बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी मध्यावधि चुनाव : डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैका लागि अग्निपरीक्षा

सोमबार, २१ कात्तिक २०७९, १२ : ०२
सोमबार, २१ कात्तिक २०७९

अमेरिकामा यतिबेला पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहि बोलिरहेका छन् जुन बराक ओबामा र वर्तमान राष्ट्रपति जो बाइडेन बोलिरहेका छन् । यो विरलै हुन्छ । पेनसिलवेनियामा एक चुनाव प्रचारका बेला एकैदिन ओबामा र बाइडेनले त्यहि भनिरहेका थिए जुन ट्रम्पले भनिरहेका थिए ।  

यी राजनीतिक प्रतिद्वन्द्वीहरूले मतदातालाई एउटा मात्र अपील गरे । ‘बाहिर निस्कनुहोस् र मतदान गर्नुहोस्’ उनीहरुले यही भनिरहेका थिए ।

बाइडेन, ओबामा र ट्रम्पले मतदातालाई मध्यावधि चुनावमा मतदान गर्न आग्रह गरिरहेका थिए ।

अमेरिकामा मंगलबार हुन लागेको मध्यावधि निर्वाचनले कंग्रेसमा कसको वर्चस्व कायम गर्ने भन्ने टुंगो लाग्नेछ ।

प्रतिनिधिसभाका सबै ४ सय ३५ सिटका लागि निर्वाचन हुँदैछ । योसँगै सिनेटका ३५ सिटमा पनि कडा प्रतिस्पर्धा हुनेछ ।

पेन्सिल्भेनियामा, सिनेटका लागि डेमोक्रेटिक उम्मेदवार जोन फेटरम्यान र रिपब्लिकन उम्मेदवार मेहमेट ओजको कम अन्तर छ । पेन्सिल्भेनियाको यो महत्व देखेर तीनै जना दिग्गज (दुई पूर्व राष्ट्रपति र वर्तमान राष्ट्रपति) यहाँ चुनावी मैदानमा उत्रिएका छन् ।

पेन्सिलभेनियाको विजयले नै ट्रम्पलाई ह्वाइट हाउसमा प्रवेश गर्न मद्दत गरेको थियो । त्यसबेला उनको चर्को भाषणलाई ब्लू–कलर वर्कर्स (श्रमिक) लाई निकै मन परेको थियो ।

त्यस पछि, सन् २०२० मा, यसको विपरित भावना र उदारवादी राजनीतिले जो बाइडेनलाई शहरी क्षेत्रमा अग्रस्थान दिलायो । बाइडेन आफ्नो गृह राज्यमा दुई प्रतिशतभन्दा कम मतको अन्तरले विजयी भए ।

फिलाडेल्फियामा शनिबार, बाइडेनले आफ्नो गृह राज्यमा हुँदा राम्रो महसुस हुने बताए । यहाँ उनले गभर्नर पदका लागि आफ्नो पार्टीका जोश शापिरोको पक्षमा प्रचार गरे ।

उनले प्रतिनिधिसभा र सिनेटमा डेमोक्रेटिक पार्टीले बहुमत नल्याए  गर्भपतन अधिकार र जनस्वास्थ्य सेवामा थप कटौती हुन सक्ने चेतावनी दिए ।

कांग्रेसको दुवै सदनमा अहिले डेमोक्रेटिक पार्टीको बहुमत भए पनि सर्वेक्षण अनुसार यहाँ पनि पराजय हुने सम्भावना छ । फिलाडेल्फियामा, बाइडेनले डेमोक्रेटिक  पार्टीलाई भोट महिलाको स्वास्थ्य, बन्दुक नियन्त्रण र स्वास्थ्य सेवाको लागि भोट हुने बताएका छन् ।

नोभेम्बर ८ मा हुने निर्वाचनलाई आखिर किन यति धेरै महत्व दिइँदै छ ? वास्तवमा यी चुनाव यस्ता छन्, जसको नतिजाले देशमा ठूलो प्रभाव पार्नेछ । अमेरिकी अर्थतन्त्र यतिबेला संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा चुनावको नतिजा पनि बाइडेनलाई भारी हुनसक्छ । तथापि, यी पाँच कारणहरू हेर्न आवश्यक छ, जसले यसलाई धेरै महत्त्वपूर्ण बनाइरहेको छ ।

गर्भपातको अधिकार वा प्रतिबन्ध

यदि कांग्रेसको स्वभाव परिवर्तन भयो भने । अर्थात् चुनावी नतिजाले यसलाई असर गर्छ भने अमेरिकीहरूको दैनिकी पनि प्रभावित हुनेछ । गर्भपतन यसको उत्कृष्ट उदाहरण हो । जुन महिनामा सर्वोच्च अदालतले गर्भपातको अधिकारलाई दिएको संवैधानिक संरक्षण हटाएको थियो । कांग्रेसमा बहुमत हुने दलले यसका लागि नयाँ ढङ्गले कानुन बनाउनेछ ।

डेमोक्रेटिक पार्टीले गर्भपातमा कानुनी पहुँच कायम राख्ने वाचा गरेको छ भने रिपब्लिकन पार्टीले गर्भपतनको १५ हप्तापछि कानुनी रूपमा गर्भपतनमा प्रतिबन्ध लगाउने वाचा गरेको छ ।

प्रदेशको कुरा गर्ने हो भने कतिपय महत्वपूर्ण प्रदेशमा गभर्नर र स्थानीय चुनावमा के हुन्छ, त्यसले ठूलो प्रभाव पार्छ । पेन्सिलभेनिया, विस्कन्सिन र मिशिगनका परिणामहरूले यसमा प्रभाव पार्न सक्छ र गर्भपतनको कानुन अझ कडा हुन सक्छ ।

के रिपब्लिकनहरूले डेमोक्रेटको छानबिन गर्नेछ ?

यदि रिपब्लिकनले जित्यो भने, अध्यागमन, धार्मिक अधिकार र हिंसात्मक अपराध सम्बन्धी मुद्दाहरू थप ध्यानाकर्षण हुन सक्छन् ।

डेमोक्र्याटहरूका लागि वातावरण, स्वास्थ्य सेवा, मताधिकार र बन्दुक नियन्त्रण जस्ता मुद्दामाथि थप ध्यान दिन सकिन्छ ।

हाउस अफ रिप्रिजेन्टेटिभ जित्ने आशामा रहेको रिपब्लिकनले जनवरी ६ मा क्यापिटल हिलमा भएको आक्रमणको अनुसन्धान बन्द गर्ने र जो बाइडेनका छोरा हन्टरको चीनसँगको व्यापारिक सम्बन्धबारे  अनुसन्धान सुरु गर्ने बताएका छन् ।

रिपब्लिकन पार्टीले बाइडेन प्रशासनको अध्यागमन नीति परिवर्तन गर्ने प्रयास पनि गर्न सक्छ । उसले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने र कोरोना भाइरसका लागि पनि चीनलाई घेर्ने कोसिस गर्न सक्छन् ।

यदि रिपब्लिकनले जित्यो भने, पार्टीले ती मानिसहरुको नियुक्तिमाथि रोक लगाउन सक्छ जसलाई बाइडेन फेडरल अदालत र महत्वपूर्ण सरकारी एजेन्सीमा काम गर्नका लागि रोजेको छ ।

जो बाइडेनको भविष्य

मध्यावधि निर्वाचनलाई सामान्यतया राष्ट्रपतिको पहिलो दुई वर्षको कार्यतालिकामा जनमत सर्वेक्षणको रूपमा हेरिन्छ । यस मामिलामा सामान्यतया सत्तारुढ दलले निराशाको सामना गर्नुपर्ने हुन्छ । बाइडेनको अप्रुभल रेटिङ निकै खराब रहेको छ ।

पछिल्ला केही समयमा डेमोक्रेटिक पार्टीको भाग्य थोरै चम्किरहेको देखिएको थियो तर महँगी दरमा बढोत्तरी र अर्थव्यवस्थासँग जोडिएका अन्य चिन्ताले यसलाई मुश्किलमा पारेको छ । कांग्रेसलाई दुवै सदनमा आफ्नो वर्चस्व कायम राख्न गाह्रो भइरहेको छ ।

आफ्नो दुई वर्षको कार्यकालमा, बाइडेनले जलवायु परिवर्तन, बन्दुक नियन्त्रण र इन्फ्रास्ट्रक्चरमा लगानी सम्बन्धि नयाँ कानुन पारित गराएको छ त्यो पनि कांग्रेसमा निकै संर्कीर्ण बहुमत भएपनि ।

दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत आएमा कांग्रेसमा डेमोक्रेटिक पार्टीले पेश गरेको विधेयकमा अवरोध आउन सक्छ ।

यदि यसो भयो भने, यसलाई बाइडेनको निरन्तर राजनीतिक कमजोरीको रूपमा हेरिनेछ र त्यसपछि सन् २०२४ को चुनावमा अर्को डेमोक्र्याट नेता दिने माग हुन सक्छ ।

के ट्रम्प फेरि चुनाव लड्नेछन् ?

पछिल्ला केही वर्षमा हारेका राष्ट्रपतिहरू चुपचाप राजनीतिबाट टाढिएका छन् । तर ट्रम्प २०२४ मा फेरि ह्वाइट हाउसमा प्रवेश गर्ने योजनामा ​​छन् । यस्तो अवस्थामा उनको दलका उम्मेदवारले मध्यावधि निर्वाचनमा सफलता पाएमा उनको आशा पूरा हुन सक्छ । उनले छनोट गरेका एक दर्जन उम्मेदवारहरू अमेरिकाभर हाई प्रोफाइल सिटमा लडिरहेका छन् ।

ट्रम्पले जर्जियाका पूर्व फुटबल खेलाडी हर्शल वाकर, पेन्सिलभेनियामा मेहमट ओज र ओहायोमा लोकप्रिय लेखक जेडी भान्सलाई अघि बढाउन सफल भएका छन् । पुराना रिपब्लिक नेताहरुको तुलनामा उनीहरुले बढी चर्चा पाइरहेका छन् । पुराना नेताहरूको विरोधका बाबजुद ट्रम्पले यी नयाँ उम्मेदवारहरूलाई समर्थन गरेका छन् ।

यदि उनीहरुले जिते भने ट्रम्प राजनीतिक रूपमा निकै चलाख मानिनेछन् । उनको कन्जरभेटिभ राजनीतिको राष्ट्रिय अपील बढ्नेछ । तर यदि रिपब्लिकन कांग्रेसमा बहुमतले टाढा रहन्छन् भने नयाँ उम्मेद्वारहरुको उनको चयन दोषी हुनेछ । यद्यपि, पूर्व राष्ट्रपतिले यी जिम्मेवारी आफूमाथि लिन सक्छन् ।

यदि नतिजा ट्रम्पलाई मनपर्ने भएन भने पार्टीमा उनका प्रतिद्वन्द्वीहरूले मौका पाउनेछन् । फ्लोरिडाका गभर्नर रोन डिसान्टिस र टेक्सासका गभर्नरले नोभेम्बरमा फेरि मतदान गर्ने तयारी गरेका छन् । यदि रिपब्लिक पार्टीको प्रदर्शन खराब रह्यो भने, उनीहरुले आफूलाई २०२४ मा राष्ट्रपतिको उम्मेदवारको रूपमा प्रस्तुत गर्न सक्छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप