शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन– १ मा एमालेलाई विरासत जोगाउने चुनौती, दोस्रो जितको खोजीमा कांग्रेस

​पूर्वअर्थमन्त्री पाण्डे र अर्थविद् पौडेलबीच भिडन्त
आइतबार, २० कात्तिक २०७९, ११ : ३६
आइतबार, २० कात्तिक २०७९

प्रतिनिधिसभातर्फ चितवन–१ मा विगतदेखि नै एमालेले जित्दै आएको क्षेत्र हो । एमालेले सो क्षेत्रलाई ‘लालकिल्ला’को रुपमा लिने गरेको छ । विगत ३ दशकको इतिहास हेर्ने हो भने चितवन–१ बाट एमालेले पटकपटक चुनाव जित्दै आएको छ ।

चितवन–१ मा कांग्रेसले एक पटकमात्र जितेको छ । २०५६ को निवार्चनमा एमालेलाई हराउँदै कांग्रेसले पहिलो पटक सो क्षेत्रमा चुनाव जितेको थियो । २०५६ सालको चुनावमा नेपाली कांग्रेसकी उम्मेदवार सावित्री बोगटी पहिलो पटक यो क्षेत्रमा विजयी भएकी थिइन् ।

पूर्वअर्थमन्त्री पाण्डे र अर्थविद पौडेलबीच भिडन्त

यस क्षेत्रमा आसन्न निर्वाचनमा एमालेले पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धीका रुपमा गठबन्धनबाट नेपाली कांग्रेसले विश्वनाथ पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी अभियानमा होमिएका हुन् । अर्थतन्त्रका ज्ञाता दई उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएपछि सो क्षेत्रमा चुनावी रौनक थपिएको छ ।

एमालेलाई विरासत जोगाउने चुनौती, कांग्रेस दोस्रो जितको खोजीमा

सो क्षेत्रमा लगातार जित्दै आएको एमालेलाई आगामी निर्वाचनमा आफ्नो विरासत जोगाउनुपर्ने प्रमुख चुनौती छ भने कांग्रेस सो क्षेत्रमा दोस्रो जितको खोजीमा छ ।

चितवनको राप्ती नगरपालिकाका निवासी एमालेका पाण्डे २०५४ देखि २०६० सम्म राष्ट्रियसभा सदस्य थिए । पाण्डे २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट समानुपातिक तर्फबाट सांसद थिए ।

पाण्डेले २०७० को संविधानसभा सदस्य र २०७४ को संसदीय चुनाव सोही क्षेत्रबाट जितेका थिए । आगामी निर्वाचनमा उनी ‘ह्याट्रिक’ पूरा गर्ने दाउमा छन् ।

यता चितवनको रत्ननगर नगरपालिका घर भएका पौडेलले संसदीय चुनावबाटै सक्रिय राजनीति सुरु गर्दैछन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधी गरेका उनी आगामी निर्वाचन जितेर आफ्नो सक्रिय राजनीतिसँगै संसदीय क्षेत्रको ढोका खोल्न र कांग्रेसलाई सो क्षेत्रमा दोस्रो पटक जिताउन चाहन्छन् ।

युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ समेत हुन् ।

डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका पौडेलसँग निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । त्यस्तै उनका थुप्रै आर्थिक विषयमा लेख प्रकाशित छन् ।

पाण्डेका चुनौती

पाण्डे स्वयं चर्चित नेता हुन् र सो क्षेत्रबाट विजयी हुँदै आएका छन् । जसले गर्दा आगामी निर्वाचनमा उनलाई केही सहज हुने अनुमान गरिएको छ । उनी हालसम्म कुनै पनि विवादमा परेका छैनन् ।

यद्यपि उनलाई चुनाव जित्न निकै चुनौती सामना गर्नुपर्ने देखिन्छ । पहिलो त, उनले पार्टी विभाजनको असर भोग्नुपर्ने बाध्यता छ भने एमालेभित्रकै विवादको सामना पनि गर्नु पर्नेछ ।

सो क्षेत्रमा उम्मेदवार बन्न एमालेले उनलाई टिकट दिन आनाकानी गरेको थियो । तर, अन्तिम समयमा उनको टिकट टुङ्गिएको थियो । पार्टी विभाजन अघि उनी एमालेभित्रको माधव नेपाल समूहमा सक्रिय थिए । पार्टी विभाजन ताका उनी १० बुँदे पक्षधर भएर एमालेमै रहे । सोही कारण उनको टिकट होल्ड गरिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली सो क्षेत्रमा पाण्डेलाई टिकट दिन चाहदैनथे । उनी सो क्षेत्रमा जे. एन. थपलियालाई उम्मेदवार बनाउन चाहन्थे ।

आगामी निर्वाचनमा उनको चुनौती एमालेभित्रको विवाद मुख्य कारण बन्न सक्छ । नेकपा र एमाले विभाजनका बखत पाण्डेले खेलेको भूमिकाबाट चितवन एमालेमा दुई खेमामा देखिएको थियो । एउटा खेमा उनको पक्षमा थियो भने अर्को विपक्षमा । पक्षमा रहेका भन्दा विपक्षी खेमाको बहुमत थियो । त्यस समयमा उनको पनि आलोचना भएको थियो । उनको विपक्षी खेमामा उक्त आलोचनाको तुष अझै साम्य भइसकेको छैन । जुन उनका लागि चुनावी चुनौती बन्ने देखिन्छ ।

यता उक्त चुनौतीको फाइदा उठाउने दाउमा कांग्रेसका उम्मेदवार पौडेल छन् । विज्ञ र अन्तर्राष्ट्रिय पहिचान बनाएका व्यक्तिलाई टिकट दिएको कांग्रेसले आन्तरिक विवादको व्यवस्थापनमा गर्नुपर्ने हुन्छ ।

आन्तरिक विवाद व्यवस्थापन गरेको खण्डमा पौडेललाई विज्ञता र युवा नेतृत्वको सहानुभूतिको मत प्राप्त हुन सक्छ र उनी सक्रिय राजनीति र संसदको यात्रामा प्रवेश गर्नेछन् ।

यस्तो छ विगतको निर्वाचन नतिजा

बहुदलपछि सो क्षेत्रमा कांग्रेसले एक पटकमात्र जित्न सफल भएको छ भने अन्य बाँकी निर्वाचन एमालेले जित्दै आएको छ । एमालेले सो क्षेत्रमा २०४८ देखि २०७४ सम्म गरी ५ पटक चुनाव जितेको छ भने कांग्रेसले एक पटक जितेको छ ।

२०४८ सालको निर्वाचनमा यो क्षेत्रबाट एमालेका जागृत भेटवालले जितेका थिए । उनले कांग्रेसका शेषनाथ अधिकारीलाई पराजित गरेका थिए । २०५१ को निर्वाचनमा पनि भेटवालले नै चुनाव जित्दा कांग्रेसका चुडामणि चौधरी पराजित भएका थिए ।

कांग्रेसले २०५६ सालमा मात्रै यस क्षेत्रमा जितेको छ । सो निर्वाचनमा कांग्रेसकी सावित्री बोगटीसँग पहिलो पटक एमालेका जागृत भेटवाल पराजित भए ।

राज्य व्यवस्था परिवर्तनपछि भएको २०६४ को निर्वाचनमा माओवादी केन्द्रको दबदबा बीच पनि सो क्षेत्रमा एमालेले चुनाव जितेको थियो । २०६४ मा एमालेका लालमणि चौधरीले चुनाव जित्दा माओवादी केन्द्रकी शोभा कट्टेल पराजित भइन् भने कांग्रेसकी बोगटी तेस्रो भइन् ।

२०७० को निर्वाचनमा उक्त क्षेत्रमा पुनः एमालेले नै चुनाव जित्यो । सो क्षेत्रबाट पहिलो पटक प्रत्यक्षबाट एमालेका सुरेन्द्र पाण्डेले चुनाव जितेका थिए । उनले कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई पराजित गरेका थिए ।

संघीयता लागु भएपछिको पहिलो निर्वाचनमा सो क्षेत्रमा उनै पाण्डे र बुर्लाकोटीबीच प्रतिस्पर्धा भयो । २०७४ मा भएको सो निर्वाचनमा वाम गठबन्धनमा रहेका पाण्डेले ५१ हजार ८० मत पाएका थिए भने बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए ।

स्थानीय तहहरुमा गठबन्धन हावी

चितवन–१ मा ३ वटा वडाहरुको पूर्ण भूभाग पर्दछ । चितवनको राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाका सम्पूर्ण वडा यस क्षेत्र अन्तर्गत छन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको नेतृत्वमा सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादी छ भने रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाको नेतृत्व कांग्रेसले गरेको छ ।

चितवन–१ अन्तर्गत रहेका ३ पालिकाका ४२ वटामध्ये लगभग आधा जतिमा एमालेका उम्मेदवारले जितेका छन् । गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रको ४२ वटा वडामध्ये २० वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले १८, माओवादी केन्द्र र एकीकृत समाजवादीले १÷१ वटा र २ वडामा स्वतन्त्र उम्मेदवारले अध्यक्षमा जितेका छन् ।

सो क्षेत्रमा गत स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मतमा एमाले अगाडि छ । सो क्षेत्रमा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले ३९ हजार ६०६ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले ३६ हजार ७८३ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप