शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

यस चुनावपछि मधेस आश्रित दलहरूको अस्तित्व संकटमा छ ः विश्लेषक चन्द्र किशोर (भिडियो)

आइतबार, २० कात्तिक २०७९, १६ : १७
आइतबार, २० कात्तिक २०७९

लेखक तथा विश्लेषक चन्द्र किशोरले यस चुनावपछि मधेसकेन्द्रित दल (उनको भाषामा मधेस आश्रित दल)हरूको अस्तित्व संकटमा पर्ने बताएका छन् । यसपालिको निर्वाचन सिट जित्नमा मात्रै केन्द्रित रहेको र पार्टीहरूले जनताका मुद्दा छाडेको उनको विश्लेषण छ । शनिबार रातोपाटी टिमसँग भएको भिडियो अन्तर्वार्तामा उनले भने, ‘मुद्दाहरू हामीले अखबारमा मात्रै देख्छौँ, यसपालि भुइँमान्छेका अप्ठेरा र असजिलाहरू चुनावी मुद्दा बन्न सकेका छैनन् ।’ यो प्रवृत्ति वा कमजोरी देशका सबै पार्टीमा देखिएको उनको भनाइ छ । 

अहिले मधेस आश्रित दलहरू मधेसका मुद्दाबाट टाढिएको र यसको फाइदा नेपाली कांग्रेसले उठाउन लागेको समेत उनले विश्लेषण गरे । ‘यतिखेर मधेसमा वैकल्पिक शक्ति छैन । कांग्रेस सच्चिएर र सुध्रिएर फाइदा लिने होइन, मधेस आश्रित दलहरू कमजोर भएकाले उसलाई फाइदा पुगेको हो,’ उनले भने । यसपालि मधेसमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच भएको गठबन्धन अप्राकृतिक रहेको पनि उनको भनाइ छ । ‘यो तात्कालिक चुनावी रणनीतिका लागि मात्रै हो,’ उनले भने, ‘मधेसमा एमालेलाई बलियो बैशाखी चाहिएको थियो भने जसपालाई ठूलो भाग चाहिएको थियो । एमालेको सत्ताको अश्वमेध यज्ञको घोडालाई रोक्ने काम पनि मधेस प्रदेशले गर्दै आएको थियो ।’

यी दुवै पार्टीको विचार र व्यवहार नमिले पनि सत्ताका लागि गठबन्धन गरेको उनको भनाइ छ । गठबन्धनको अभ्यास हालै सम्पन्न स्थानीय निर्वाचनमा जुन प्रकारले भएको थियो, त्यसको ठीक उल्टो प्रकारको गठबन्धन आसन्न प्रतिनिधि तथा प्रदेशसभा हुँदै छ । यसले हालको गठबन्धन चुनावपछि रहन्छ कि रहँदैन भन्नेमा कार्यकर्ता सन्देहमा रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप