शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा आठ जनाको मृत्यु

शनिबार, १९ कात्तिक २०७९, १९ : ३१
शनिबार, १९ कात्तिक २०७९

देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका-६ ग्यारेज छेउस्थित सडकमा मे.१० प २९१७ नम्बरको स्कुटरको ठक्करबाट साइकलयात्री भारत दार्जलिङ बस्ने २५ वर्षीय रमन सिंहको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अर्घाखाँचीको सितगंगा नगरपालिका-१२ बसेरीमा लु.६ प २८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालीमा ठोक्किएर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक पाणेनी गाउँपालिका-८ पाली बस्ने ५२ वर्षीय भोज बहादुर थापाको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र ठाडा हुँदै जिल्ला अस्पताल अर्घाखाँचीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यता पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सामा लु.२ ख २४९ नम्बरको बसले ग.१६ प १४८६ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक स्याङ्जा चापाकोट नगरपालिका-५ बस्ने ४१ वर्षीय मोहन प्रसाद पाण्डेको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको   हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका-१७ बेलघारीस्थित सडकमा ग.३ च ६६३ नम्बरको जीप अनियन्त्रित भई नालीमा पल्टिएर शुक्रबार राति दुर्घटना हुँदा जीपमा सवार घादिङ सिद्धलेक गाउँपालिका-३ सुन्दरपानी घर भई कास्की पोखरा महानगरपालिका-९ पृथ्वी चोक बस्ने २१ वर्षीय फणिन्द्र उपरकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य १ जनाको नमस्ते अस्पताल पोखरामा उपचार भइरेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यस्तै महोत्तरीको बर्दिबास नगरपालिका-३ गौरीडाँडास्थित सडकमा प्रदेश २-०२-००१ ह ०९१८ नम्बरको अटो अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा अटोमा सवार सोही नगरपालिका-३ राजाबास बस्ने ५० वर्षीय बल बहादुर भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरीको रामधुनी नगरपालिका-१ शिव चोकमा को.१ ख ४५४२ नम्बरको बसले प्र-१-०२-०४५ प ४२५३ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, नखुलेका करिब ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता रामेछापको उमाकुण्ड गाउँपालिका-५ चिलाउने संशरीडाँडामा लु.३ त २४९९ नम्बरको ट्याक्टर सडकबाट करिब ९० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम कुमार सुनुवारको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १ जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र डाँडाखर्कतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कोल्हवी नगरपालिका-२ सात नम्बर घोलस्थित सडकमा मधेश प्रदेश ०३-०२३ प ३३३४ नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००७ प २३४९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा प्रदेश २-०३-००७ प २३४९ नम्बरको मोटरसाइकल चालक रौतहट पिपरीया घर भएका २८ वर्षीय अजय कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जन नायक अस्पताल कोल्हवी हुँदै थप उपचारको लागि कलैयातर्फ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मधेश प्रदेश ०३-०२३ प ३३३४ नम्बरको मोटरसाइकल चालकको सिटी अस्पताल निजगढ बारामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप