शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर–लालबाबुको क्षेत्रका मतदाताको गुनासो : न मन्दिर बन्यो न शौचालय !

नागरिकता नहुँदा कतिपय व्यक्ति भोट हाल्नबाट वञ्चित
आइतबार, २० कात्तिक २०७९, १७ : ५२
आइतबार, २० कात्तिक २०७९

विराटनगर उपमहानगर–४ खारजी कोहबरा सुकुमबासी टोलका हिरालाल ऋषिदेवले ३ वर्ष पहिले शौचालय बनाउन भनेर इँटा ल्याए । तर, अर्काको जग्गामा बसेका उनलाई जग्गाधनीले पक्की शौचालय बनाउन दिएनन् । 
मंसिर ४ गते निर्वाचनले हिरालालको टोलमा पनि घर घरमा झण्डा टाँग्ने होडबाजी चलेको छ । आइतबार बिहानै सीके राउतका राष्ट्रिय जनमत पार्टीका कार्यकर्ताले चुनावचिन्ह अंकित झण्डा टोलै भरी छोडेर हिँडेका छन् ।

हजुरबाको पालादेखि कुनै एक पार्टीमा भोट हालेको बताउने मोरङ निर्वाचन क्षेत्र नम्बर –६ ​का उनले मात्र आश्वासनका पोका सधैँजसो सुनिरहेका छन् । तर, उनको टोलमा शौचालय बनाउने, पक्की बाटो बनाउने कुरा त परै जाओस्, आफ्नो समुदायको आस्थाको धरोहर दिनाभद्री मन्दिरका लागि सानो छाप्रो बनाउन समेत सकेका छैनन् । 

‘भोटको बेला विकास गर्छु भन्छन् । ३ वर्ष भयो ट्वाइलेट बनाउन भनेर इँटा झारेको । तर, बनाउनै दिँदैनन् । जग्गावालाले राम्रो घर पनि बनाउन दिँदैन,’ हिरालाल भन्छन्, ‘यहाँ वर्षामा धेरै हिलो हुन्छ । नेतालाई तपाईंहरु त पिचमा हिंड्नुहुन्छ, हामीलाई पनि अलिकति गिट्टी हालिदिनु नि भन्छु ।’ चुनावको बेला उनको टोलको समस्या सुनुवाइ भएपनि अघिपछि ज्यूँका त्यूँ हुन्छ । 

यसअघि एमालेबाट जितेर गएका लालबाबु पण्डितले दिनाभद्रीको मन्दिर बनाइदिन्छु भनेका थिए । तर, जितेर गएपछि फर्केर नआएको उनको गुनासो छ । ‘फोन गर्दा पनि फर्केर आएनन्’, उनले भने । 
त्यसो त उनलाई काँग्रेस नेता शेखर कोइरालादेखि पनि रिस उठेको छ । ०७४ सालमा पराजित भएपनि यसअघि धेरै पटक कोइरालाले जितेको तर काम नगरिदिएको उनको भनाइ छ । ‘मन्दिर बनाइदिएको भए हुन्थ्यो नि,’ उनी भन्छन्, ‘मन्दिर बनाउने त कसम खाएरै गएका थिए । लालबाबुले त झन् जितेर गएपछि चारैतिर चकाचक पार्दिन्छु भनेका थिए, तर, खोइ ? ।’ 

आफ्नो टोलमा बाटो बनाउन खोज्दा २४ फिटको हुनुपर्यो भनेर नगरपालिकाले भन्ने गरेकोबारे प्रश्न गर्दै उनी भन्छन्, ‘आफ्नै घर ५ धुरमा छ, अर्काको जग्गामा २४ फिटको बाटो कहाँबाट बनाउनु ?’
सोही टोलका अमल ऋषिदेव धान काट्न डोरी कम्मरमा बाँधेर हिँड्न ठिक्क परेका थिए । उनलाई पनि हामीले निर्वाचनबारे कुरा खोतल्ने प्रयास गर्यौं । उनले भने, ‘हाम्रा हजुरबाहरुले जंगल फाँडेर बसेको ठाउँ हो यो, ९० सालको भूकम्पमा हाम्रो बुबा १५/१६ वर्षको हुनुहुन्थ्यो । विराटनगरको सबैभन्दा पुरानो मुसहर वस्ती हो यो । पढेलेखेका मानिसहरुले आफ्नो नाममा जग्गा पास गर्दै गए, हाम्रो बाउबाजेले त्यो जानेनन्, त्यसपछि हामी सुकुमबासी भयौं  । त्यसयता जस्ताको तस्तै छौं ।’

सोही टोलकी करिब ८० वर्षीय मालोदेवी ऋषिदेवसँग नागरिकता छैन । सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउने उमेर आफ्नो पनि भयो भन्ने उनलाई थाहा छ । तर, उनले नागरिकता नभएकै कारण भत्ताबाट वञ्चित छिन् । पहिले धेरै पटक भोट दिएको उनी बताउँछिन् । तर, अहिले उनले भोट दिन पाउँदिनन् । 

‘पहिले सानो चिट जस्तो दिन्थ्यो, त्यसको आधारमा भोट हाल्न पाइन्थ्यो,’ उनै मालोदेवीलाई देखाउँदै अमल ऋषिदेव भन्छन्, ‘नागरिकता अनिवार्य गरेपछि भोट हाल्न पाउनु भएन, भत्ता पनि पाउनु भएन ।’ उनको श्रीमान् र छोराको वंशजकै आधारमा नागरिकता छ । तर, उनको नागरिकता छैन ।

उनीजस्तै नागरिकताको समस्या उक्त टोलमा धेरैको छ । ६० घर परिवार बसेको सो टोलमा ५० जनाभन्दा बढीसँग मतदाता परिचयपत्र छ । नागरिकता नभएकाहरु त्यतिकै संख्यामा छन् । ‘नागरिकता बनाउने भनेर जितेर गए तर अहिलेसम्म नागरिकता बनेन,’ दुखनीदेवी ऋषिदेवले दुःखेसो पोखिन् ।

शेखर र लालबाबुको भीडन्त 
मोरङ–६ मा यस पटक मुख्यतः पुरानै प्रतिस्पर्धीको रोचक भीडन्त हुँदैछ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता डा शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेदवार छन् । 

पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए । यसपाली त्यसको बदला लिने दाउमा कोइराला छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका पण्डितले ६ सय मतले कोइरालालाई पराजित गरेका थिए । 

प्रदेशसभा ६ (क) मा गठबन्धबाट माओवादीका जीवन आचार्य र एमालेबाट रिता न्यौपाने उम्मेद्वार छन् । यस्तै ६ (ख) मा गठबन्धनबाट काँग्रेसका केदार कार्की र एमालेबाट कृष्ण बस्नेत उम्मेदवार रहेका छन् । 

उक्त निर्वाचन क्षेत्रमामा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतअनुसार काँग्रेस २७०८६ ल्याई अगाडि छ । त्यस्तै, एमाले २४५५६, माओवादी ४९९६, जसपा ३९३९, राप्रपा ३११५, एस २३५५ र लोसपाले ८९५ मत पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप