शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेको गुणगान गाउँदै भोट माग्दै बोहोरा

सोमबार, २१ कात्तिक २०७९, ०९ : ४९
सोमबार, २१ कात्तिक २०७९

रुपन्देही क्षेत्र नंं. ३ मा एमाले–राप्रपा–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस नेता बालकृष्ण खाँणसँग चुनावी प्रतिस्पर्धामा छन् ।

बोहोरा यस क्षेत्रमा चतुर चुनावी रणनीति भएका नेता मानिन्छन् । मूलतः राप्रपा र एमालेको राजनीतिक तथा सैद्धान्तिक चरित्र मिल्दैन भन्ने तथ्य दुवै दलका घोषणापत्रबाट छर्लङ्ग हुन्छ । अझै राजतन्त्र र धर्म सापेक्ष हिन्दु राष्ट्र चाहिन्छ भन्दै घोषणापत्र जारी गरेर भोट माग्दै हिँडेका राप्रपाका नेतालाई यहाँका कयौँ एमाले नेता–कार्यकर्ताले त्यति रुचाएका छैनन् ।

रुपन्देही–३ मा बोहोरालाई चुनाव जित्न एमालेको पूर्ण साथ चाहिन्छ । रुपन्देही ३ मा ०७४ को निर्वाचनमा दीपक बोहोरालाई हराएका एमाले नेता घनश्याम भुसाललाई पार्टी नेतृत्वले टिकट नदिएपछि भुसालले पार्टी नै परित्याग गरेका छन् । पार्टी परित्याग गरेका भुसालले पुरानो निर्वाचन क्षेत्र रुपन्देही–३ लाई त्यागेर रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई सत्तारुढ गठबन्धनले सघाउने भएको छ ।

भुसालले पार्टी नै परित्याग गर्नुपर्ने गरी पार्टीमा विवाद सिर्जना भएपछि एमालेमा रहेका भुसाल समर्थक नेता–कार्यकर्ताले बोहरालाई नसघाउने अवस्था देखिएको छ । उनीहरूले खुलेर विरोध जनाउन भने सकेका छैनन् । एमाले भैरहवाका एक नेताले भने, ‘हिजो राजतन्त्र फाल्न लडेको एमाले फेरि त्यही राजतन्त्र चाहिन्छ, धर्म सापेक्षता चाहिन्छ भन्नेसँग मिलेको पटक्कै सुहाएको छैन, यो पार्टी नेतृत्वको स्वार्थी खेल हो, राजतन्त्रवादीलाई इमानदार एमाले कार्यकर्ताले भोट हाल्न सक्दैनन् ।’

एमालेका भुसाल समर्थक नेता कार्यकर्ताले बोहोरालाई भोट नहाल्ने देखिएपछि बोहोराले एमालेका असन्तुष्ट पक्षलाई मनाउने कोशिसमा छन् । चुनावी अभियानमा घरदैलो गरिरहेका दीपक बोहोराले ‘एमाले पनि राष्ट्रवादी शक्ति हो’ भनेर भोट माग्ने गरेका छन् । एमालेसँग कार्यगत एकता देखाउन उनले एमालेलाई ‘राष्ट्रवादी शक्ति’ को रुपमा चित्रित गर्ने गरेका छन् । उनले आफ्नो गठबन्धनले जिते अबको प्रधानमन्त्री केपी ओली हुने पनि बताउने गरेका छन् ।

नेता घनश्याम भुसाल समर्थक एमाले नेताहरू डा. रामप्रसाद बस्याल, सुरेन्द्र उपाध्याय लगायतका नेताहरूले एमाले नेतृत्वको आलोचना गर्दै आएका छन् । उनीहरूले राजनीतिक, सैैद्धान्तिक विचार नमिल्ने पार्टीसँग एमाले नेतृत्वले तालमेल गरेर भुसाल जस्तो बौद्धिक नेतालाई पाखा लगाएको भन्दै नेतृत्वको आलोचना गर्दै आएका छन् ।

एमालेका यिनै नेता कार्यकर्तालाई मिलाउन बोहोराले एमाले पनि राष्ट्रवादी शक्ति हो भन्दै आएका छन् । बोहोरा अलि अस्वस्थ भएकाले प्रायः कार्यक्रमहरुमा उनका चुनावी कमाण्डर निरन्जन थापाले भाषण गर्ने गरेका छन् । बोहोराको निर्देशन अनुसार उनकै भाषामा थापाले भोट माग्ने गरेका छन् । रुपन्देहीवासी कतिपयले दीपक बोहोरालाई ‘टुरिष्ट नेता’ (चुनावमा मात्र कार्यक्षेत्रमा देखिने पर्यटक नेता) भनी टिप्पणी गर्ने गरेका छन् ।

बोहोरामाथि लाग्ने गरेका यस्ता आरोपको खण्डन गर्न बोहोराका चुनावी कमाण्डर थापाले प्रयास गरिरहेका छन् । राप्रपा केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री समेत रहेका निरञ्जन थापाले आइतबार रुपन्देहीको बेलभरियामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘दीपक बोहरा टुरिष्ट नेता होइन, विकासप्रेमी नेता हुनुहुन्छ, उहाँलाई जिताउन तीन दलीय तालमेल गरिएको हो, सबैले इमानदारीपूर्वक भोट हालेर उहाँलाई विजयी बनाऔं ।’

उनले एमाले राष्ट्रवादी शक्ति भएकाले राप्रपाले एमालेसँग तालमेल गरेको बताए । उनले भने, ‘तीन दलीय तालमेलको प्रधानमन्त्री केपी ओली हुने कुरामा विवाद छैन, तर पाँचदलीय गठबन्धनबाट को प्रधानमन्त्री बन्ने भन्ने निश्चित छैन ।’ उनले निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग हुन सक्ने भएकाले सजग हुनुपर्ने बताए ।

उनले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतले जिताउनुपर्नेमा जोड दिए । दीपक बोहरा विकासका पूर्वाधार तयार गर्ने व्यक्तिका रुपमा चिनिने नेता भएको उनको दाबी छ । उनले गठबन्धन सरकार आएपछि राष्ट्रघातको शृङ्खला सुरु भएको भन्दै नेपाली कांग्रेसले सधैँ सत्ता केन्द्रित राजनीति गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप