बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुरु भयो गगन थापाको प्रचार प्रसार, सिंह र मिश्र आक्रामक (फोटोफिचर)

शुक्रबार, १८ कात्तिक २०७९, ११ : २७
शुक्रबार, १८ कात्तिक २०७९

एकादशीको दिन बिहान चाबहिल गणेशस्थानमा पूजा गरेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफ्नो चुनावी प्रचार सुरु गरेका छन् । गणेश मन्दिरमा भेला भएका नेता कार्यकर्तासँगै उनी घरदैलोमा निस्किएका हुन् ।

घरदैलो सुरु भएको केही बेरमै गणेस्थानबाट ओरालो लाग्दै गर्दा एक वृद्ध दम्पतीले उनलाई  जीतको शुभकामना  दिए । अघि बढ्दै जाँदा उनको गला खादा र मालाले भरियो । उनका प्रचारकहरुले उनको खादा र माला निकाल्थे तर केही बेरमै पुनः माला र खादाले गला भरिन्थ्यो ।

उनको चुनावी र्यालीमा प्रदेशसभाका उम्मेदवार र अन्य समानुपातिकका उम्मेदवार समूह बनाएर निस्किएका छन्। बाटोमा भेटिएका मानिसहरुसँग थापा कहिले हात मिलाउँथे त कसैलाई नमस्कार गर्थे । उनको हात अधिकांश समय नमस्कार मुद्रामा देखिन्यो । 

प्रचारमा हिँडिरहँदा उनीसँग सेल्फी खिच्न आउनेको कमी थिएन । स मंसिर ४ मा हुने चुनावमा जीत हासिल गर्ने आत्मविश्वास उनको अनुहारमा देखिन्थ्यो । काठमाडौं क्षेत्र नम्बर ४ मा राम्रो प्रभाव जमाएका थापालाई नचिन्ने विरलै भएकाले पनि होला उनका प्रचारकहरु भने वरिपरिका पसलहरुमा पर्चा बाँड्न र उनको समर्थनमा नारा लगाउन व्यस्त थिए । थापा भने बाटोमा देखिएका र छेवैबाट जाने हरेक मानिसलाई अभिवादन गर्दै अघि बढिरहेका थिए । 

यता काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेसका प्रत्यक्ष तर्फका हेविवेट उम्मेदवार प्रकाशमान सिंह र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट प्रत्यक्ष तर्फको उम्मेदवार बनेका रवीन्द्र मिश्रको प्रचार प्रसार थापाको तुलनामा अलिक आक्रामक थियो ।

पूर्व पत्रकारसमेत रहेका मिश्र बाटोमा र पसलमा रहेका मानिसलाई आफ्नो पुरानो व्यवसाय सहितको परिचय दिइरहेका थिए । बबरमहल क्षेत्रमा शुक्रवार बिहान प्रचार गरिरहेका मित्रका प्रचारक नेपालीको छातीमा भन्ने गीत स्पिकरबाट बजाउँदै “भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हो” नारा लगाउँदै राप्रपाको अभियान भ्रष्टाचार हटाउनु नै रहेको बताउँदै हिँडेका थिए । हरेक मानिसलाई नमस्कार गर्दै प्रचार अघि बढेका मिश्रले रातोपाटीकर्मीलाई पनि  आफ्नो परिचय दिँदै “म पनि पहिला पत्रकार थिएँ नि” भन्न भ्याए ।


“यो पटक त्यस्तो हुन्न । मैले जिते भने तपाईहरुले दिन दिनै भनेको समयमा भेट्न पाउनुहुन्छ । अघिल्लो पटकको चुनावमा २ दिन अघि के गरे गरे । तर यो पटक हामी बेग्लै तरिकाले प्रस्तुत हुन खोज्दैछौं । यसका लागि तपाईहरुको साथ, सहयोग र सद्भाव चाहिएको छ ।” हरेक घरमा पुग्दै उनी मुस्कानका साथ हात जोडेर मतदातालाई रिझाउन खोज्थे ।

यता प्रकाशमान सिंह भने हरेक घरमा गेट र ढोका ढक ढकाउँदै छिरेर घरका सदस्यहरुलाई भेट्ने कोसिस गरिरहेका थिए । “यसपाली हामीलाई है” हरेक मतदातालाई नमस्कार र हात मिलाएर उनी भनिरहेका थिए ।

गगन थापाको तुलनामा सिंह अलिक हतासिएका जस्तो देखिन्थे । ओलीले संसद विघटन गरे पछि आएको राजनीतिक तरंगलाई उदृत गर्दै उनले गठबन्धनको मुख्य उद्देश्य भनेकै आर्थिक विकास भएको भनि मतदातालाई विश्वस्त पार्न खोजिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप