बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुला पुगेर ओलीले भने– दिलेन्द्र बडू अब दार्चुला नफर्के हुन्छ !

‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग फिर्ता ल्याउँछौ’
शुक्रबार, १८ कात्तिक २०७९, १४ : ३९
शुक्रबार, १८ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग फिर्ता ल्याउने दावी गरेका छन् । साथै उनले कांग्रेस नेता तथा मन्त्री दिलेन्द्र बडूलाई दार्चुला नफर्कन सुझाव समेत दिएका छन् । 

शुक्रबार दार्चुला सदरमुकाममा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग एमालेले फिर्ता ल्याउने भन्दै मन्त्री समेत रहेका कांग्रेस नेता बडु मन्त्री भएर पनि दार्चुलालाई नहेरेको र मिचिएको भूमि फिर्ता ल्याउने कुनै प्रयास नगरेको भन्दै भन्दै अब बडूको काम नभएको र गुमेको भूमि एमालेले फिर्ता गर्ने बताएका हुन् । 

चुनावपछि एकदिन आफू दार्चुलामा बस्नेगरी र स्थानीयसँग फोटो समेत खिचाउनेगरी आउने भन्दै ओलीले दार्चुलामा बाटो पुर्याउने काम आफूले गरेको दावी गरे ।  ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग फिर्ता ल्याउँछ, दार्चुलामा बाटो एमालेले ल्याएको हो । सीमासम्म नै पुर्याउनुपर्नेछ, तर चट्टान भएकाले केही वर्ष लाग्नसक्छ’, ओलीले भने, ‘अब महाकाली नदीको तटबन्धनले दार्चुला बजार भत्काउन पाउने छैन । त्यसको ग्यारेन्टी एमालेले गर्छ । म गर्छु’, ओलीको भनाइ छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देशभक्त शक्ति एमालेले निर्वाचनपछि सरकार बनाउने भन्दै गठबन्धन टालाटुली बटुलीजस्तो भएको मात्रै बताए । उनले मन्त्री भएर पनि दिलेन्द्र बडूले केही नगरेकोमा कटाक्ष गरे ।  ‘दिलेन्द्र बडूजीले यो सभा देखेपछि काठमाडौं नै बसे हुन्छ । यता नहेरे पनि हुन्छ । मन्त्री भएर उहाँले के गर्नुभयो ? काठमाडौंमा हुँदा दार्चुला सम्झनुभो उहाँले ?’, प्रश्न गर्दै ओलीले भने, ‘यहाँका समस्या सम्झनुहुन्न, यहाँको उत्पादन र आत्मनिर्भरबारे सोच्नुभएन । भेडापालन, चौरी पालन गर्न सकिन्छ । त्यो निर्यात गर्न सकिन्छ ।’

उनले आज दार्चुला र कालापानी विश्वले चिन्ने भएको भन्दै  व्यास हिमालका फेदको छुर्पी नचिन्ने विश्वमा को होला ? भनेर प्रश्न गर्दै भने, ‘तर त्यसको व्यवस्थापन गर्न सकिएको छैन, गर्नुपर्छ ।’  कार्यक्रममा कार्यकर्ताको उपस्थिति देखेर उत्साहित भएका ओलीले भने ‘एमालेप्रतिको यो विश्वास र उत्साहलाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरुको आशा निराशामा परिणत हुन दिनेछैन ।’

उनले दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेश ठगुन्ना तथा प्रदेशसभाका रामभक्त जोशी र हरदेव जोशीलाई विजयी बनाउन आग्रह समेत गरे । ओली दार्चुलाको कार्यक्रम सकेर बिहीबार नै बैतडी र कञ्चनपुरको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप