हनी ट्रयापमा जेल पुगेपछि बलात्कारको जाहेरी, ‘आफ्टर थट’ देखिएको भन्दै धरौटीमा रिहा

हनी ट्रयापको आरोपमा जेल परेपछि जाहेरवालाविरुद्ध नै वैवाहिक बलात्कारको जाहेरी दिने महिलाको सोच ‘आफ्टर थट’मा आधारित रहेको भन्दै भक्तपुर जिल्ला अदालतले आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको इजलासले प्रतिवादीलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका हुन् ।
विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएर फरार रहेकी एक महिलाको विरुद्धमा उनका पतिले जिल्ला प्रहरी परिसरमा आपराधिक लाभ र ठगीको जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले हनी ट्रयापमा संलग्न रहेको आरोपित सिन्धुपाल्चोक घर भएकी तामाङ थरकी महिलालाई पक्राउ गरी आपराधिक लाभ र आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलाएको थियो ।
भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा आरोपित महिला कसुरदार देखिएको भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध महिला पुनरावेदनको निवेदन लिएर पाटन उच्च अदालत पुगेकी थिइन् । पाटन उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि महिलाले कागजी पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । जतिबेला उनले वैवाहिक बलात्कारको जाहेरी दिइन्, त्यतिबेला महिला जेल पुगेको ५ महिना भइसकेको थियो ।
आफू कुनै पनि हालतमा थुनामुक्त हुन नसक्ने अवस्था देखेपछि महिलाले आफ्ना कागजी पतिविरुद्ध नै वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । गत असोज १८ गते पतिविरुद्ध जाहेरी परेपछि प्रहरीले असोज २७ गते हनी ट्रयापबाट पीडित पुरुषलाई नै पक्राउ गरी मुद्दा चलाएको थियो ।
आइतबार भक्तपुर जिल्ला अदालतमा दर्ता भएको वैवाहिक बलात्कारको मुद्दामा बयान सकिएपछि वादीका तर्फबाट बहस भएको थियो । प्रतिवादीका तर्फबाट आइतबार नै बहस नसकिएपछि सोमबार हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा न्यायाधीश उमानाथ गौतमको इजलासले पछि मुद्दाको अन्तिम किनारा लाग्दा कानुन बमोजिम हुने नै गरी हाललाई धरौटीमा छाड्ने आदेश दिएका हुन् । प्रतिवादीका तर्फबाट उपस्थित वकिलहरूले महिलाले आफू जेल परेको रिस साँध्नका लागि वैवाहिक बलात्कारको उजुरी दिएको भन्दै त्यसलाई ‘आफ्टर थट मलिस’ भनी जिकिर गरेका थिए । सोही आधारमा भक्तपुर जिल्ला अदालतले महिलाको जाहेरीलाई आफ्टर थट मलिस भन्दै प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
कानुनमा ‘आफ्टर थट’ वा ‘आफ्टर थट मलिस’ भन्नाले जाहेरी वा मुद्दा परेपछि त्यही मुद्दाको प्रतिवादी वा वादीले पीडित भनिएको पक्षलाई फसाउनका लागि आफू अनुकूल हुने गरी बनावटी घटना तयार पारी जाहेरी दिने कार्य हो । आफू फसेपछि अर्को व्यक्तिलाई ‘किन त्यतिकै छाड्ने’ भन्दै जाहेरवाला वा पीडितलाई नै ‘पीडक’ भन्दै आरोपित गर्ने काम गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
-
पाथीभरा क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध