शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन प्रतिबद्ध छौँ : पूर्व जनमुक्ति सेना

शनिबार, १९ कात्तिक २०७९, १४ : २४
शनिबार, १९ कात्तिक २०७९

पूर्व जनमुक्ति सेनाका प्रतिनिधिहरूले पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । शनिबार बिहान पूर्व जनमुक्ति सेनाका प्रतिनिधि तथा उम्मेदवारबीच कोहलपुरमा भएको भेटघाट तथा छलफलमा आफूहरूको त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानको रक्षार्थ पाँच दलीय गठबन्धनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनीहरूले आफूहरू सधैं अग्रगमनको पक्षमा रहेको बताएका हुन् । 

कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको व्यवस्था ल्याउनमा जनमुक्ति सेनाले खेलेको भूमिका अतुलनीय रहेको बताए । उनले आफ्नो ज्यानको बाजी राखेर व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञात÷अज्ञात शहीदहरूको सपना साकार पार्ने दायित्व गठबन्धनको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरूलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे । 
कार्यक्रममा बोल्दै प्रदेश सभा (ख) का उम्मेदवार फुलाराम थारुले गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सबै लाग्नुपर्ने बताए । हिजो परिवर्तनका लागि लडेका योद्धाहरू नै गठबन्धनको चुनावी कमान्डरका रूपमा मैदानमा उत्रिनुपर्ने अवस्था आएको भन्दै दत्तचित्त भएर लाग्न थारुले आग्रह गरे । 

यसैबीच चुनावी अभियानकै क्रममा पाँच दलीय बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले क्षेत्र नं.१ का विभिन्न क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप