शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले भने, ‘एक दुई सिटमा तालमेल हुँदैमा आफ्नो विचार र सिद्धान्त छाडिँदैन’

शनिबार, १९ कात्तिक २०७९, १७ : २२
शनिबार, १९ कात्तिक २०७९

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग चुनावका लागि मात्र गठबन्धन भएको बताएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पार्टीको प्रतिबद्धता पत्र सार्वजनिक गरेपछि पत्रकारको जिज्ञासामा उनले एमालेसँग उसको सिद्धान्त, विचार र अवधारणासँग गठबन्धन नभएको, चुनावमा सिट तालमेलका लागि मात्र गठबन्धन भएको प्रस्ट पारेका हुन् ।

अध्यक्ष यादवले एमाले र जसपाको सिद्धान्त, विचार र अवधारणा आ–आफ्नो ठाउँमा कायमै रहेको र कसैले कसैमाथि हस्तक्षेप गरेको नगरेको बताउँदै सिट बाँडफाँड गरेर चुनावमा भाग मात्र लिएको प्रस्ट पारे । उनले भने, ‘एक दुई ठाउँमा तालमेल गर्दैमा आफ्नो धारणामा परिवर्तन आउँदैन । जसपाले जे सिद्धान्त र विचारले संघर्ष गरिरहेको थियो, त्यसमा कायमै रहेको छ । नागरिकताको विषयमा जसपाले जे धारणा बनाएको थियो त्यसमा कायम नै रहेको छ ।’

नागरिकता विधेयक दुवै सदनबाट पारित भए पनि त्यसलाई राष्ट्रपतिले प्रमाणीकरण नगर्नुले राजनीतिक सङ्कट उत्पन्न भएको उनले बताए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले त्यो विधेयकलाई प्रमाणीकरण गर्नुपर्थ्यो नगरेको कारण विभिन्न प्रश्न उठेका छन्,’ उनले भने, ‘सिस्टमलाई कोल्याप्स हुन नदिनका लागि राष्ट्रपतिले विधेयकलाई प्रमाणीकरण गर्नुपर्छ, सहमतिमा सरकारले गर्ने हरेक निर्णयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ ।’ 

यसरी सरकार एउटा पार्टीको र राष्ट्रपति अर्को पार्टीबाट भएको कारणले समस्या बन्न नहुने उनको भनाई थियो । राष्ट्रपति जुनसुकै पार्टीको सिफारिसमा भए पनि उनले जनताको हितमा काम गर्नुपर्ने यादवले बताए । पाँच दलीय गठबन्धन बनाउनमा जसपाको मुख्य भूमिका रहेको बताउँदै उनले सिटमा कुरा नमिलेको कारण आफ्नो पार्टीले सो गठबन्धन छाडेको दाबी गरे । एमालेसँग तालमेल गर्दा पाँच दलीय गठबन्धनमा भएको सहमतिभन्दा बढी सिट पाएको र त्यसबाहेक पनि विभिन्न ठाउँमा एक्ला एक्लै पनि उम्मेदवारी दिएको उनले बताए । जसपाले प्रतिनिधि सभाका लागि ८१ र प्रदेश सभाका लागि १४४ सिटमा उम्मेदवारी दिएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप