चुनावमा मतदान होइन, मतको मूल्य खोजौँ
“जंगल फाँडिदै थियो
तर,
सारा रुखहरु
बन्चरोकै पक्षमा भोट खसाल्दै थिए ।
बन्चराहरु सोच्दै थिए,
बन्चरोको फलामसँग, जुन काठ जोडिएको छ
हो, त्यो काठ त, आफ्नै जातको न हो ।
आफ्नो मान्छेलाई भोट नहालेर कसलाई हाल्नु त ?”
यो टर्किस कविताको भावानुवाद हो । यो कविताले प्रत्येक रुखको पीडा प्रतिविम्ब गर्छ । वन्चरोलाई भोट हाल्ने रुखहरु कालान्तरमा सोही बन्चरोबाटै काटिए । आम नेपालीमा यस खालको चेतना हुन जरुरी छ । विभिन्न आकार दिन आरनमा राखिएका फलामजस्तै, अहिले उम्मेदवार र पार्टी कार्यकर्ताहरु पनि उत्साहित भई तातिएका छन् । कतै हामीले भोट हालेका जिताएकाहरुले पछि हामीलाई नै प्रहार गर्ने त होइनन् ?
७ सय ५३ स्थानीय तहको चुनाव ३० वैशाखमा सम्पन्न भएपछि स्थानीय सरकारले जनताका मौलिक हक अधिकारलाई ध्यान दिँदै आफ्ना काम कार्वाहीहरु अगाडि बढाइरहेको छ । ४ मंसीरमा प्रदेश र संघीय सांसदका प्रतिनिधिको निर्वाचन दिनप्रतिदिन नजिकिँदैछ, सबै दलहरु चुनावी प्रचार प्रसारमा अहोरात्र खटिएका छन् ।
चुनावी घोषणापत्र र त्यसले दिने परिणामले प्रत्येक नेपालीलाई लाभान्वित गर्नुपर्दछ, ता कि आमजनताले देखेका सपना आफूले रोजेका जनप्रतिनिधिहरुले साकार पार्न सकुन् । त्यसैले आफ्नो भोटको सदुपयोग गर्न जरुरी छ ।
हामीले दिएका मतले हाम्रा मौलिक हक अधिकार, प्रजनन अधिकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिकका स्वास्थ्य अधिकार, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारलगायत अन्य सम्बन्धित मुद्दासहित महत्वपूर्ण प्रस्तावमा हाम्रा घरदैलोमा आउने उम्मेदवारहरुलाई प्रतिवद्धता गराउन सक्नु पर्दछ ।
चुनाव हुनु पहिल्यै, हामी आफ्नो परिवार र आफ्ना समुदायको जीवनस्तर सुधार गर्न मुख्य निर्णय लिन सक्नु पर्दछ । भोटिङ भनेको किफायती आवास, आर्थिक न्याय, वातावरण संरक्षण, गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारमात्र नभई आत्मसम्मान, पहिचान, साँस्कृतिक अधिकार, विभेदमुक्त समाज निर्माण लगायतका मुद्दा स्थापित गर्ने मौका पनि हो ।
त्यसैले, मत हाल्नुको अर्थ महत्वपूर्ण स्थानीय मुद्दा मतदाताले निर्धारण गर्नुपर्दछ, जसले एकल मतले पनि थप सांख्यिकीय रूपमा अर्थपूर्ण बनाउन मद्दत गरोस् । विभिन्न दलका चुनावी घोषणापत्र समयसापेक्ष लोकप्रिय नहुन पनि सक्छन् । क्षणिक समयका लागि आकर्षण दिने खालका, मोहित बनाउने आर्थिक प्रलोभन जस्ता तत्वले हामी र हाम्रा समुदायलाई दीर्घकालिन प्रतिकुल असर पार्न सक्ने पनि हुन सक्छन् । त्यसैले, तपाईं, हामी आफ्ना समुदायका अन्य सीमान्तकृत, भूइँमान्छेहरुलाई पनि सजग गराउनमा भूमिका खेल्नुपर्दछ ।
अब हामी चुनावमा ‘मत दान’ गर्ने होइन, मत दिने हो, ता कि आफ्नो मतको मूल्य हामीले माँग्न सकौ, प्रतिनिधिहरुलाई जवाफदेही बनाउन सकौँ । विगतका चुनाव हेर्दा विभिन्न खालका सपना गाउँवस्तीमा बाँडिएका थिए । ती वस्तीहरु अहिले पनि सपनामै सजिएका छन् । बाटोघाटो, पुलपुलेसा, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित आवास, रोजगार, आर्थिक उन्नती, जीवनस्तर काल्पनिक रंगीन दुनियाँमा सीमित छन् ।
त्यसैले हुन सक्छ, सामाजिक सञ्जालका भित्ताभरि आक्रोश र क्रोधयुक्त अभिव्यक्ति छताछुल्ल देखिन्छ । मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गर्नबाट निरुत्साहित गर्ने स्टाटस देखिन्छ । किनकि अन्तिम पटक भन्नेहरुले अघिल्लो पटक खासै आफ्नो क्षेत्रमा विकास गरेको देखिन्नँ ।
हामीले कुनै न कुनै रूपमा, प्रत्येक नागरिकले राज्यलाई कर तिर्छौ । अझ धेरैलाई थाहा छैन कि त्यो कर कसरी प्रयोग भइरहेको छ ? मतदान भनेको हामीले राज्यलाई तिरेको करबाट उठेको रुपैयाँ कसरी खर्च गरिन्छ भन्ने छनौट गर्ने मौका हो । जस्तै नागरिकको स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, भौतिक पूर्वाधार तथा विकास, सामाजिक तथा सांस्कृतिक विकास, आर्थिक उन्नती जस्ता सेवाहरूमा पारदर्शिता र जवाफदेहिता खोज्ने अवसर हो । यस्ता खालका विशेष प्रस्ताव र मतपत्र मापनमा हाम्रा भोट, साथै हाम्रो समुदायमा आवश्यक प्रमुख सामाजिक सेवाहरूलाई समर्थन गर्न प्रतिबद्ध नेतृत्व चयन गर्ने सुअवसर हो ।
चुनाव प्रक्रियामा भाग लिनु भनेको समाज परिवर्तनको अवसर हो । समुदायमा सकारात्मक प्रभाव पार्न हामीले दिएको मतले अनुकुल पार्दछ । लैङ्गिक तथा यौनिक अल्पसंख्यकका आत्मसम्मानको अधिकार, समलिङ्गी विवाह, प्रजनन अधिकार, वातावरणीय मुद्दा, सार्वजनिक शिक्षा (यतिमै सीमित छैन) लगायत निर्वाचनबाट प्रभावित धेरै सामाजिक समस्या छन् । सामाजिक एजेन्डा न्युनीकरण तथा समाधानको लागि नेतृत्वकर्ताले पहल गर्ने भएकोले सही नेतृत्व चयन गर्न चुनावलाई अवसरको रुपमा लिनुपर्दछ ।
हाम्रो समुदायको विकास वर्ग, जाति, लिङ्ग, भूगोल, अल्पसंख्यक, पिछडा वर्गका चेतनामा निर्भर छ । त्यसैले समुदायमा रहेका कतिपयलाई मतदान कत्तिको महत्त्वपूर्ण छ भन्ने थाहा नहुन सक्छ । मतदान शिक्षाको बारेमा धेरै अनभिज्ञ हुन सक्छन्, त्यस्ता समुदायको मतदाता शिक्षामा सहयोग गर्न जरुरी छ । आफ्नो र आफ्नो समुदायको समग्र विकासका लागि आवाज बन्न पनि भोट हाल्न प्रेरित गर्न जरुरी छ ।
कतिपय अवस्थामा उमेरको योग्यताले पनि हामी भोट हाल्न पाउँदैनौ तर यसमा निराश हुन जरुरी छैन । यस्तो अवस्थामा पनि हामीले मूल्याङ्कन गरेका योग्य, कुशल नेतृत्व छनौट गर्न आफ्ना समुदायमा रहेका निरक्षर, चेतना स्तर कम भएकालाई मद्दत गर्न सक्छौ । हाम्रा समुदायका तत्कालीन आवश्यक्ता, सामाजिक मुद्दा, विकास पूर्वाधारका सवाल, मौलिक हकअधिकार सुनिश्चितता लगायतका सवाल पहिचान र प्राथमिकीकरणमा बोध गराउन सक्दछौ । विभिन्न दलका घोषणा तथा प्रस्तावहरुको बारेमा जानकारी लिई समुदायलाई सचेत गराउन भूमिका खेल्न सक्छौँ ।
अब हामी राजनीतिको भ्रमबाट बाहिर निस्कौँ र आम समुदायसँग चेतनाको लागि संवाद गरौँ, अन्तरक्रिया गरौँ । सार्वजनिक मञ्चहरुमा आम नागरिकका आवश्यकताको लागि बहस गरौँ । एक अर्काका मुद्दाहरु समानुभूत गरौं । चुनावपूर्व एक सचेत नागरिकको भूमिका निर्वाह गरौं ।
अब माथि उल्लिखित कविताका पंक्तिमा रुखहरुले पीडा सहेर, आफ्ना जाति बिंडलाई मतदान गरेर धोका पाएजस्तो नभइ एक कुशल नेतृत्वको चयनको लागि आफ्ना मताधिकार प्रयोग गरौ । चुनावमा मतदान होइन, मतको मूल्य खोजौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
-
प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित