आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महिला मतदाता भन्छन्– यसपालिको भोट विकासप्रेमीलाई

सोमबार, २१ कात्तिक २०७९, १४ : २४
सोमबार, २१ कात्तिक २०७९

विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिँदैनन् । जितेर गएपछि आफ्नै दुनो सोज्याउने काम मात्र नेताहरुले गरेको उनीहरूको भनाइ छ । नेताहरूले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन् ।

वर्षौदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको महिला बताउँछन् । रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, सडक लगायतको सुविधा मिल्ने र गाउँमा विकासको लहर ल्याउने जस्ता नारा प्रत्येक चुनावका बेला हुन्छ तर उक्त आश्वासन नारामा सीमित हुने गरेको उनीहरुकोे गुनासो छ ।

पहिलेको भन्दा केही फरक भए पनि, केही परिवर्तन आए पनि अझ धेरै सकारात्मक परिवर्तनको खाँचो रहेको मतदाता बताउँछन् । दलका उम्मेदवार फेरि पनि आश्वासनको पोको लिएर घरदैलोमा पुग्न थालेका छन् । आफू जिते, गाउँगाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिँचाइ, विद्यालयलगायत सबैमा आश्वासन फेरी दोहोर्याइरहेका छन् । निर्वाचन नजिकिएपछि गाडीमा आ–आफ्ना दलका झण्डा फहराउँदै उम्मेदवार गाउँ पस्न थालेका छन् ।

पर्सा पकाहा मैनपुरकी सरस्वतीदेवी, नेताहरूले जितेको भोलिपल्टदेखि नै विकासको लहर चलाउने भनिए पनि त्यो अनुसारको कार्य कमै मात्रामा गरेको देखेका छौँ । नाला, सडक, विद्यालय लगायतमा अझ सुधार हुन बाँकी छ ।

फेरि विभिन्न आश्वासन लिएर नेताहरु घरदैलोमा आइरहेका छन् । विश्वास गर्नुको विकल्प छैन तर यसपालि सोचेर मात्रै विकास गर्ने, गरिबलाई हेर्ने व्यतिmलाई भोट दिने निर्णयमा छु । पर्साकी परवानीपुरकी सोनमती देवी भन्छिन्,‘‘गाउँमा भोट माग्न आउँदा वर्षौवर्षको चिनजान भएको जस्तो अपनत्व देखाउने गरेको भएपनि जितेपछि गुहार माग्न जाँदा चिन्दिन भन्छन् । घर बनाइदिने,  एक घर एक रोजगारीको व्यवस्था गर्ने भनेर गए तर केही गरेनन् ।’’ गाउँभरिमा विद्यालय एउटा मात्रै छ त्यसमा पनि गुणस्तरीय पढाइ नहुने गरेकाले बालबालिकाको भविष्य अन्धकारमय भइरहेको छ । 

ञयतिबेला गाउँदेखि सहरसम्म उम्मेदवार भोट माग्ने चटारोमा छन् । चुनाव जित्नका लागि मधेश प्रदेशमा राजनीतिक दलहरूले चुनावी गठबन्धन गरेर अगाडि बढेका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा मधेश प्रदेशका राजनीतिक दलका उम्मदेवारहरु आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेका छन् । लाउड स्पिकर, कार्यकर्तासहित भोट माग्दै जनताका घरदैलोमा उम्मेदवार पुग्न थालेका छन् । ग्रामीण भेगका किसानलाई भने चुनावले नछोएको पर्सा विन्दसिनीका ७० वर्षिय हरिशङ्कर प्रसाद बताउँछन् ।

उनी भन्छन्, “नेताहरु आफ्नो जरुरी परेको बेलामा मात्र आउँछन् अनि त्यसपछि कोही आउँदैनन् । हेर्नुस् न केही विकास भएको छैन हाम्रो गाउँमा । खेती किसानीका लागि खाद, सिँचाइ सबै महँगो भइसक्यो । हाम्रो समस्या बुझिदिने कोही भएनन् ।” 

स्थानीय अर्का बासिन्दा राजेश कुर्मी भन्छन्, “युवाका लागि रोजगारीको अवसर नहुँदा गाउँका अधिकांश युवाहरू यत्तिकै भौंतारिनुपरेको वा बाध्यताले विदेसिनु बाहेकको विकल्प छैन । गरिबका बालबालिकाको लागि त न गुणस्तरीय विद्यालय छ न त औषधि उपचारका लागि गुणस्तरीय स्वास्थ्य चौकी नै ।’’ पछिल्लो समय चुनावमा पढे लेखेका राम्रा व्यक्ति पनि उम्मेद्वारको रुपमा देखा पर्दा केही आशा पलाएको उनको भनाइ छ ।

पहिले निर्वाचनका बेला गरेका कुलहरू कुनै पूरा नभएपछि यसपटक पनि विकासको नारा फलाक्दै हिँडेका नेता तथा उममेदवारहरुका कुरामा धेरैले खासै चासो देखाएको पाइँदैन । सडक विस्तार, शिक्षामा सुधार, स्वास्थ्य तथा रोजगारीमा पहुँच, खानेपानी, फोहोर व्यवस्थापनलगायतका विकासका कुनै काम नभएको महिला मतदाताहरूको गुनासो रहेको छ । 

गाउँगाउँमा मतदाता शिक्षाको पनि अभाव रहेको देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई के कसरी कस्तो मतपत्रमा मतदान गर्ने हो भन्ने तरिका पनि सिकाउन अझै उम्मेदवार र तिनका प्रतिनिधिहरु नआएको उनीहरु बताउँछन् । पर्सामा पुरुष एक लाख ९४ हजार नौ सय चार, महिला एक लाख ५१ हजार आठ र अन्य १६ गरी कुल तीन लाख ४५ हजार नौ सय २८ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप