आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

शनिबार, १९ कात्तिक २०७९, १२ : ५४
शनिबार, १९ कात्तिक २०७९

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौँ मेडिकल कलेज (केएमसी)विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ । काठमाडौँ महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीबिरुद्ध आन्दोलनमा उत्रिएका हुन् । 

मृतककी श्रीमती सुशीला विद्याधरसहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो । सो क्रममा उनीहरूले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’,‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’, लगायतका नारा लगाएका थिए । डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ । 

यता अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए । उनले बिरामीको मृत्यु भएको २१ दिन पुगिसक्दासमेत अस्पतालले कुनै चासो नदिएको बताए । उनले आज पनि अस्पतालले पीडितका मागहरू सम्बोधन नगरेमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिए ।

उनले मृत्यु भएको २१ दिनसम्म परिवारलाई क्षतिपूर्ति दिने कुरा नै नगरेको भन्दै आक्रोश व्यक्त गरे । मृतकका परिवारले डा.अमृत थापाको नेतृत्वमा रहेको काठमाडौँ मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लापरबाही गरेर बिरामीको मृत्यु भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप