शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा बलिसहित जात्रा सम्पन्न

बिहीबार, १७ कात्तिक २०७९, २१ : ३८
बिहीबार, १७ कात्तिक २०७९

बैतडी जिल्लाको प्रमुख शक्तिपीठमध्येको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आज पशु बलिसहित जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका–८ मा रहेको उक्त मन्दिरमा कात्तिक १४ गतेदेखि पूजापाठ भएर आज राँगा र बोकाको बलिसहित जात्रा सम्पन्न भएको हो । 

मन्दिरका मुखिया चन्द्रसिंह थापाका अनुसार ८० राँगा र ८० बोका गरी एक सय ६० पशुको बलि दिइएको हो । यो मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य मेला लाग्ने गर्दछ । यो जात्रामा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरीमा लाग्ने मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । 

रणशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा तीन रात तीन दिन जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । त्रिपुरासुन्दरीलाई रणशैनी भगवतीको नामले समेत पूजाआजा गर्ने चलन रहिआएको छ । जात्राका लागि दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको थियो । 

त्रिवेणीधाममा मेला, नगरद्वारा दुई दिन सार्वजनिक बिदा
 
बैतडीको पुर्चौंडी नगरपालिकाको हाटस्थित राताशीला त्रिवेणीधाममा लाग्ने कफलखाना गिरेगडा मेलाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै हरिबोधिनी एकादशीको दिन कफलखाना गिरेगडा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिएको जनाएको छ । 

बिहीबार र शुक्रबार सार्वजनिक बिदा रहेकाले दुई नगरक्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्थालगायत सार्वजनिक निकाय बन्द रहने नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । कफलखाना गिरेगडा मेलालाई पुर्चौंडी क्षेत्रको सबैभन्दा ठूलो मेलाका रूपमा लिने गरिन्छ । यो मेलामा भकुण्डो खेल्ने परम्परा रहेको र यो नै मेलाको मुख्य आकर्षण रहेको बताइन्छ । 

यस्तै मेलालाई शान्तिपूर्णरूपमा सञ्चालन गर्नका लागि मेलास्थललाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ । कसैले मदिराको कारोबार र सेवन तथा जुवातास खेले अथवा खेलाएको पाइएमा कानूनअनुसार कारबाही हुने बताइएको छ । 

यसैबीच ‘कला, संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगडा मेला पुर्चौंडीको पहिचान’ भन्ने मूल नारासहित ड्यौडा प्रतियोगिता सञ्चालन गरिएको छ । यसअघि बैतडीको दशरथचन्द नगरपालिकाले प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्राका लागि बिहीबार र पाटन नगरपालिका–२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप