सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रुपन्देही–२ को भोट बैंक ‘सुकुमवासी बस्ती’मा तानातान्

आइतबार, २० कात्तिक २०७९, १४ : ५४
आइतबार, २० कात्तिक २०७९

-भुवन कार्की
बुटवल उपमहानगरपालिकाको वडा नं. ११ देखि १३ सम्मका मुख्य सुकुमवासी बस्ती नै यहाँको भोट बैंकको रुपमा परिचित छन् । हरेक चुनावमा उम्मेदवारहरू यी बस्तीमा पहिले पुग्ने गर्दछन् । रुपन्देही क्षेत्र नं. २ मा पर्ने यी सुकुमवासी बस्तीका भोट नै निर्णायक हुने गरेकाले उम्मेदवारहरुको पहिलो रोजाइमा यो बस्ती पर्ने गरेको छ ।

बुटवल उमहानगरका देवीनगर, प्रगतिनगर, मजुवा, हात्तीसुँढ लगायतका सुकुमवासी बस्तीमा भोट संख्या पनि धेरै छ । त्यसैले हरेक निर्वाचनका बेला यहाँका मतदातालाई प्रभावित पार्न विभिन्न प्रलोभन देखाउने गरिन्छ ।

चुनावको बेला यी बस्तीका मतदाता तानातानमा पर्दछन् । यसअघि रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ तीन पटक निरन्तर चुनाव जितेका एमाले नेता विष्णु पौडेलले पनि विगतमा यो बस्तीको राम्रो साथ पाएका थिए । तर बाचा अनुसार सुकुमवासीलाई लालपुर्जा उपलब्ध गराउन नसकेपछि उनलाई अहिले नैतिक संकट परेको नेताहरु बताउँछन् । त्यसैले होला अहिले उनी यो बस्तीमा सबैतिर पुगिसकेका छैनन् ।

विगतमा यी बस्तीलाई लालपुर्जा दिलाइदिने प्रलोभन देखाएर भोट मागेका पौडेललाई यसपटक ती बस्तीमा पुुग्न असजिलो भएको देवीनगरका स्थानीय केशव क्षेत्रीको अनुमान छ । उनले भने, ‘लालपुर्जा पाउने आशामा विष्णु पौडेललाई धेरै पटक भोट हालेर जितायौं, तर अहिलेसम्म लालपुर्जा पाउन सकेनौं ।’

सडक, खानेपानी लगायतका सबै पूर्वाधार भएर पनि देवीनगरबासी अझै सुकुमवासीका रुपमा रहेको भन्दै क्षेत्रीले पौडलले बाचा गरे अनुसार काम गर्न नसकेको गुनासो गरे । उनले भने, ‘चुनावको बेला सबै दलका नेताले लालपुर्जा दिलाउने आश्वासन दिन्छन् तर कसैले पनि पहल गरेनन् ।’

तीन दशक पुरानो बस्ती भए पनि सुकुमवासी जमिन भएकाले मानिसहरुले पक्की घर निर्माण गर्न नसकेको, सुकुमवासी बस्तीको जमिनलाई बैंकले ऋण दिन नसक्ने आदि कारणले आफूहरू झन् पछि परेको क्षेत्रीको भनाइ छ ।

मजुवाका अर्का समाजसेवी विकास चौधरीले भने, ‘बुटवल जस्तो नगरको छेउमा बसेका हामी सुकुमवासी बस्तीका बासिन्दालाई नेताहरुले केवल भोट बैंकको रुपमा मात्र प्रयोग गरे, हामीलाई लालपुर्जा दिलाउन सकेनन् ।’

चुनावको बेला भोट माग्न आउने नेतालाई आफूले यही प्रश्न गर्ने गरेको उनले बताए ।

आर्थिक अवस्था नाजुक भएका यी बस्तीका मानिसहरु चुनावको बेला विभिन्न प्रलोभनमा पर्ने गरेका छन् । कतिपयले चुनावको मुखमा पार्टी परिवर्तन समेत गर्ने गरेका छन् । शनिबार मात्र बुटवल उपमहानगरको वडा नं. ११ मजुवाबाट नेकपा एमाले लगायत विभिन्न राजनीतिक दलका ७५ जना कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अघिल्ला निर्वाचनमा आफ्ना बाचा पूरा नभएको भन्दै उनीहरुले पार्टी परिवर्तन गरेको बताए ।

स्थानीय माओवादी केन्द्रकी नेतृ सीता शाहीको अगुवाईमा ७५ जना अन्य पार्टीका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको उक्त पार्टीका वडा सचिव शत्रुघन शाहले जानकारी दिए । उक्त बस्तीका बन्दना रावल, निजबहादुर खत्री, गीता गुरुङ, सुस्मिता परियार, अस्मिता देवकोटा, सुरज धोबी, कल्पना थापा, निर्मला घिमिरे, वविता थापा, धनबहादुर विक, कुमार नेपाली लगायतका स्थानीय कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका शाहले बताए ।

एक कार्यक्रमबीच पार्टीमा प्रवेश गराउँदै माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसालले माओवादी केन्द्र र गठवन्धनको सरकारले मात्र जनताको समस्या बुझेको भन्दै सुकुमवासी बस्तीलाई लालपुर्जा दिलाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका सत्तारुढ गठबन्धनको समेत साथ पाएका उम्मेदवार केशवबहादुर थापा (सुर्यवंशी) ले पनि यी बस्तीमा घरदैलो अभियान जारी राखेको माओवादी केन्द्रका क्षेत्रीय संयोजक मनोज रानाले जानकारी दिए । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार थापालाई समर्थन गरेको छ ।

यो निर्वाचन क्षेत्रमा एमाले उपाध्यक्ष विष्णु पौडेल यसपटक पनि प्रतिस्पर्धामा छन् । गुरुङको उम्मेदवारी खारेज भएपछि जित सहज ठानेको एमालेले पहिलेजस्तो आक्रामक चुनावी अभियान चलाएको छैन । प्रदेशसभाका उम्मेदवारहरु भने धेरै खटेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप