शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संवेदनशील मतदानस्थल तथा केन्द्रको अनुगमन

आइतबार, २० कात्तिक २०७९, २२ : ५४
आइतबार, २० कात्तिक २०७९

मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्की जिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ । समितिले आज मादी गाउँपालिकाअन्तर्गत वडा नं ३ ताङतिङस्थित वडा कार्यालयको नयाँ भवन, वडा नं ४ याङजाकोटस्थित सीताराम माध्यमिक विद्यालय, वडा नं २ ताङतिङस्थित हिमालय मिलन मावि सहितका तीन ठाँउमा मतदानस्थलको अनुगमन गरेको हो । टोलीले मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङसँग यस क्षेत्रको अवस्था लगायतमा जानकारी लिएको थियो ।

अनुगमनमा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको नेतृत्वमा कास्कीका सुरक्षा निकायका प्रमुखहरू, भगवती दल गुल्मका गणपति प्रमुख सेनानी सञ्जयकुमार खत्री, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक अजय केसी, सशस्त्र प्रहरी उपरीक्षक विजय केसी, उपअनुसन्धान निर्देशक मनोज ढकाल तथा जनप्रतिनिधि पत्रकार लगायतको उपस्थिति थियो ।    

जिल्लाका अधिकांश मतदानस्थलको अनुगमन सकिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेका छन् ।

मतदान केन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागि गर्न सकिने उपायका विषयमा कास्कीस्थित सम्पूर्ण मतदान केन्द्रमा जनप्रतिनिधि तथा स्थानीय समुदायसँग सुरक्षा समितिले छलफल गरेको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार टोलीले कास्कीका एक सय ५० मतदानस्थलका अधिकांश मतदान केन्द्रको अनुगमन सम्पन्न गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप