प्रजनन् समयमा जलचरको शिकार गर्ने ठकठके
‘स्यालामयानडर्रिडे’ परिवार अन्तर्गत पर्ने ठकठकेलाई पानी छेपारो, पानी गोहोरो नामले पनि चिनिन्छ । यो हेर्दा पनि छेपारो, माउसुली वा गोहोरोजस्तो देखिन्छ । यो जीवको शरीर लाम्चो र रङ्ग खैरो हुन्छ । टाउको च्याप्टो र पुच्छर धरिलो जस्तो देखिन्छ ।
ठकठकेको थुतुनोदेखि पुच्छरसम्मको औसत लम्बाई ५.३ इन्चदेखि ६.७ इन्च लामो हुन्छ । यस जीवको पिठ्युँको दुबै किनारामा लहरै गिर्खा भेटिन्छ । हालसालै हेर्पेटोलोजिस्ट तपिल प्रकाश राईको टिमले प्रकाशित गरेको शोधपत्र ‘एन अपडेटेड चेकलिस्ट अफ एम्फिबियनस् एन्ड रेपटाईल्स् अफ नेपाल’ अनुसार नेपालमा जम्मा ५७ प्रजातिको उभयचर पाइन्छ । त्यसमध्ये एक हो ठकठके । हेर्पेटोलोजिस्ट केआर खुम्बु, जनकराज खतिवडा, विवेक गौतम लगायतले पनि यसको जीवनबारे अनुसन्धान गरेका छन् ।
नेपालमा पाइने ठकठकेको प्रजातिको वैज्ञानिक नाम ‘टाईलोटोट्रिटन हिमालाएनस’ हो ।
मुख्यतः जमेको पोखरीमा बस्न रुचाउने यो जीव रातको समयमा बढी सक्रिय हुन्छ । यसले जागेको समयमा पटक पटक ‘ट्वाक, ट्वाक, ट्वाक’ आवाज निकाल्ने गर्छ । यसले आफ्नो प्रजनन् समयमा जलचरको शिकार गर्छ भने बाँकी अवधिमा थलचरको शिकार गर्छ ।
चेपागाँडा, सेतो पतेरो, लेउ, च्याउ, झुसिलकीरा, झ्याउँकिरी आदि यसको आहार प्रजाति हुन् । यो जीव मुख्यत चैत–वैशाखतिर प्रजननको लागि पानीतिर सर्छ र यसले जेठ असारतिर आफ्नो फुल पार्छ । यो जीव नेपालको पूर्वी भेग ईलाम, पाँचथर जिल्लामा पाइने अभिलेख छ ।
यो जीव अनौठो छ तर यसको संरक्षण भने हुन सकेको छैन । विगत केही वर्षदेखि ठकठकेमा अनुसन्धान गर्दै आएका हेर्पेटोलोजिस्ट विवेक गौतमका अनुसार मानवीय गतिविधिले गर्दा यस जीवको संख्या घटिरहेको छ । यो जीव पाइने पूर्वका माई पोखरी, हंस पोखरी र धारापानी पनि रहेको अनुसन्धान पत्रले देखाएको छ ।
चिया खेती, सिमसार क्षेत्रको परिमार्जन, पोखरीमा डुङ्गा चलाउने गतिविधि, पोखरीमा मिचाहा प्रजातिको माछा हाल्ने, जलप्रदुषणका कारण यो जोखिममा परेको छ । पोखरी घुम्न आउनेहरुले पनि यस जीवलाई जथाभावी समातेर दुःख दिने र मार्ने गरेको पाइएको छ ।
यो जीवको मासु खाए ढाड दुखेको समस्या समाधान हुने अन्धविश्वास छ, त्यसले गर्दा पनि केही मानिसले यसको सेवन गर्छन् । राम्रो देखिने भएकाले यसलाई विदेशमा घरमा पाल्ने गरिने भएकाले पनि यसको अवैध ओसारपसार पनि हुने गर्छ । यस जीवको संरक्षण गर्ने हेतुले यसको लागि प्रजनन संरक्षण रणनीति ‘हिमालएन न्यूट ब्रिडिङ्ग प्रोजेक्ट मास्टर प्लान’ बनेको थियो तर त्यो कार्यान्वयन भएन । यस जीवबारे दिगो अनुसन्धान हुन पनि बाँकी छ ।
यी सबै कुरालाई मध्यनजर गरेर स्थानीय सरकार, सम्बन्धित निकायले यसको संरक्षणको लागि स्थानीय जनतासँग हातेमालो गरेर कार्ययोजना बनाउनु आवश्यक छ । यस अनौठो जीवलाई संरक्षण गर्न सके पर्यटन तथा अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्नेछ ।
लेखक न्यौपाने प्राणीशास्त्रका विद्यार्थी हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध
-
तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण