मेरो जीवन

‘त्यो गीतले कयौँ प्रेमीलाई मिलायो’

प्रेममा विछोड भए पछि मागी विवाह गरेँ : शिशिर योगी

person explore access_timeकात्तिक १९, २०७९ chat_bubble_outline0

शिशिर योगी नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा सङ्गीतकार हुन् । ‘सारङ्गी त रेटे पनि...’, ‘मानिस खोजिरहेको छु...’ लगायत थुप्रै कालजयी गीत दिएका योगी स्वर्गीय सङ्गीतकार अम्बर गुरुङका चेला हुन् ।


गुरुङसँग ७ वर्ष सङ्गीतको प्रशिक्षण लिएका योगीले २०४९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर औपचारिक गायन सुरु गरेका थिए । योगीले नेपाली साङ्गीतिक आकाशमा अहिलेसम्म करिब ५ सय गीतसङ्गीत दिएका छन् । आफ्नो गीतसङ्गीतले प्रेमीप्रेमीका मिलाएको, मानिसलाई प्रेरणा दिएको बताउने शिशिर योगीका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।





गाउँले खाना

टिपिकल नेपाली मेरो मनपर्ने खाना हो । त्यसमा पनि गाउँघरको शैलीमा पकाएको मनपर्छ । हरेक खानेकुरोको आआफ्नो टेस्ट हुने भएकाले मन नपर्ने भन्ने केही छैन । माछा, मासु खान्छु ।

रेस्टुरेन्ट एकदमै कम जान्छु । साथीभाइसँग भेट्न र मिटिङ पर्यो भने जान्छु । हाइजेनिक, सफा खानेकुरा जुन रेस्टुरेन्टमा पाइन्छ त्यहाँ मात्र जान मनपर्छ । रेस्टुरेन्टको बढी मनपर्ने थकाली खाना र मम हो । 

एक्सरसाइज गर्दिनँ

दैनिक एकदेखि डेढ घन्टासम्म सङ्गीतको रियाज गर्छु । त्यसैले फिजिकल एक्सरसाइज त हँुदैन । फिजिकल एक्सरसाइज नभएपछि फिट्नेसका लागि खानेकुरामा निकै ध्यान दिन्छु ।

१० वर्षदेखि म एकछाक मात्र भात खाने गरेको छु । अन्य समय सामान्य खाना खान्छु । डाइटिङबाटै फिट छु ।

सौखिन छैन

हिँड्दा, बस्दा र डुल्दा सजिलो पहिरन मनपर्छ । सर्ट, जिन्स पाइट, टिसर्टलगायत पहिरन प्रयोग गर्छु ।

फर्मल कार्यक्रम विदेशका भयो भने दौरासुरुवाल र टोपी अनिवार्य लगाउँछु । स्वदेशमा भने कार्यक्रम हेरेर कोट, पाइन्ट र दौरा सुरुवाल लगाउँछु । 

रातो, सेतो, नीलो र कालो मेरो पहिरनमा मनपर्ने रङ हो । पहिरन सकेसम्म ब्रान्डेट लिन्छु । सस्तो पहिरन फेरिरहनुभन्दा ब्रान्डेट लगाउन रुचाउँछु । 

ऐतिहासिक पुस्तक

अध्ययनमा रुचि भएकाले पुस्तकहरू धेरै पढ्छु ।  ऐतिहासिक, रियलस्टोरी, जीवनी र उपन्यासहरू पढ्छु । दैनिक सुत्नुभन्दा अगाडि एक डेढ घन्टा नियमित पुस्तक पढ्ने बानी छ ।

पुस्तक किनेरै पढ्ने बानी छ । बजारमा गएपछि ५०, ६० वटा नयाँ किताब एकै चोटि किनेर ल्याउँछु । आफूले किनेर पढेको पुस्तक घरमै राखेको भए ठूलो लाइब्रेरी हुन्थ्यो ।

तर मैले आफूले पढेका किताब विभिन्न लाइब्रेरीका लागि दिने गरेकाले घरमा अहिले धेरै पुस्तक छैन । अरूले पनि पढून् भन्ने चाहन्छु ।

पछिल्लो समय पढ्दै गरेको पुस्तक सुधीर शर्माको ‘प्रयोगशाला’ हो । यसबाट म नेपालको राजनीतिक जालो बुझ्दैछु ।

देश पूरै घुम्छु

घुमघाम एकदमै मनपर्ने विषय हो । देश नै धेरै पाएको छैन । मेरो ठूलो सपना एक पटक नेपाल पूरै हेर्ने, अविकसित ठाउँहरू पुग्ने र त्यहाँको जनजीवन, रहनसरहन र संस्कृतिको अनुभव गर्ने हो ।

अहिलेसम्म देशका केही जिल्ला घुमेको छु । विदेशको भने दुबई, कतार र बङ्गलादेश गएको छु । अहिले घुम्न मन लागेका ठाउँ स्विजरल्यान्ड हो । स्विजरल्यान्ड अहिले सबै मानिसको मुखमा झुन्डिएको छ । स्विजरल्यान्ड हेरेर त्यो र नेपालको मूल्याङ्कन गर्ने मन छ ।

भलिबल खेल्थेँ

स्कुले जीवनमा भलिबल खेल्थेँ । भलिबल मनपर्ने खेल हो । अहिले खेल्नभन्दा पनि हेर्न मनपर्छ । फुटबल र भलिबल हेर्छु । क्रिकेट अहिलेसम्म बुझ्दिन । भलिबल, फुटबलको त देश विदेशका चर्चित खेल छुटाउँदिनँ ।

आइफोन बोक्छु

अहिले मसँग वान प्लसको सस्तो, राम्रो मोबाइल छ । मोबाइल नहराए, नबिग्रिएसम्म फेर्दिनँ । मोबाइलमा युट्युब, फेसबुक, भाइबर, इमेल सामान्य चलाउँछु ।

मोबाइलमा विज्ञानका कुराहरू धेरै हेर्छु । सूर्य, ग्रह लगायतका विभिन्न कुराको जानकारी लिन्छु ।

टीभी/फिल्म

टीभी पहिले धेरै हेर्ने । अहिले मोबाइलमा सबैथोक आउने भएकाले कम भएको छ । टिभीमा समाचार, छानेर साङ्गीतिक कार्यक्रम, कमेडी र राम्रो कथामा बनेका सिरियल हेर्छु । कृतिमा आधारित सिरियल पनि हेर्ने गरेको छु । मुक्ति र अबिरल बग्दछ इन्द्रावती मलाई धेरै मनपरेको सिरियल हो ।

फिल्म भने मेरो मनोरञ्जनको प्रमुख साधन पनि हो । सातामा एक वा दुई फिल्म हेरेकै हुन्छु । त्यो पनि एक्लै गएर हलमै हेर्छु । नेपाली, हिन्दी, अङ्ग्रेजी सबै प्रकारका फिल्म मनपर्छ । पछिल्लो समय ‘झोला’ पछि एउटा फिल्म हेर्न गएको थिएँ । त्यसको नाम लिन्न । त्यो चित्त बुझ्दो नभएर अनि नेपाली फिल्म हरेको छैन ।

म बेरोजगार

अहिले म बेरोजगार हो । १३, १४ वर्ष मैले रातोबङ्गला स्कुलमा सङ्गीत, गायन प्रशिक्षकको रूपमा जागिर गरेँ । वरिष्ठ पत्रकार कनकमणि दीक्षित सरको छोरा र छोरीलाई पनि सङ्गीत सिकाउँथे । त्योबाहेक एक दुई स्कुलमा पनि सिकाउँथे ।

मेरो जागरिलो, ऊर्जामूल समय त्यतै बित्यो । त्यसले काठमाडाँैमा मलाई टिक्न र बस्न सजिलो भयो । अहिले भने त्यो समयको पछुतो छ ।

म अध्ययनभन्दा पनि नियमित सङ्गीततिर लागे । त्यसले गर्दा अन्य कामको चासो भएन । केही अगाडि एक, दुईवटा प्रशिक्षण केन्द्रमा सङ्गीतको प्रशिक्षण दिन थालेको थिए । धैर्यता, लगनसिलता, इच्छाशक्ति, मार्गदर्शन मान्ने आज्ञाकारी विद्यार्थी नभेटेर प्रशिक्षण छोडिदिए । 

सबैथोक सङ्गीत

रोजगारी, खेतीपाती, रुचि र व्यवसाय जे भने पनि मेरो सङ्गीत हो । बाल्यकलादेखि नै म मोहम्मद रफी, नारायण गोपाल, बच्चु कैलाश, फत्तेमानलगायतका गीत रेडियोमा सुन्थेँ र गाउँघर, जिल्लाको सबै कार्यक्रममा गाउँथे । त्यसैले २०४८ मा सङ्गीत सिक्न भनेर काठमाडौँ छिरेँ । गुरु कस्तो चाहिन्छ, को रोज्ने केही थाहा थिएन ।

गाउँमै हुँदा नौलाखे तारा उदाय र मालती मङ्गलेका गीतहरू सुनेर रुन्थे । त्यसैले सङ्गीत प्रशिक्षकका लागि अम्बर गुरुङ चयन गरेँ । उहाँ गीतसङ्गीतको महारथी हुनुहुँदोरहेछ ।

त्यो भने थाहा थिएन । उहाँसँग १२, १३ वर्ष नेपाली आधुनिक र नेपाली लोकसङ्गीत सिके । २०४९ सालमा रेडियो नेपालको स्वर परीक्षामा पास भए । १२०० सयले परीक्षा दिएकोमा ९ जना पास भएका थिए । त्यसमा म पनि परे । त्यो बेला एक चिनजानमार्फत रेडियोको एक मानिस भेटे । उहाँलाई मेरो सपना बताए । तपाइको मिहिनेत पर्छ नै राम्रो हुन्छ भन्थे । त्यो सोर्सफोर्सले पनि काम गर्यो । त्यो नगरेको भए फेल हुन्थे कि । 

‘दिलको प्यास म कहाँ गएर मेटाऊँ’ मेरो पहिलो रेकर्ड भएको गीत हो । त्यसपछि ३ वटा अन्य रेकर्ड गराएको थिए । कुनै पनि चलेन ।

२०५८ मा रेकर्ड भएको ‘सारङ्गी त रेटे’ मेरो पहिलो हिट गीत हो । यो एल्बमको ‘यो देशमा एउटा मानिस खोजिरहेको छु’ पनि हिट भयो । ‘सारङ्गी त रेटे पनि..’ गीत सुनेर मानिसहरू धेरै रुन्थे । भक्कानिएर कतिपयले फोन गर्थे । यो गीतले धेरैलाई रुवाएको छ । यो गीत गाउँदै गर्दा म पनि भावुक भएर रोएको थिएँ । गीत धेरैको जीवनसँग मेला खान्थ्यो । त्यो गीत सुनेर विद्यार्थीहरूसमेत रुँदै फोन गर्थे । त्यो गीतले कयौँ प्रेमीप्रेमीका समेत मिलाएको भनेका छन् । तपाईंको गीतले मेरो जीवन बच्यो, म सम्हालिएँ, बाँच्न सिकायो भन्ने पनि धेरै भेटिए । कार्यक्रममा कतिपयले तपाईंको गीत सुनेर विदेशको भिसा समेत च्यातेर बसेको छु समेत भनेका छन् ।

अहिलेसम्म करिब ४ सय ८७ गीत रेकर्ड भएको छन् । माथिका दुईबाहेक चौतारीमा बरै ढलेछ, आमाले घाँस काट्दै, तिमीले पराई ठानेपछि पराई हुन के भर भयो र, आमा, बोल्ने कोही छैन लगायत दर्जनौँ सुपरहिट छन् । मनछुने रचना भयो भने जुनै विषयवस्तुको पनि गीत गर्न मनपर्छ । शब्दले मन नछोएका भने म गीतसङ्गीत गर्दिनँ । 

मलाई गायन तथा सङ्गीत दुवै विधामा सन्तुष्टि मिल्छ । बाहिरको गीतकोसङ्गीत धेरै नगरेकाले मानिहरू मलाई घमन्डी भन्छन् होला । तर मैले शब्द चित्त नबुझेर नगरेको हो ।

सुखदुःख 

दिनरात, सेतोकालो, अँध्यारो उज्यालो, हाँसो रोदन जसरी प्रकृतिमा हरेक कुरो बराबर छ । त्यो नङ र मासुजस्तै हो । दुःख स्वीकार नगरी सुख हुँदैन । जसले दुःख खुसी भएर अँगाल्छ । त्यो मात्र सुखको लाएक हो । त्यसैले दुःख आफैँले निम्त्याएको समस्या हो । जहाँ दुःख हुँदैन त्यहाँ सिर्जना हुँदैन । दुःख जहाँ हुन्छ त्यहाँ सिर्जना राम्रो हुन्छ । त्यो नै कालजयी बन्छ । 

मागी विवाह 

विसं २०५० मा मैले मागी विवाह गरेको हो । मेरो लागि केटी साथीहरूले खोजिदिएका हुन् । विवाहअगाडि एक जनासँग प्रेम थियो । त्यो प्रेममा बिछोड भए पनि साथीभाइले खोजिदिएको खड्काकी छोरीसँग पारिवारिक सहमती विवाह गरेको हो । विवाहपछि श्रीमतीलाई प्रेम गरे र अहिले पनि त्यो प्रेम जारी छ ।

गायक, सङ्गीतकार भनेकाले माया गर्छु, विवाह गरौँ भन्ने धेरै भेटिँदा रहेछन् । त्यो प्रेम होइन, त्यो आकर्षण मात्र हो । त्यो केही समय पनि टिक्दैन । 

त्यो सपना

अहिलेसम्म केही सपना देखेको छैन । आफूले क्षमताले भ्याएका गर्दै जाने हो । गीतसङ्गीतबाट देश उन्नत पार्न मानिस सुसज्जित गर्न लागि परेको छु । देश राम्रो होस्, नागरिक सबै सुखी हुन् भन्ने सपना मेरो हो ।

खराब बानी

मन उकुसमुकुस हुने भएकाले बोल्दा बोल्दै फत्फताउँछु । कम बोल्नुपर्छ जति कम बोल्या त्यति कम ऊर्जा खर्च हुन्छ र क्रियटिभ भइन्छ भन्ने थाहा छ । तर बिर्सन्छु । बिर्सिने बानी मेरो खराब बानी हो । 

भूल

जीवनमा जानीनजानी भूल धेरै भयो होला । तर अहिलेसम्म सधैँ पछुताउनुपर्ने भूल भएजस्तो लाग्दैन । कतिपयले गीतसङ्गीत रोज्नु भूल भन्छन् । म त्यो मान्दिनँ ।

रोग छ

करिब ५ वर्षदेखि ब्लड प्रेसर छ । त्यसका लागि नियमित औषधि लिन्छु । भगवान्को कृपाले त्योबाहेक अन्य रोग केही छैन, फिट एन्ड फाइन छु । 

मापसे गर्छु

मापसे गर्छु । साथीभाइको जमघट र पार्टीहरूमा कहिलकाही एक दुई पेक लिन्छु । त्यो पनि अहिले कम गर्दै लागेको छु । यो ब्रान्ड भन्ने छैन । अर्गानिक र ब्रान्डेटको भर लाग्छ । रक्सी घरमा सजाएर राख्ने बानी छैन । 

राशि ‘मीन’

मेरो चिना हराएकाले जन्मिएको समय दिन अनुसार ब्राह्मणले दिएको राशि ‘सिंह’ हो । बुबाले भन्ने ‘कुम्भ’ । त्यसैले राशीमा म कन्फ्युज छु । कहिले काही हेराउने जुराउने गर्छु । धर्मप्रति आस्था छ । 

मृत्यु

मृत्यु सबैभन्दा ठूलो शक्ति हो । मानिसलाई राम्रो बाटोमा लाने कि नराम्रो तिर लागे त्यो एउटै चिज हो मृत्यु । जसले मृत्यु सम्झेर पलपल सदुपयोग गरेर समाजका लागि, देशका लागि र अरूका लागि काम गर्छ । त्यसले नै राम्रो जीवन पाउँछ । मृत्यु अकाट्य छ । मृत्युपछि पनि सम्झने कर्म हामीले गर्नुपर्छ । त्यो मबाट केही भएको छ, अझै प्रयासरत पनि छु । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।