शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

BattleGround ललितपुर–१ : भत्किएला कम्युनिस्ट किल्ला ?

शनिबार, १९ कात्तिक २०७९, १७ : ०१
शनिबार, १९ कात्तिक २०७९

ललितपुर क्षेत्र नम्बर–१ लामो समयदेखि एमाले किल्ला रहँदै आएको छ । ललितपुरका तीन वटै क्षेत्रमा एमालेको लामो समय जर्बजस्त उपस्थित रहेको छ । २०४८ सालको संसदीय चुनावमा ललितपुर–३ बाहेक २ वटा क्षेत्रबाट एमाले निर्वाचित भयो । त्यस यता भएका २०५१ र २०५६ साल लगातार दुई संसदीय चुनावमा समेत एमाले नै निर्वाचित भयो ।

२०६४ सालको पहिलो संविधान सभा चुनावमा ललितपुरका तीन वटै क्षेत्रमा माओवादीले जितेर आफ्नो उपस्थिति देखायो । त्यति बेलासम्म ललितपुरमा कांग्रेसले जरा समेत गाडेको थिएन । २०७० सालको दोस्रो संविधान सभामा माओवादी टुटफुट र विभाजन भएपछि ललितपुरका तीन वटै क्षेत्रबाट कांग्रेस निर्वाचित हुन सफल भयो । 

ललितपुर–१ बाट विधिवत् रूपमा कांग्रेस युवा नेता उदय शमशेर राणा उदाए । पहिलो संविधान सभा चुनावमा कांग्रेस नेता राणा माओवादी नेता वर्षमान पुनसँग पराजित भएका थिए । दोस्रो संविधान सभा चुनावमा राणाले माओवादी नेता हरि दाहाल र एमाले नेता मधुसूदन पौडेललाई पराजित गरे । २०७४ मा भने उनी वाम गठबन्धनका साझा उम्मेदवार रहेका नेकपा एमालेका नेता नवराज सिलवालसँग पराजित भए । आगामी चुनावमा ललितपुर–१ बाट तेस्रो पटक सत्ता गठबन्धनबाट राणा उम्मेदवार छन् । उनको निकटतम प्रतिस्पर्धीको रूपमा सिलवाल नै छन् । 

गठबन्धनबाट ललितपुर १ ‘क’बाट हरि दाहाल ‘ख’बाट कांग्रेसका मीनकृष्ण महर्जन उम्मेदवार छन् । एमालेबाट प्रदेश सभा ‘क’बाट मधुसूदन पौडेल र ‘ख’बाट चेतनाथ सञ्जेलले उम्मेदवारी दिएका छन् ।

प्रहरी बढुवामा असन्तुष्टि जनाउँदै डीआईजीबाट राजीनामा दिएर नवराज सिलवाल एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरे लगतै ललितपुरबाट सिलवाल उम्मेदवार बने । ०७४ सालको चुनावमा एमाले–माओवादीसहित वाम गठबन्धन बनेकाले ललितपुर–१ बाट निर्वाचित भई प्रतिनिधि सभा सदस्य बने । सिलवालले २६ हजार ९ सय ५१ मत ल्याई विजयी हुँदा कांग्रेसका उदय शमशेर राणाले २० हजार ७२९ मत ल्याई पराजित भएका थिए । त्यतिबेला सिलवालले राणालाई ६ हजार २ सय २२ मत अन्तरले पराजित गरेका थिए । 

सिलवाल दोस्रो पटक चुनाव जित्ने आत्म विश्वासका साथ चुनावी मैदानमा उत्रिएका छन् । तर, अहिलेको चुनावमा ठिक उल्टो छ । राणाको पक्षमा माओवादी सहितको वाम–लोकतान्त्रिक गठबन्धन बनेको सहज अवस्था छ ।  यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थ राज्य मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । आफ्नो व्यक्तित्व र क्षेत्रमा बलियो पकड भएकाले राणा दोस्रो पटक निर्वाचित हुनेमा ढुक्क जस्तै देखिएका छन् ।   

 

सिलवाल र राणा आमनेसामने 

एमाले उम्मेदवार सिलवाल २०७४ सालमा जस्तै यो पटक निर्वाचित हुनेमा आशावादी छन् । तर त्यतिबेला एमाले–माओवादी गठबन्धन भएकाले सिलवाल बलियो बनेका थिए । अहिले एमाले विभाजित अवस्थामा  छ । त्यति हुँदाहुँदै पनि सिलवाल आत्मविश्वासका साथ आक्रामक चुनावी प्रचारमा छन् । 

सिलवालले यो चुनावमा परमादेशी सरकार निर्माणपछि भ्रष्टाचार अनियमितता र महँगी थेग्नै नसक्ने भएको भन्दै मुख्य मुद्दा बनाएका छन् । गठबन्धन सरकारले जनतालाई आहत बनाएकाले त्यसलाई फाल्न एमालेलाई मत दिनुपर्ने सिलवालको तर्क छ । जनतालाई ठग्न र भ्रष्टाचार गर्न गठबन्धन बनाएर चुनावमा गएको उनको आरोप छ । सर्वोच्च अदालतको परमादेशी सरकारबाट देशलाई मुक्त बनाउन एमालेलाई विजयी गराउनुपर्ने बताए । ‘गठबन्धनको सरकार बनेपछि पेट्रोलियम पदार्थको भाउ बढाएर जनतालाई आहत बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाउँदासमेत नेपालमा घट्दै घट्दैन । किनभने यो गठबन्धन सरकारलाई पैसा चाहिएको छ । यहाँ जनता एक छान खान नपाएर मर्ने स्थिति छ । कसलाई मतलब होस् ?’ सिलवालले भने, ‘जनता मङ्सिर ४ गते कुरेर बसेका छन् । यो गठबन्धनबाट जनताले मुक्ति चाहिँ रहेका छन् । मङ्सिर ४ गतेपछि देशैभर सूर्य ध्वजावाहक झण्डा फराउन जनता आतुर छन् ।’ 

एमालेलाई गठबन्धन गर्न कुनै वैशाखी नचाहिने भएकाले गठबन्धन नबनाएको सिलवालले जिकिर गरे । ‘एमालेलाई कुनै दलको वैशाखी चाहिँदैन । अरू दल एमालेसँग एक्लै भिड्न डराएर गठबन्धन बनाएका छन्,’ उनले भने, ‘गठबन्धनको कुनै धरातल छैन । कुनै सिद्धान्त, विकास र दृष्टिकोण छैन ? त्यो गठबन्धन खाली जनतालाई ढाँट्ने लुट्ने खाने मात्रै हुन ।’ ललितपुरका तीन वटै क्षेत्रबाट एमाले विजयी हुने सिलवालको दाबी छ । 

अर्कोतिर राणा कांग्रेस सहित ५ दलीय गठबन्धनका साझा उम्मेदवारको रूपमा उपस्थित छन् । गठबन्धन भएकाले राणा दोस्रो पटक निर्वाचित भई एमाले किल्ला भत्काउनेमा ढुक्क छन् । 

राणाले आधारभूत शिक्षा, स्वास्थ्य र पूवार्धारका मुद्दा उठाएका छन् । यस क्षेत्रमा आधारभूत आवश्यकता जनतामा नपुगेकाले शिक्षा, स्वास्थ्य, खानेपानी सडक पुलपुलेसाका मुद्दा लिएर राणा चुनावी मैदानमा पुगेको राणाले बताए । ‘जबसम्म आधारभूत पूर्वाधारहरू बन्दैन तबसम्म ध्यान दिनुपर्ने हुन्छ । विकास गर्ने क्रममा जति हुनुपर्ने हो त्यति हुन सकेन । सरकारले ध्यान दिएको भए यस्तो हुने थिएन’ राणाले भने, ‘देशमा धेरै ठुलो राजनीतिक र सामाजिक परिवर्तन भयो । तर, आर्थिक परिवर्तन र उन्नति भएन । जसका कारण देशको हालत यस्तो भयो ।’ 

आफ्नो स्वच्छ छवि भएकाले कसैले चुनौती दिन नसक्ने राणाले दाबी गरे । एमाले उम्मेदवार सिलवालले आफूहरूलाई भ्रष्टाचारीको आरोप लगाउनु हास्यास्पद तर्क भएको जिकिर गरे । ‘एमालेका उम्मेदवारले राजनीति गरेको ५ वर्ष भयो । मैले राजनीति गरेको यो क्षेत्रमा २५ वर्ष भयो । सम्पत्ति शुद्धीकरणमार्फत २५ वर्ष अघि सम्पत्ति कति दुवैको छानबिन गरौँ’ राणाले भने, ‘त्यसबाटै सबै छर्लङ्ग हुन्छ । मैले एमालेका उम्मेदवार मात्रै होइन जो जो राजनीति गरेर सांसद र मन्त्री पदमा पुग्नु भएको छ । सबैलाई सम्पत्ति विवरण सार्वजनिक गर्नुस्, चुनौती भयो ।’

कम्युनिस्ट किल्ला ललितपुर–१

ललितपुर–१ लामो समय कम्युनिस्ट किल्ला हुँदै आएको थियो ।  २०४८ सालको संसदीय चुनावमा ललितपुरका तीन वटै क्षेत्र कम्युनिस्ट नेताले जितेका थिए । ललितपुर १ बाट मिठाराम शर्मा बजगाई, २ बाट सिद्धिलाल सिंह र ३ बाट लीलामणि पोखरेल निर्वाचित भए । बजगाई र सिंह एमालेबाट निर्वाचित भएका थिए भने पोखरले संयुक्त जनमोर्चाबाट निर्वाचित भए । 

यस्तै २०५१ सालको चुनावमा ललितपुरका तीन वटै क्षेत्रबाट एमाले विजयी भयो । जसमा ललितपुर १ बाट मिठाराम शर्मा बजगाई २ बाट सिद्धिलाल सिंह र ३ बाट रघुजी पन्त थिए । यस्तै २०५६ सालको संसदीय चुनावमा समेत ललितपुरका तीन वटै क्षेत्र पुनः एमालेले जितेको थियो । जसमा ललितपुर–१ बाट सुशिला नेपाल–२ बाट कृष्णलाल महर्जन र ३ बाट रघुजी पन्त थिए । ललितपुर लामो समय एमालेले राज गरेको थियो । 

दोस्रो जनआन्दोलनपछि तत्कालीन नेकपा माओवादी पहिलो संविधान सभाको चुनावमा भाग लिएपछि ललितपुरका तीन वटै क्षेत्रबाट एमाले पराजित भयो । त्यसपछि विधिवत् रूपमा माओवादीले ललितपुरमा जरा गाड्यो । त्यतिबेला ललितपुर १ बाट वर्षमान पुन, २ बाट राजकाजी महर्जन र ३ बाट पम्फा भुसाल निर्वाचित भए । दोस्रो संविधान सभामा माओवादी विभाजित भई चुनावमा भाग लियो । ललितपुरका अधिकांश माओवादी नेता चुनाव बहिस्कारमा लागेपछि ललितपुरका तीन वटै क्षेत्र कांग्रेसले जित्यो । जसमा ललितपुर–१ बाट उदय शमशरेर २ बाट चन्द्र महर्जन, ३ बाट मदनबहादुर अमात्य निर्वाचित भए । त्यतिबेला एमाले र माओवादीलाई हराउँदै पहिलो पटक ललितपुरमा कांग्रेसले धरातल टेकेको थियो । 

कांग्रेसले धरातल टेकेको ४ वर्ष पुग्दा नपुग्दै पुनः ललितपुरका तीन वटै क्षेत्र २०७४ सालको चुनावमा कम्युनिस्ट नेताहरूले जितेका थिए । एमाले र माओवादी सहितको वाम गठबन्धन बनाएर चुनावमा भाग लिएकाले तीनै क्षेत्रबाट कांग्रेस पराजित भएको थियो । त्यतिबेला ललितपुर १ बाट नवराज सिलवाल, २ बाट कृष्णलाल महर्जन र ३ बाट पम्फा भुसाल निर्वाचित भए । सिलवाल र महर्जन एमालेबाट र भुसाल माओवादीबाट चुनाव जितेका थिए । 

आसन्न निर्वाचनमा तत्कालीन नेकपा विभाजित भएपछि कांग्रेस माओवादी सहित पाँच दलीय गठबन्धन चुनावी मैदानमा छन् । एमाले ललितपुरमा राप्रपा सहितका स–साना दलको साथ लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । एमालेबाट दोस्रो पटक ललितपुर १ बाट सिलवाल उम्मेदवार छन् । कांग्रेस सहित पाँच दलीय गठबन्धनबाट उदय शमशेर राणा उम्मेदवार छन् । राणालाई कांग्रेस माओवादी सहित पाँच दलीय गठबन्धनको साथ भएकाले उनी पुनः निर्वाचित हुने सम्भावना देखिएको छ । 

स्थानीय तहको यस्तो छ अङ्क गणित 

ललितपुर २ अन्तर्गत महालक्ष्मी नगरपालिका र ललितपुर महानगर अन्तर्गत ६, ७, ८, ९, ११, १२, १६, १७, १९ वडा पर्छन् । ती पालिका अन्तर्गतका वडा अध्यक्षको मत केलाउँदा पहिलो दल कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी छ । यसरी हेर्दा एमाले भन्दा गठबन्धन निक्कै अगाडि देखिएको छ । जसमा कांग्रेस २१ हजार ८१ मत, एमाले १७ हजार ७१२ मत, माओवादी ५ हजार २५४ मत, राप्रपा ३ हजार ५९३ मत र एकीकृत समाजवादी ३ हजार १९२ मत छ । यो अङ्क गणितले एमाले उम्मेदवार सिलवालभन्दा गठबन्धन उम्मेदवार राणा ११ हजार ८१५ मतले अघि छन् ।   

‘मङ्सिर ४ पछि देशैभर सूर्य ध्वजावाहक झण्डा फराउन जनता आतुर छन्’

नवराज सिलवाल, उम्मेदवार, ललितपुर–१ नेकपा एमाले 

यो भन्दा पहिलो यस क्षेत्रबाट निर्वाचित हुनुभयो । अब दोस्रो पटक निर्वाचित भएपछि के के काम गर्ने योजना अघि सार्नु भएको छ ? 

मैले यसअघि ५ वर्षमा कोरोना महामारीका बावजुद पनि धेरै काम गरे । देशकै सबैभन्दा ठुलो सभा हल निर्माण भयो । खानेपानी, सडक, पूर्वाधार निर्माण, कृषि र पर्यटन क्षेत्रमा धेरै काम भए । दक्षिण ललितपुरलाई कर्णाली भनेर चिनिन्छ । त्यसलाई बिस्तारै सुगम बनाउँदै लगिएको छ । दक्षिण ललितपुर बगुवाबाट हास्लाङ, गिम्दी, ठुलो दुर्लुङ हुँदै लेलेलाई जोडेर रिङ रोड बनाउने अभियानलाई अघि बढाएका छौ । ललितपुरको विकास निर्माणमा जग बसालेका छौ । अब त्यो जग पुरा गरी निर्माण गर्न एमालेलाई विजयी गराउनै पर्छ । 

अहिले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने सोचेका छौ । यस क्षेत्रमा झण्डै ८२ समुदायक वन छन् । ती वनबाट आर्थिक रूपमा समृद्धि हासिल गर्ने योजना बनाएको छ । पशुपालनलाई व्यावसायिक रूपमा अघि बढाउन सकिन्छ । अबको एजेण्डा भनेको आर्थिक रूपमा सबल परिवार बनाउने हो । हरेक युवालाई रोजगारीको ग्यारेन्टी गर्ने हो । घरमा बसेका महिला दिदीबहीनीहरुलाई स–साना उत्पादन कार्यमा जोड्ने लक्ष्य बनाएको छ ।

यस भन्दा अघि पनि यस्तै विकास निर्माण बाटो घाटो, सडक, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत एजेण्डा नै थिए । अहिलेपनि उस्तै एजेण्डा अघि सार्नु भएको छ । यस्ता एजेण्डा बोकेर कहिलेसम्म जनतामा गई रहनुहुन्छ ? 

पत्रकार साथीहरुले देशलाई बुझ्नु भएकै छैन । मैले अघि नै भनि सके दक्षिण ललितपुरमै अझै सडक चाहिएको छ । सडक मात्रै भएर पुगेन गुणस्तरीय सडक चाहिएको छ । अहिलेपनि गुणस्तरीय विद्यालय र स्वास्थ्य चौकी चाहिएको छ । खानेपानीको पाइप घरघर पुगेको छैन । हामी यस्ता आधारभूत विकास निर्माणमै अल्झिएका छौ । अब थप केही काम गर्न सकेमा देखिन सक्छ । त्यसपछि मात्रै शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रगति देखिने छ ।  त्यसबाट मात्रै गरिब निमुखा जनताले आधारभूत आवश्यकता पाएको महसुस गर्ने छन् । हामीले खास गरेर मुख्य युवा रोजगारी सृजना गर्ने विषयलाई मुख्य एजेण्डा बनाएका छौ ।

कांग्रेससहित पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट तपाईं एक्लै हुनुहुन्छ । तपाईंका लागि गठबन्धन भारी हुन्छ होला नि ?

एमाले यति ठुलो दल हो । यति धेरै जनताको आड भरोसा र विश्वास छ । अहिले पनि संसद्को सबैभन्दा ठुलो दल एमाले हो । एमालेलाई कुनै दलको वैशाखी चाहिँदैन । अरू दल एमालेसँग एक्लै भिड्न डराएर गठबन्धन बनाएका छन् । त्यसरी बनाएको गठबन्धनको कुनै धरातल छ ? कुनै सिद्धान्त, विकास र दृष्टिकोण छ ? त्यो गठबन्धन खाली जनतालाई ढाँट्ने लुट्ने खाने मात्रै हुन । गठबन्धन गरेर भ्रष्टाचार गर्ने । निमुखा जनतालाई झुक्याएर खाने बाहेक दोस्रो योजना छैन । एमाले एक्लै  गठबन्धन भन्दा भारी छ । चुनावपछि एमाले नेतृत्वको सरकार समेत बन्ने छ । ललितपुरका सवालमा भन्नुहुन्छ भने तीन वटै क्षेत्र एमालेले जित्दै छ । हामीले तीन क्षेत्रको सेटै जित्दै छौ । पार्टीले अघि सारेको सुखी नेपाली समृद्धि नेपालको उद्देश्य पुरा गरेरै छोड्ने छौ । 

गठबन्धनको सरकार बनेपछि देशको हालत हेर्नुस् । पेट्रोलियम पदार्थको भाउ बढाएर जनतालाई आहत बनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाउँदा समेत नेपालमा घट्दै घट्दैन । किन भन यो गठबन्धनको सरकारलाई पैसा चाहिएको छ । यहाँ जनता एक छान खान नपाएर मर्ने स्थिति छ । कसलाई मतलब होस् । अहिले जनता गठबन्धनबाट आजित छन् । जनता मङ्सिर ४ गते कुरेर बसेका छन् । यो गठबन्धनबाट जनताले मुक्ति चाहिँ रहेका छन् । मङ्सिर ४ गतेपछि देशैभर सूर्य ध्वजावाहक झण्डा फराउन जनता अतुर छन् । 

‘सेलिब्रेटी उम्मेदवार आइसकेपछि पूर्वाधारका योजना सबै ठप्पै भए’

उदय शमशेर राणा, उम्मेदवार, ललितपुर–१, नेपाली कांग्रेस 

अहिले चुनावी मैदानमा कुन कुन मुद्दा लिएर लिएर जनतामा जानु भएको छ

मैले उठाएको विशेष गरी पूर्वाधारको मुद्दा हो । यो बाटोमा हिँड्दै छौ । जब म २०७० सालमा निर्वाचित भए । त्यति बेला निर्माण भएको हो । पहिला यो बाटो कच्ची भएकाले धुलैधुलो थियो । मैले पिच गर्छु भनेको थिए पिच गरे । अहिले मेन्टेन हुन नसकेपछि बिग्री सकेको छ । गोदावरी नगरपालिकाका साथीहरूलाई बाटो होइन राम्रो बाटो चाहिएको छ । हालका एमाले सांसदले केही गर्न सकेनन् । नयाँ सडक बनाउने परेको कुरा पुरानो बाटो समेत पिच भएको छैन । यस क्षेत्रमा खानेपानीको पनि उस्तै अभाव थियो । स्थानीय बजेट र केन्द्रको बजेटबाट खानेपानीको समस्या ट¥यो । 

मैले २०७० सालको चुनावमा बाटो र खानेपानीको एजेण्डा उठाएको थिए पुरा पनि गरे । बीचमा सेलिब्रेटी उम्मेदवार आइसकेपछि जुन पूर्वाधारको योजना थियो । ती सबै योजना ठप्पै भए । त्यस कारणले पनि गठबन्धनको माहौल राम्रो बन्दै गएको छ ।

यो क्षेत्र भूगोलको हिसाबले ठुलो पनि छ । यस क्षेत्रका मुख्य समस्याहरू के के छन् ?

मैले अघि पनि भनिसके । यहाँ सबैभन्दा खाँचो पूर्वाधारको छ । जसमा शिक्षा र स्वास्थ्यको गुणस्तरीय सेवा, बाटो र खानेपानीको सुविधा सबै गाउँ र टोलमा पुर्‍याउनु छ । बेरोजगारी अर्को सबैभन्दा ठुलो समस्या छ । बेरोजगारीको समस्या हल गर्न यो क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना छ । त्यसका लागि आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सकियौ भने रोजगारी सृजना हुने परिस्थिति देखेका छौ । गोदावरी क्षेत्र अत्यन्तै सुन्दर ठाउँ हो । कृषि र फलफूलको राम्रो सम्भावना छ । त्यसलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ । बजार पनि नजिकै भएकाले त्यसबाट किसानले अत्यन्तै लाभ लिन सक्ने अवस्था छ । तर बिचौलियाका कारण जुन भाउ किसान र उपभोक्ताले पनि सस्तोमा पाउन सकेका छैनन् । त्यसका लागि सहकारीलाई परिचालन गरेर बिचौलियाहरूको मार्जिन घटाउने योजना बनाएको छु ।

तपाईंले चुनाव जित्ने आधारहरू के के हुन् ?   

मलाई जनताले २०७०मा निर्वाचित गरेपछि कति काम गरे ? उहाँ २०७४ सालमा निर्वाचित भई सकेपछि कति काम गर्नुभयो ? कामको मूल्याङ्कन गरेर मलाई यो क्षेत्रका जनताले मत दिनुहुने छ भन्ने विश्वास छ । मलाई मात्रै होइन गठबन्धनका सबै उम्मेदवारलाई समेत भोट हाल्नु हुने छ । यहाँका जनताले सेलिब्रेटीलाई होइन । झुटा नारा लगाउनेलाई होइन । इतिहास पल्टाएर दुई जनामध्येबाट मलाई जनताले चयन गर्ने छन् भन्ने विश्वास लिएको छु ।

एमाले उम्मेदवारले सर्वोच्च अदालतको परमादेश सरकार बनेपछि महँगी र भ्रष्टाचार भयो भन्नु भएको छ । यस्तो उम्मेदवारलाई जनताले कसरी भोट हालेर जिताउँछन् त ?  

उहाँहरूले भ्रष्टाचारको कुरा गर्दा हास्यास्पद हुन्छ । म चुनौती दिन्छु । एमालेका उम्मेदवारले राजनीति गरेको ५ वर्ष भयो । मैले राजनीति गरेको यो क्षेत्रमा २५ वर्ष भयो । सम्पत्ति शुद्धीकरण मार्फत २५ वर्ष अघि उहाँको सम्पत्ति कति थियो ? मेरो सम्पत्ति कति थियो ? २५ वर्षपछि त्यो सम्पत्तिलाई दाजौँ । सबै केलाएर हेरौँ कसको सम्पत्ति बढेको छ कसेको बढेको छ । त्यसबाटै सबै छर्लङ्ग हुन्छ । मैले एमालेका उम्मेदवार मात्रै होइन जो जो राजनीति गरेर सांसद र मन्त्री पदमा पुग्नु भएको छ ।   सबैलाई सम्पत्ति विवरण सार्वजनिक गर्नुस् चुनौती भयो ।

हामी राजनीति गर्ने राजनीतिककर्मीहरु सबै नेताहरू फटाहा भए भन्ने अवधारणा छ । म सबैलाई आग्रह गर्न चाहन्छु । मैले यो क्षेत्रमा राजनीति गरेको २५ वर्ष भयो । मलाई अहिलेसम्म एक जनाले पनि औला उठाएर अनियमितताको आरोप लगाउन सकेको छैन । यस्तै मिडियाका साथीहरू र विपक्ष दलका नेताहरूले समेत उदय शमशेरले भ्रष्टाचार गर्‍यो भन्न सक्दैनन् । मलाई विश्वास छ । यो क्षेत्रका मतदाताहरूले स्वच्छ छवि भएका व्यक्तिलाई निर्वाचित गर्ने छन् । हाम्रो हरि दाहालको पनि इमेज स्वच्छ छवि छ । अहिले पढे लेखेको युवाको स्वच्छ छवि भएको भ्रष्टाचार नगर्ने व्यक्तिको माग छ । त्यो मापदण्डमा हामी परेकाले गठबन्धनका हामी उम्मेदवारले भोट पाउने छौ ।

तपाईं कहिलेसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार जस्ता आधारभूत मुद्दा लिएर कहिलेसम्म जनताको बीचमा जानुहुन्छ ? 

जब आधारभूत पूर्वाधारहरू बन्दैन तबसम्म ध्यान दिनुपर्ने हुन्छ । विकास गर्ने क्रममा जति हुनुपर्ने हो त्यति हुन सकेन । निर्वाचित प्रधानमन्त्री, मन्त्री र सांसदहरू र पार्टीहरू सजग भएको भए यस्तो हुने थिएन । देशमा धेरै ठुलो राजनीतिक र सामाजिक परिवर्तन भए । तर, आर्थिक परिवर्तन र उन्नति भएको छैन । त्यसका लागि गठबन्धनका उम्मेदवारलाई भोट हालेर जनताले जिताउनै पर्छ । 

क्षेत्र नम्बर १ मा अरु को–को छन् उम्मेदवार ?

ललितपुर क्षेत्र नम्बर १ मा सिलवाल र राणाबाहेक जनता समाजवादी पार्टी,नेपालका गोपाल राज राई,राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दिप आचार्य,नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल मैदानमा छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनिष बहादुर श्रेष्ठ,मंगोल नेशनल अर्गनाइजेसनका सूर्य तामाङ्ग बल,नेश्नलिष्ट पिपल्स पार्टीका सुभद्रा महर्जन,राष्ट्रिय जनमुक्ति पार्टीका बालकृष्ण घिमिरे,आमूल परिवर्तन मसिहा पार्टी नेपालका विष्णु लामा र राष्ट्रिय स्वतन्त्र पार्टीका  सचिन कुमार घिमिरे उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट गोविन्द घिमिरे केसी,सुमन भुम्जन,राज कुमार तिमिल्सिना, फूल माया लो, नवराज घिमिरे, विशाल तामाङ,भुपेन्द्र सिलवाल,गोकुल तिमल्सिना, शैलेन्द्र बिष्ट र कृष्णकाजी महर्जन पनि उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप