शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउण्ड मोरङ–५ : बोर्डरको चिया पसलमा पिच सडकबारे विवाद, किसानलाई मलको चिन्ता

सोमबार, २१ कात्तिक २०७९, ०६ : ००
सोमबार, २१ कात्तिक २०७९

विराटनगर । रंगेलीको धनापट्टी हुँदै मधुवनी निस्कने बाटो पिचैपिच छ । लहलह धानखेतको बीचमा बनेको पिच सडक सुन्दर पनि छ । बयलगाडा पनि पिच सडकमा हिँडिरहेका छन् । कुनैकुनै ठाउँमा किसानले धान तथा कृषिजन्य वस्तुको बिस्कुन पनि सडकमै लगाएका छन् ।

चुनावको माहोल तातेकै समय पारेर उक्त सडक हुँदै रातोपाटीको टोली नेपाल–भारत सीमा क्षेत्र रंगेली–५ को धनापट्टी पुग्यो । पारी भारतको लेटी गाउँ छ । त्यहाँबाट सर्वसाधारण नेपाल–भारत आवतजावत गर्दछन् । कतिपय अवैध चोरी, तस्करीका लागि यो ठाउँ सुरक्षित छ । सुरक्षाकर्मीको उपस्थिति दुवैतिर देखिएन । दशगजा क्षेत्रमा तस्बिर लिएर सीमानामै रहेको एउटा चिया पसलमा बसिरहेका स्थानीयसँग त्यही पिचबाटोको विषयमा कुराकानी सुरु गरियो ।

‘यो बाटो कसले बनाएको हो ? धेरै राम्रो रहेछ’ भनेर हामीले चिया पसलमा चासो राख्यौं । प्रश्न सुन्ने बित्तिकै चिया पसलमै बसिरहेका राकेश मण्डलले भने, ‘यो क्षेत्रका सांसद शिवकुमार मण्डलले बनाएका हुन् ।’

राकेश माओवादीका कार्यकर्ता रहेछन् । उनको कुरा सकिन नपाउँदै जितेन्द्रकुमार झाले भने, ‘नगरपालिकाको प्रमुख को छ ? उसैले बनाएको हो नि !’

उनले रङ्गेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाललाई सडक कालोपत्रेको जस दिए । उनको कुरामा चित्त नबुझाएका अर्का स्थानीय भुवनेश्वर सिंहले भने, ‘होइन होइन यो बाटो ५ नम्बर वडामा पर्छ नि, रंगेली–५ का वडाध्यक्ष महानन्द मण्डलले बनाएका हुन् ।’

उनीहरुले बाटो कसको पालामा बनेको भन्ने विषय आ–आफ्नै दाबी गरेका थिए । यस्तो हुनुको पछाडि निर्वाचनमा जस कसले लिने भन्ने थियो । ०७४ सालको स्थानीय निर्वाचनमा माओवादीबाट रंगेलीको प्रमुखमा विजयी बनेका दिलिप अग्रवाल अहिले एमालेमा गएका छन् । वडाध्यक्ष मण्डल पनि एमालेमै छन् । दुवै जनाले गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट सोही पदमा जितेका छन् ।

चिया पसलमा कुराकानीकै क्रममा जितेन्द्रकुमार झाले यसअघिको सबै भोट खेर गएको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘४÷५ चोटी भोट हालेँ तर, भोट बर्बाद भयो । जितेर जानुभन्दा अगाडि भन्छ के अनि गर्छ के ?’

‘बाटो त बनेछ नि !’ हाम्रो चासोमा फेरि उनले जवाफ फर्काए– आफ्नो खल्तीबाट बनाएको हो र ?

त्यसपछि हामी पिचैपिच सडकबाट उत्तरतिर लाग्यौं । त्यही क्रममा सत्ता गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार पूर्वमन्त्री तथा माओवादी नेता शिवकुमार मण्डल र प्रदेशसभाका उम्मेदवार गयानन्द मण्डलको टोलीसँग भेट भयो । भेटका क्रममा रंगेली ५ का अशोक मण्डलले मल नपाएको भन्दै भोट माग्ने नेतालाई ¥याख¥याख्ती पार्न खोजे ।

‘डीएपी, युरिया, पोटासको अभाव भयो । हामीलाई मल चाहियो नि,’ ५० वर्षीय मण्डलले भने, ‘किसानको समस्या छ ।’

नेताको टोलीलाई किसानले मल नपाउनुको समस्या बताइरहेका छन् । तर, उम्मेदवार टोली भने मल नपाउनुको समस्या बताउँदै कस्तुरीको गतिमा घरदैलोमा दौडियो ।

विगतका प्रतिस्पर्धी अहिलेका सारथि

मोरङ क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका मण्डल, प्रदेशसभा (क)मा गयानन्द मण्डल र (ख)मा अमृत अर्याल चुनावी दौडमा छन् ।

शिवकुमार मण्डल र गयानन्द मण्डल यसअघिका निर्वाचनका प्रतिस्पर्धी हुन् । ०६४ सालमा देशैभर माओवादी केन्द्रले विजय प्राप्त गर्दा शिवकुमार मण्डललाई सोही क्षेत्रबाट कांग्रेसका गयानन्द मण्डलले पराजित गरेका थिए । ०७० सालमा भने देशैभर माओवादीले पराजय व्यवहोर्दा प्रदेश १ मा एकमात्र सिट शिवकुमार मण्डलले जितेका थिए ।

०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका शिवकुमार मण्डलले पुनः गयानन्दलाई पराजित गरेका थिए । अहिले पनि दुवै जना एक अर्काका सारथि भएर एक अर्कालाई भोट माग्दै चुनावी मैदानमा छन् ।

बाटोको एजेण्डा लगभग सकियो : मण्डल

प्रतिनिधिसभाका उम्मेदवार शिवकुमार मण्डलले आफ्नो क्षेत्रमा रहेको रंगेलीमा सडक निर्माणका ठूला योजनाको लागि अब भोट माग्नु नपर्ने बताएका छन् । ‘लगभग सबै सडक निर्माण भइसकेको छ । अब बाटो र सडक बनाउने एजेण्डा लगभग सकियो । केन्द्र अन्तर्गत पिच गर्ने काम छैन । प्रदेश र स्थानीय तहका सानातिना योजना भने छन्,’ उनी भन्छन्, ‘५ वर्ष अगाडि जनताको चाहना बाटो, बिजुली, स्वास्थ्य र शिक्षाको समस्या थियो, त्यो धेरै हदसम्म सम्बोधन भएको छ ।’

मण्डलले रंगेलीमा बाटो बनिसकेको, इन्जिनियरिङ कलेज स्थापना भएको, रिङ रोड निर्माण सुरु भएको, गाउँगाउँमा बिजुली पु¥याउने काम भएको फेहरिस्त सुनाए । रंगेली अस्पतालको स्तरोन्नति भएको र रंगेलीको धार्मिक पर्यटकीयस्थल संसारीमाईस्थानमा हजारौंको संख्यामा भारतबाटसमेत भक्तालुहरु आउने अवस्था बनेको उनको दाबी छ ।

‘आगामी दिनमा चाहिँ बेरोजगार समस्या कसरी हल गर्न सकिन्छ भन्ने मेरो ध्यान छ । अहिले विराटनगर–रंगेलीको लाइनमा ३३ केभिए लाइन चलेको छ । अब उद्योग चल्न कुनै समस्या हुँदेन । यसले रोजगारी सिर्जना गर्छ,’ मण्डल भन्छन्, ‘किसानले सिंचाई, मलखादको कुरा उठाइरहेका छन् । आगामी ५ वर्षमा किसानका मूलभूत मुद्दा र यो क्षेत्रमा उद्योगहरु संचालन गर्न, थप उद्योग स्थापना गर्न मेरो प्रयास हुनेछ । किसानलाई आत्मनिर्भर हुनेगरी कृषिमा औद्योगिकरण गर्ने तिर मेरो ध्यान छ ।’

इलेक्ट्रिकल बोरिङमा ध्यान

प्रदेशसभामा उम्मेदवार बनेका गयानन्द मण्डलले भने आफ्नो ध्यान किसानको मुद्दामा केन्द्रित हुने बताए । ‘म किसान हुँ । किसानको नेतृत्व गर्ने हो मैले । २० वर्ष अगाडिदेखि नै मैले किसानको कुरा उठाएको छु । किसानको मलको समस्या हल गर्न सरकारले ५ वर्षका लागि मलको सम्झौता गर्नुपर्छ । एकैपटक मल ल्याएर स्टोर गर्नुपर्छ । त्यो साल्ट टे«डिङले भए पनि कृषि समाग्री कम्पनीले भए पनि गर्नुपर्छ,’ उनी भन्छन्, ‘म सिंचाईमा पनि जोड दिन्छु । नेपाल जलस्रोतमा धनी भए पनि सिंचाईको व्यवस्था छैन । हरेक १० बिगाहा जग्गामा इलेक्ट्रिक बोरिङ राख्ने मेरो प्रतिबद्धता छ ।’

आफूले जितेको खण्डमा किसानका लागि सिंचाई, मलखाद, बिउ, नागरिकता र स्वरोजगारको समस्या समाधान गर्ने विषयलाई प्राथमिकता दिने उनको भनाइ छ ।

गठबन्धनले जित हासिल गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रतिस्पर्धी कस्ता ?

मोरङको निर्वाचन क्षेत्र ५ मा ८ जना स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता शिवकुमार मण्डल उम्मेदवार बन्दा एमाले र जसपाका संयुक्त उम्मेदवार राजकुमार यादव प्रतिस्पर्धामा छन् ।

सो क्षेत्रमा राप्रपाबाट रेवतबहादुर थापा, जनमत पार्टीबाट परमेश्वर मुर्मु, हाम्रो नेपाली पार्टीबाट फिरोजकुमार साह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल लोकतान्त्रिक पार्टीबाट मजबुल रहमान मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार मण्डल दलीय उम्मेदवार हुन् ।

यसबाहेक रमेशकुमार यादव, विद्याभूषण प्रसाद, मोहमद रेजा हुसैन, सन्जु शर्मा वडइ, गयानन्द मण्डल केवरत, रामप्रसाद मुखिया, योगेन्द्र मण्डल र मनोजकुमार मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिने योगेन्द्र मण्डल नेकपा एमालेका नेता हुन् । जसपासँगको सहमतिमा एमालेले सो क्षेत्र छोडेपछि उनले असन्तुष्टि व्यक्त गर्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत निम्नानुसार छ ।

कांग्रेस १९,४९८

एमाले १५,६८०

जसपा १३,२४९

माओवादी ११,६२८

राप्रपा १,८८७

लोसपा ७५२

एकीकृत समाजवादी ६०८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप