पूर्वाधार विकास र जनताको आधारभूत आवश्यकता पूरा गर्छौँ : बानियाँ
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पूर्वाधार विकास र आम जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मनहरी गाउँपालिका वडा नम्बर- १ र २ को संयुक्त रूपमा आयोजना गरेको चुनावी कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारसमेत रहेका बानियाँले मुलुकमा पटक–पटक व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेकाले आगामी निर्वाचन पछि गठबन्धनको नेतृत्वले आम जनताको समस्या पहिचान गरी समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले साँढे ३ वर्षसम्म बागमती प्रदेश सरकारको नेतृत्व गरेको एमालेले २ नम्बर क्षेत्रको पूर्वाधार विकासमा उपेक्षा गरेको भएपनि गठबन्धनको सरकार आउनासाथ १० महिनाको अवधिमा ३ अर्बभन्दा बढी बजेट विनियोजन गरिएको बताए । नेकपा एमालेले गरेको भ्रमको खेतीले जनताको पेट नभरिने बताउँदै बानियाँले भ्रष्टाचारमा लिप्त, राजतन्त्र फर्काउन खोज्ने र देशलाई टुक्र्याउन खोज्नेहरूसँग केपी ओलीको साँठगाँठ रहेकोले एमालेलाई जरैदेखि उखेल्नुपर्ने बताए ।
त्यस्तै बानियाँले शुक्रवार नै मंसिर ४ गते हुने निर्वाचनको तयारीको विषयमा भइरहेको कामहरूको बारेमा प्रदेशसभा सदस्यका उम्मेदवारहरूसँग अन्तरक्रिया गरेका छन् । उनले भर्चुअल माध्यमबाट पार्टीका प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारहरूसँग निर्वाचनको तयारीको विषयमा परेका समस्याहरू, निर्वाचन परिचालनको अवस्थालगायतको बारेमा छलफल गरेका हुन् । छलफलमा प्रदेशमा कांग्रेसबाट प्रत्यक्षतर्फ ४१ जना र समानुपातिकतर्फका ४४ जना उम्मेदवारहरू सहभागी थिए । छलफलमा सभापति बानियाँले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जिम्मेवार ढंगले अभियानमा लाग्न निर्देशन दिए ।
चुनावी तयारीको क्रममा केही समस्या, केही चुनौतीहरू आउनसक्ने भन्दै त्यसलाई सुझबुझका साथ समाधान गर्दै जानुपर्ने बताए । चुनावी कार्यक्रमहरु के कसरी सञ्चालन भइरहेका छन् भन्नेबारे पनि उम्मेदवारहरूबाट जानकारी लिइएको थियो । पार्टीले प्रदेशबाट पठाएको चुनावी डकुमेन्टहरू सबै क्षेत्रमा पुगे नपुगेको बारेमा पनि सभापति बानियाँले चासो राखेका थिए । लोकतान्त्रिक बाम गठबन्धन आजको आवश्यकता भएको भन्दै गठबन्धनभित्रका दलहरूका उम्मेदवारलाई जिताउन सबै पार्टीका नेता कार्यकर्तालाई उत्प्रेरित गर्नसमेत सभापति बानियाँले उम्मेदवारहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो