शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गगन र राजनको घरदैलो कार्यक्रम : अघिअघि गगन, पछिपछि राजन (फोटोफिचर)

सोमबार, २१ कात्तिक २०७९, २० : ०९
सोमबार, २१ कात्तिक २०७९

मंसिर ४ को निर्वाचनमा धेरैको चासोको क्षेत्र बनेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिस्पर्धी उम्मेदवारहरू गगन थापा र राजन भट्टराईलाई पनि अहिले अन्य उम्मेदवारहरूलाई जस्तै आफ्ना क्षेत्रका मतदाताबीच पुगेर मत माग्न र आशीर्वाद थाप्ने चटारो छ ।

अन्य उम्मेदवारहरू जस्तै दैनिक बिहान ७ बज्दानबज्दै सचिवालयले तयार गर्ने कार्यतालिका अनुसार वडा, बस्ती टोलका घरघरमा पुगेर हात जोडेर नमस्कार गर्दै मत माग्नु थापा र भट्टराईको दैनिकी बनेको हो ।​कांग्रेस महामन्त्रीसमेत रहेका थापा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने एमाले विदेश विभाग प्रमुखसमेत रहेका भट्टराई थापासँग एक्लै प्रतिस्पर्धा गरिरहेका छन् । ‘चार दिनदेखि दैनिकी यसैगरी वितेको छ, यो क्रम मंसिर १ सम्म रहन्छ । त्यसवेलासम्म सवैको घरमा पुग्न सकिन्छ सकिँदैन भन्ने चिन्ता छ’, थापाले सोमबार बुढानीलकण्ठ वडानम्बर २ सुन्दरटारमा घरदैलोका क्रममा भने, ‘मतदाताको माया र सद्भावमा कुनै कमी पाएको छैन ।’

उनले विगत ५ वर्ष त्यसै खेर गएकोमा मतदातामा समेत चिन्ता छाएको आफूले पाएको भन्दै आगामी वर्ष त्यस्तो नहोस् भन्ने चाहेको आफूले पाएको बताए । मतदाताको तागतले नै संविधान र व्यवस्थाको रक्षा गर्ने भन्दै त्यसको फैसला मंसिर ४ मा हुने थापाको भनाइ छ । ‘मतदातासँग यति ठुलो तागत छ कि उनीहरुले जे पनि गरिदिनसक्छन्’, थापाले भने, ‘अहिले मत दिन्छु भनिरहेको मतदाताको मन बदलिन पनि सक्छ ।’

त्यस्तै सोमबार नै बुढानीलकण्ठ ११ स्थित जगडोलमा घरदैलोमा भेटिएका भट्टराईले पनि यसपटक आफूलाई जनताले विश्वास गर्ने र जित निश्चित जस्तै भएको सुनाए । उनले काठमाडौं ४ आफूले गरेको काम र सोही कामका कारण एमालेप्रति बढेको आकर्षण नै जितको आधार भएको बताए । ‘म हार्दा पनि यही क्षेत्रका जनताका माझमा बसेको छु, समस्या पर्दा यहाँका जनताले राजन खोइ ? भनेर खोज्छन् । मतदाता परिवर्तनको पक्षमा छन् । स्थानीय समस्या ढल, पानी सडक लगायतका विकास निर्माणमा मैले गरेको योगदानबाट मतदाता खुसी छन्’, भट्टराईले उत्साहित हुँदै भने ।

सोमबार थापाले बुढानीलकण्ठ २ को भंगाल, सुन्दरटार, गणेशचोक लगायतका बस्तीमा घरदैलो गरेका छन् भने भट्टराईले बुढानीलकण्ठ ११ को आकाशेधारा राममन्दीर, पैयुँटार लगायतका स्थानमा पुगेर मत मागेका छन् । दुवैको मत माग्ने शैली उस्तै उस्तै देखिन्थ्यो । करिब १ मिनेट एक एक घरमा बिताएपछि अर्को घरमा पुग्ने हतारो उम्मेदवारमा देखिन्थ्यो । आइतबार थापा नेतृत्वको टोली जगडोल पुगेको थियो भने त्यसको भोलिपल्ट सोमबार भट्टराईको टोली सोही स्थान जगडोलमा घरदैलो गर्न पुगेको थियो । लगातार उम्मेदवार मत माग्न आएको देखेका जगडोलका स्थानीय शिव पौडेलले रातोपाटीसँग भने, ‘उम्मेदवारहरू अघिपछि गर्दै दिनैपिच्छे आएका छन् । गगन अघिल्लो दिन आए, भट्टराई भोलिपल्ट । यसरी हेर्दा गगन अघिअघि भट्टराई पछिपछि जस्तो देखियो । दुवैले भोट मागेर गएका छन् अव कसलाई भोट दिने भनेर मंसिर ३ सम्म सोच्छौ र निर्णय गर्छौ ।’

थापासँग प्रदेशसभा सदस्यका उम्मेदवार कांग्रेसकै श्रीराम लामिछाने र नेकपा एकीकृत समाजवादीका कुसुमकुमार कार्की तथा भटराईसँग एमालेकै जयराम थापा र तेजप्रसाद ढकालसहित समानुपातिक उम्मेदवारहरू पनि मत माग्दै हिँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप