शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विकास, निर्माणमा प्रतिवद्धता माग्दै मतदाता

आइतबार, २० कात्तिक २०७९, १० : ०९
आइतबार, २० कात्तिक २०७९

सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण नै हो । तथापि नेपालका विकास, निर्माणको अगुवाइसमेत सांसदले गर्दै आएका छन् । सोही कारणले अहिले उम्मेदवारसँग मतदाता विभिन्न विकास, निर्माणका प्रतिवद्धता मागिरहेका छन् ।

कास्की ३ का मतदाताले पनि शनिबार सत्ता गठबन्धनका उम्मेदवारसँग आफूले भोग्नुपरेका अप्ठेरा सुनाए । आवश्यक विकास, निर्माणको प्रतिवद्धता मागे । कास्की ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बराल (जीवन)ले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताए । उनले मेलबोट अस्ताम, धिताल धुम्पुस सडक चाँडै कालोपत्र हुने प्रतिवद्धता जनाए ।

गण्डकीका अर्थमन्त्रीसमेत रहेका बरालले भने, ‘चालु आर्थिक वर्षमा यो बाटाका लागि १० करोड विनियोजन भई काम सुरु भइसकेको छ ।’ उनले यो क्षेत्रमा रहेको खानेपानीको समस्या समाधान र पर्यटनका सम्भावना खोजी जनताको जीवनस्तर उकास्ने प्रतिवद्धता गरे ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट कास्की ३ (१) का उम्मेदवार दुर्गादत्त भण्डारीले कृषि, पर्यटन र ऊर्जाको योजनावद्ध विकासबाट माछापुच्छ्रे गाउँपालिकाको समृद्धि सम्भव हुने बताए । उनले आफू असम्भव प्रतिवद्धता गर्नेभन्दा गरेका प्रतिवद्धता कार्यान्वयनमा विश्वास राख्ने सुनाए ।

चुनावी घरदैलोमा संविधानसभा सदस्य शारदा पौडेल, माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गा विक, माओवादी नेता आशमान रोका, कांग्रेस माछापुच्छ्रे सभापति वीरेन्द्र गुरुङ, बाम लोकतान्त्रिक गठबन्धन ३ (१) का संयोजक विष्णुबहादुर केसी लगायत सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप