शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

चाडपर्व सकिएसँगै युवा भारत फर्किए

शुक्रबार, १८ कात्तिक २०७९, १४ : ५०
शुक्रबार, १८ कात्तिक २०७९

दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन् । 

मङ्सिर ४ गतेको निर्वाचन आउन दुई साताको अवधि रहँदा नेताहरु मतदाता रिझाउन गाउँगाउँ पस्दै गर्दा युवाहरु गाउँ छाड्न थालेका छन् । चाडबाड बनाउन दसैँअघि गाउँ आएका युवाहरु तिहार सकिएसँगै कामको खोजीमा भारतका विभिन्न गन्तव्यका लागि टिकट काट्न थालेका हुन् । सुदूरपश्चिमका युवाहरुका लागि श्रमको भरपर्दो गन्तव्य भारत हो । हाल कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ चार सयभन्दा बढी युवाहरु कामको खोजीमा छिमेकी मुलुक भारत फर्कन थालेको सीमास्थित सशस्त्र प्रहरी बल बोर्डर अफ पोस्टले जानकारी दिएको छ । 

लामो समयदेखि भारतको मुम्बईमा काम गर्दै आएका डोटीका नारद खडकाले आफू चाडपर्व मनाउन घर आएको र अब फेरि भारत फर्कन लागेको बताए । “नेपालमा काम पाउन गाह्रो छ, काम पाइहाले पनि यहाँको कमाइले खर्च धान्न गाह्रो पर्ने भएपछि भारत जान बाध्य भएको हुँ”, उनले भने । 

भारतको पञ्चाबमा काम गर्दै आएका धनगढी उपमहानगरपालिका– २ का सन्तोष आउँजीले काम गर्नका लागि भारत जानुको विकल्प नभएको बताए । गाउँमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरु विभिन्न योजना लिएर गाउँ पस्दै गर्दा बेरोजगार युवाहरु भने भारतमा मजदुरी गर्नका लागि बाटो तताउँदै गरेका छन् । 

दसैँ र तिहार मनाउन घर फर्किनु भएका कैलाली ओलानीका जीतबहादुर कामी पनि यतिबेला भारत फर्कने तयारीमा छन् । “यहाँ भोट हाल्न बस्ने हो भने आम्दानी केही हुँदैन, घर खर्चका लागि भारत जानुको विकल्प छैन”, उनले भने । सूदुरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका युवाहरु जागिरको खोजीमा भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, हरियाणा, बैङ्लोर लगायतका शहरमा जाने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप