बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सम्झनामा प्रयोगधर्मी नाटककार मोहनराज शर्मा

‘जुन किसिमले मोराशको सम्मान हुनुपर्थ्यो, भएनः कृष्णहरि बराल
शनिबार, १९ कात्तिक २०७९, १२ : ०४
शनिबार, १९ कात्तिक २०७९

साहित्यकार मोहनराज शर्माको बितेको करिब पाँच वर्ष भइसक्यो तर नेपाली साहित्यका क्षेत्रमा उनले छोडेर गएका कृतिले अविस्मरणीय बनाएको छ । 

नेपाली साहित्यिक जगतमा ‘मोराश’का नामले चर्चित शर्माको जन्म १९९४ कात्तिक १८ गते काठमाडौँको धर्मस्थलीमा भएको थियो । स्व. रुद्रनाथ ढकाल र स्व. तारादेवीका जेठा सुपुत्रका रूपमा जन्मिएका शर्माको न्वारानको नाम तुलसीप्रसाद ढकाल हो । 

शर्माका पिता बनारसमा ज्योतिष पेसामा संलग्न भएकाले यिनी बनारसमै बसेका थिए । शर्माले त्यहीँबाट प्राथमिकदेखि उच्च शिक्षासम्म शिक्षा आर्जन गरेका थिए । २०१७ सालमा काशी हिन्दु विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर तह उत्तीर्ण गरे । पिता रुद्र ढकालको मृत्यु भएपछि शर्मा सोही वर्ष नेपाल फर्किएका थिए । 

नेपाल आएपछि पनि उनले २०२२ सालमा प्राइभेट विद्यार्थीका रूपमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तर गरे । त्यसपछि जीवन निर्वाहको सिलसिलामा विसं २०२५ देखि मेची क्याम्पसबाट प्राध्यापन सुरु गरे । यसै क्रममा २०३० सालमा त्रिवि नेपाली केन्द्रीय विभागमा सरुवा भई त्यहीँबाट प्राध्यापक पदबाट अवकाश प्राप्त गरे । 

शर्माले साहित्यिक सिर्जना लेखन हिन्दी भाषामा ‘मनोराज्य’ निबन्ध र ‘ऋचाएँ’ कविता प्रकाशित गरेर सुरु गरेको देखिन्छ । ‘बिलु’ निबन्ध ब्रह्मपुत्र पत्रिकामा र ‘एकको एक हात लाग्यो शून्य’ दीपक पत्रिकामा २०१६ सालमा प्रकाशित गरी नेपाली साहित्यमा उनी प्रवेश गरेका देखिन्छन् । 

शर्माले साहित्यिक साधना कथा, नाटक, निबन्ध, समालोचना, भाषा–व्याकरण आदि विविध क्षेत्रमा विस्तार गरे । जीवनभर साहित्य साधनामा समर्पित रही उनले २०७५ साल माघ १० गते यस भौतिक संसारबाट सदाका लागि बिदा लिए । 

च्याँखे, कोर्रा, महाशून्य, वैखरी शर्माका चर्चित कथासङ्ग्रह हुन् । यस्तै आफ्नो बाटो, सम्झौता, एक सय चारवर्षे बूढो सर्प, नगर घुम्दा लाखेहरू, सरी रङ नम्बर, यातनामा छटपटाएकाहरू, जेमन्त÷यमा, वैकुण्ठ एक्सप्रेस, घाँसिक, आउ ढाको खोलौँ, अब बाँझो हुन्न, विषक्त फूलहरू उनका नाटक एकाङ्की हुन् । 

यस्तै इन्टरभ्यु स्पेसलिस्ट मिस्टर झप्पुसिं डबल एमए, पुछारको पातो आदि उनका निबन्ध हुन् । नेपालीका केही आधुनिक साहित्यकार, कथाको विकास प्रक्रिया, शैलीविज्ञान, समकालीन समालोचना सिद्धान्त र प्रयोग उनका समालोचनात्मक कृति हुन् । शब्दरचना र वर्णविन्यास, भाषावैज्ञानिक पद्धति उनको भाषिक कृति हो । 

‘वैकुण्ठ एक्सप्रेस’ नाटकले उनलाई साहित्यका क्षेत्रमा अब्बल व्यक्तित्वका रूपमा स्थापित गर्यो । यसले २०४२ सालको मदन पुरस्कार प्राप्त गरेपछि शर्माको साहित्यिक उचाइ अझ बढ्यो । यसले मैनाली कथा पुरस्कार पनि प्राप्त गर्यो । 

प्राध्यापक राजेन्द्र पराजुलीले ‘नेपाली समालोचनाः परम्परा र प्रवृत्ति’मा मोहनराज शर्माको खुलेर चर्चा गरेका छन् । उनले शर्माको लेखनलाई सिर्जना, भाषा व्याकरण र समालोचना गरी तीन भागमा विभाजन गरेका छन् । उनले शर्माका निबन्धमा हास्यव्यङ्ग्य मिश्रणमा पाइन्छन् भनेका छन् । 

सिर्जनामा मात्र होइन, समालोचनाका क्षेत्रमा पनि शर्मा उच्च स्तरका थिए । ‘नेपालका केही आधुनिक साहित्यकार’ शीर्षकको प्रायोगिक समालोचनाको ग्रन्थ २०२६ सालमा प्रकाशित गरेर पहिलो पटक समालोचनामा देखा परेका थिए । शर्माले देवकोटाका काव्य, कविताका ग्रन्थ सम्पादन गरेर आफ्नो समालोचकीय व्यक्तित्व स्थापित गर्न सफल भएको सुवेदीको मूल्याङ्कन छ । 

नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, कथाको विकास प्रक्रिया, शैलीविज्ञान, समकालीन समालोचनाः सिद्धान्त र प्रयोग जस्ता गहन कृतिले उनको समालोचकीय क्षमतालाई अझ प्रखर बनाएको देखिन्छ । प्रायोगिक समालोचनमा शैलीवैज्ञानिक पद्धति अँगाल्ने शर्मा ऐतिहासिक समालोचनाका क्षेत्रमा निकै विवादित पनि बनेको सुवेदी बताउँछन् । 

सिर्जनात्मक लेखनमा तीखो व्यङ्ग्य प्रहार गर्ने भाषाशैलीका प्रयोक्ता शर्मा नेपाली साहित्यका सचेत र प्रखर समीक्षक हुन् । कतिपय सन्दर्भमा विमति राख्न सकिने शर्माका लेखनमा रहेको हक्कीपनले उनलाई प्रखर समीक्षक सिद्ध गरेको सुवेदीले उल्लेख गरेका छन् ।

सुवेदीले आफ्नो कृति समालोचना परम्परा र प्रवृत्तिमा शर्मालाई सङ्क्षिप्त रूपले चिनाउने प्रयास गरेका छन् । उनले भनेका छन्– शर्माले भाषविज्ञान र नेपाली भाषामा नेपाली भाषाको स्रोत, स्वरूप र संरचनाको विकास प्रक्रिया र मौजुदा प्रवृत्तिलाई भाषावैज्ञानिक ढङ्गले अध्ययन गर्ने कार्य गरेका छन्, यसर्थ शर्मा नेपाली भाषाका व्याकरणलाई नयाँ आयामबाट स्थापित गर्न प्रयत्न गर्ने समीक्षक हुन् भनेका छन् ।

 रचनामा शिल्पविधान र भाषिक सीप सन्तुलित रहेको देख्न चाहने समालोचक हुन् शर्मा । नेपाली भाषामा भाषावैज्ञानिक सिद्धान्त र त्यसको प्रयोगलाई गम्भीर समालोचना गर्ने समीक्षक हुन् । भाषाका शब्दहरूको व्यक्तपादन र ऐतिहासिक आधारसमेत मसिनो ढङ्गले केलाउने समालोचक हुन् उनी । 

शर्माले २०४८ सालमा शैलीविज्ञान पुस्तक प्रकाशन गरे । यसमा उनले शैलीसम्बन्धी गहन अध्ययन गरेर आफ्नो धारणा प्रस्तुत गरेका छन् । शैलीविज्ञान भाषावादी सिद्धान्त र पद्धतिका रूपमा देखा परेको समालोचनाको नवीनतम विधा पनि हो । कुनै पनि कृतिको बनोट, बुनोट तथा शैली पक्षको विश्लेषण गरी त्यसको साहित्यिक सौन्दर्य खोतल्ने काम शैलीविज्ञानले गर्छ । 

कृतिगत आधारमा मात्र होइन, मोहनराज शर्माको व्यक्तिगत स्वाभाव पनि विशिष्ट खालको थियो । त्रिविमा एमए अध्ययनका लागि जाँदा बरिष्ठ गीतकार कृष्णहरि बरालले पहिलो पटक भेटेका थिए । तर उनले त्योभन्दा पहिले शर्माका पुस्तकहरू अध्ययन गरिसकेका थिए । उनलाई भेटेपछि अध्यापन गराउने विषयमा स्पष्ट ज्ञान र दक्षता हासिल गरेका प्राध्यापकका रूपमा पाएको बताउँछन् बराल । 

अध्यापन गराउँदा विद्यार्थीलाई कुनै अस्पष्टता बाँकी नराख्ने खालका शिक्षक थिए उनी । मोहनराज शर्मा पढाउँदा कुनै पनि अनावश्यक कुरा बोल्दैन थिए । विषयवस्तु जे छ ठ्याक्क त्यो मात्र पढाउने उनको स्वाभाव थियो । कुनै विद्यार्थीले हल्ला गर्यो भने सहँदैन थिए । विद्यार्थीहरू थपक्क बसेर सुन्ने गर्थे । उनको भाषा, व्याकरण, समालोचनामा सबै क्षेत्रमा दख्खल थियो । उनी स्रष्टा र द्रष्टा दुवै व्यक्तित्व थिए भन्छन् बराल । 

स्रष्टाका सन्दर्भमा उनले नाटकमा विशेष ख्याति पाए भने आख्यानमा पनि उत्तिकै चर्चा कमाए । स्वैरकल्पनालाई प्रयोग गरेर प्रयोगधर्मिता सिर्जना गर्ने, प्रयोगधर्मी आख्यान लेख्ने साहित्यकारका रूपमा मोहनराज शर्माको विशेष नाम आउने गरेको बराल बताउँछन् । स्वैरकल्पना र प्रयोगात्मकता उनका कृतिमा धेरै छ । 

शर्माको सिद्धान्त लेखनमा पनि आत्मपरकताभन्दा वस्तुपरकताको बाहुल्य बढी छ भन्छन् बराल । कुनै पाठलाई कुनै विषयलाई लिएर समालोचना गर्न थालेको हो, त्यो समालोचनामा ठ्याक्क भनिदिने किसिमको क्षमता मोहनराज शर्माबाट आफूले पनि प्राप्त गरेको उनी बताउँछन् । 

शर्मासँग मिलेर ‘भाषाविज्ञान र नेपाली भाषा’ भन्ने पुस्तक पनि २०५०÷५१ सालतिर लेखेका थिए बरालले । पहिले आईएका लागि लेखिएको र पछि परिमार्जन गरेर स्नातक तहको पाठ्यक्रमलाई पनि समेट्ने गरी तयार पारिएको थियो । त्यो पुस्तकपछि एमएको पाठ्यक्रममा समेत पर्यो । पछि पुनः परिमार्जन गर्ने भनेर योजना बनाउँदा बनाउँदै शर्मा बितेकोमा दुःख मान्छन् बराल । 

भाषाविज्ञानको केही मानस्वरहरू थप गरेर अक्सफोर्ड प्रकाशनबाट अहिले ‘भाषाविज्ञान र नेपाली भाषा’ प्रकाशित गरेको छु भन्छन् उनी । “उहाँसँग काम गर्दा अति सरल र सजिलो हुन्थ्यो, कुनै चिज लेखेर सर मैले यस्तो चिज लेखेको छु हेरिदिनुस् भन्दा हेर्नुहुन्थ्यो,” बराल सम्झन्छन् । 

शर्मा बाहिरबाट हेर्दा चाहिँ निकै कडा स्वभावका देखिन्थे । कुनै कुरामा अलिकति चित्त बुझेन भने फ्याट्ट भनिदिइहाल्ने स्वाभाव थियो उनको । धेरै कुरा नगर्ने ठक्क भनिदिने तर भित्रको चाहिँ अति नरम, भेटघाट हुँदै गएपछि शर्मासँग आत्मीयता एकदमै भएको, एकदमै सहयोगी मान्छे लाग्थ्यो बराललाई । 

“विषयवस्तु एकदमै बुझाएर पढाउने गर्नुहुन्थ्यो, लेखनमा सिर्जनात्मक प्रयोगधर्मी व्यक्तित्व हुनुहुन्थ्यो,” बराल भन्छन्, “अनेक किसिमको प्रयोग गरेर आफ्नो कृतिहरूमा वैचारिकतासमेत दिनुहुन्थ्योे ।” भावनामा बग्नेभन्दा विचारलाई प्रधानता दिएर लेख्ने स्रष्टाका रूपमा शर्मालाई सबैले चिन्ने गर्छन् । 

समालोचनाका सन्दर्भमा वस्तुपरकता धेरैभन्दा धेरै अवलम्बन गरेर आफूले दिएको शीर्षकलाई पूर्ण हुने गरी व्याख्या गर्ने क्षमता शर्मामा थियो । वैकुण्ठ एक्सप्रेस नाटकमा पनि प्रयोगधर्मिता रहेको र यसमा यात्राका रूपमा अगाडि बढाएर समकालीन विकृतिहरूलाई व्यक्त गर्ने काम उनले गरेका छन् । 

“विद्यावारिधि नगरे पनि राम्रो ज्ञाताको रूपमा मैले पाएको छु,” बराल भन्छन्,  “उहाँ प्राध्यापक हुनुहुन्थ्यो । तर उहाँको सम्मान जुन किसिमले हुनुपर्थ्यो, त्यस किसिमले सम्मान हुन सकेको देख्दिनँ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप