शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीलंकामा ५७ लाख मानिसलाई मानवीय सहायता आवश्यक : राष्ट्रसंघ

शुक्रबार, १८ कात्तिक २०७९, २० : ०८
शुक्रबार, १८ कात्तिक २०७९

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो । 

ओसीएचएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रणाली, सेवा र सुविधाहरूको समस्यालाई सम्बोधन गर्न तत्काल मानवीय सहायता र उच्च हस्तक्षेपबिना यो सङ्ख्या बढ्नेछ र दक्षिण एसियाली देशमा यसको परिणाम अझ गहिरो हुनेछ ।” “आर्थिक सङ्कटका कारण खाद्य सुरक्षा र जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ भने अस्पतालको प्रसूति सेवा, यौन तथा प्रजनन स्वास्थ्य सेवालगायत शिक्षा र स्वास्थ्य सेवाजस्ता आधारभूत सेवाको पहुँच र उपलब्धतामा बाधा पुगेको छ,” विज्ञप्तिमा भनिएको छ ।

जैविक खेतीमा असफल कृषि अभ्यासले ल्याएको घरेलु कृषि उत्पादनमा आएको गम्भीर गिरावटले सङ्कटलाई गहिरो बनाएको ओसिएचएले जनाएको छ ।  श्रीलङ्कामा खाद्यान्न, इन्धन, खाना पकाउने ग्याँस, औषधि र अन्य आवश्यक वस्तुहरूको गम्भीर अभावको साथ समष्टिगत आर्थिक सङ्कटले जटिल मानवीय आपत्कालीन स्थिति ल्याएको र लाखौं मानिसहरूले बढ्दो रूपमा कष्ट भोगिरहेका छन् । 

सर्वेक्षणमा सहभागी ९६ प्रतिशत घरधुरी हालको सङ्कटका प्रभावित भएका छन् र घरेलु स्तरमा मुख्य प्राथमिकताका तीन आवश्यकता खाद्यान्न, स्वास्थ्य र जीविकोपार्जनसँग सम्बन्धित रहेका देखिएको छ । विदेशी मुद्राको अभावको सामना गरिरहेको, अत्यावश्यक आपूर्ति र खाद्य वस्तुहरूको समेत अभाव भएकोले श्रीलङ्काले आफ्नो देशको इतिहासमा सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । (रासस/एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप