ओलीको बोलीले उल्टियो एमालेको निर्णय, देउवाविरुद्ध कर्ण मल्ललाई फेरि समर्थन
डडेल्धुरामा नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ललाई सहयोग गर्ने नेकपा एमालेले निष्कर्ष निकालेको छ । डडेल्धुरामा एमाले र कांग्रेस बीपीबीच भाँडिएको चुनावी तालमेल पुनः कायम भएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महेन्द्रनगरको चुनावी सभामा डडेलधुरामा मल्ललाई समर्थन गर्न निर्देशन दिएका थिए । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले वक्तव्य निकाल्यो भनेर । तर त्यस्तो अधिकार अरुलाई छैन,’ ओलीले भने ।
डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको थियो । एमाले डडेलधुराका अध्यक्ष प्रकाश साउद र सचिव शिवराम ताम्राकारले विज्ञप्ति जारी गर्दै स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गरेका थिए ।
तर ओलीले त्यो विज्ञप्ति निकाल्ने अधिकारी उनीहरुलाई नभएको भन्दै मल्ललाई समर्थन गर्न निर्देशन दिएका थिए । ओलीको निर्देशनपछि एमाले डडेल्धुराले मल्ललाई समर्थन गर्न बाध्य भएको छ ।
एमाले डडेलधुराका अध्यक्ष प्रकाश साउदले अब पार्टीले मल्ललाई समर्थन गर्नेमा सन्देह नरहेको बताए । उनले भने, ‘अब एमालेको समर्थन कर्ण मल्ललाई नै हो । अध्यक्ष नै बोलेपछि कुनै दुविधा नै रहने । हामी जिल्लाले भनेको कुरा कटप भइहाल्यो ।’
तर कांग्रेस बिपीले प्रदेश (२) एमालेलाई समर्थन गर्ने नगर्ने नैतिकताको विषय भएको साउदले बताए । उनले भने, 'हामीले कर्ण मल्लजीलाई समर्थन गर्छौँ । उहाँले प्रदेश (२) मा हामीलाई समर्थन गर्नुहुन्छ भन्ने विश्वास छ । तर गर्नु भएन भने पनि कारबाही गर्ने विषय भएन । यो उहाँको राजनीतिक नैतिकताको कुरा हो ।'
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग एमाले र कांग्रेस बीपीको साझा उम्मेदवारका रुपमा मल्लले प्रतिस्पर्धा गर्ने निश्चित भएको हो । कांग्रेस बिपीसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेलधुरामा प्रतिनिधिसभा तर्फको उम्मेदवारी फिर्ता लिएको थियो ।
प्रतिनिधिसभामा कांग्रेस बिपी र दुवै प्रदेशसभा एमालेले लिने गरी चुनावी तालमेल भएको थियो । तर मल्लले प्रदेश (२)मा सत्ता गठबन्धनमा विद्राेह गरी स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका तारा जोशीलाई समर्थन गरेपछि एमालेले समर्थन फिर्ता लिएको थियो ।
त्यसपछि डडल्धुरामा प्रतिनिधिसभा उम्मेदवार विहीन भएको एमाले डडेल्धुराले एमालेमा विद्रोह गरी स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गरेपछि मल्ल दबावमा परेका थिए ।
यो बीचमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले फोन गरेर मल्ललाई पार्टीको समर्थन रहने बताएका थिए । ओलीले समर्थनको सार्वजनिक घोषणा गरेपछि मल्ल पनि ढुक्क देखिएका छन् ।
मल्लले भने, ‘महासचिव र उपमहासचिवले फोन गरेर पनि एमालेको समर्थन तपाईँलाई नै हो भन्नु भएको थियो । एमाले अध्यक्षज्यूले नै बोलिसकेपछि ढुक्क भइयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँः मन्त्री भण्डारी
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक, नेपाल जिततर्फ अग्रसर
-
तीन तहबिच स्रोतको न्यायोचित वितरण सुनिश्चित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्छः मन्त्री अधिकारी