिएर आउनु भएको छ ?

मेरो एजेन्डाको कुरा गर्दा विकास निर्माणका कुरा ज्यादा जनताले गर्नुभएको छ । योजनावद्ध, दिगो र वातावरणमैत्री पूर्वाधारको बारेमा मैले अफ्नो क्षेत्रभरिका लागि सोचेको छु । जहाँ जे आवश्यकता हो, त्यो मैले भनेको छु । यही कुरो म दोहोर्‍यार भन्न चाहन्छु । योजनावद्ध, दिगो र वातावरणमैत्री पूर्वाधार विकासको बारेमा सोच्ने । शिक्षा र स्वास्थ्य प्राथमिकताको क्षेत्रमा राख्ने । मूलतः आय आर्जन, स्वरोजगार र बेरोजगारीको समस्या सम्बोधन गर्ने गरेर संघ, प्रदेश र स्थानीय सरकारको साधनश्रोत र पहुँचहरूलाई परिचालन गर्ने, निजी क्षेत्र र दातृनिकाय सबैलाई खिचेर कहीँ न कहीँ उत्पादन, आय आर्जन र स्वरोजगार गरेर बेरोजगारको समस्या न्यूनीकरण गर्दै क्रमशः हल गर्दै लाने दिशामा म कामको सुरुवात गर्छु । यी कुरा कहाँ र कसरी व्याख्या गर्नुपर्छ, त्यो गर्छु । समग्र क्षेत्रको कुरा गर्दा यी विषय मेरो प्राथमिकताको क्षेत्र र मुद्दाहरू हुन् ।

चुनावी अभियानमा गठबन्धन दलका नेता कार्यकर्ता कत्तिको सक्रिय छन् ?

समग्रमा सुरुवाती दिनहरूबाट हेर्दा हाम्रो क्षेत्र देशभरबाटै गठबन्धनको विषयलाई लिएर एउटा तरङ्ग पैदा गर्ने, देशकै ध्यान केन्द्रित गर्ने क्षेत्रको रुपमा थियो । बीचमा आउँदा गठबन्धन कतै धर्मराउँछ कि, बलियो हुँदैन कि भन्ने एउटा आशङ्का, द्विविधा प्रकारको स्थिति थियो । आजसम्मको अवस्थामा हामी उम्मेदवारलाई भन्दा गठबन्धन घटक भित्रका कांग्रेस, माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चा नेता तथा कार्यकर्ता साथीहरू हामीभन्दा बढी जोडतोडले सुदृढ बनाउनका लागि सक्रिय हुनुहुन्छ । यो हिसाबले हामी सक्रिय छौँ । शानदारपूर्वक देशभरिकै नमुना प्रकारको एउटा गठबन्धनको संस्कार र विजयको परिणाम हामी लिएर आउँदैछौँ । यही सन्देश आफ्नो क्षेत्र र देशभर म दिन चाहन्छु ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप