बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : रवि लामिछानेले देखाए २११० को सपना, रेशमको ९ राजनीतिक उद्देश्य

बिहीबार, १७ कात्तिक २०७९, २० : ५९
बिहीबार, १७ कात्तिक २०७९

आज मिति २०७९ साल कात्तिक महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सभापति रवि लामिछानेले पार्टीले पाँच वर्षमा गर्नसक्ने जति विषय समेटेर जनतासामू वाचा पत्र सार्वजनिक गरेको बताए ।

जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आम निर्वाचनहरूमा बढीभन्दा बढी नागरिक सहभागितालाई प्रवर्द्धन गर्ने बाचा गरेको छ । यस्तै झण्झटरहित सरकारी सेवाका लागि जिम्मेवार, प्रभावकारी र पारदर्शी सरकार सञ्चालन गर्ने बाचा गरेको छ। 

भ्रष्टाचार देश विकासका मुख्य बाधक भएको भन्दै सो पार्टीले यसविरुद्ध निर्ममरुपमा प्रस्तुत हुने बाचा पनि गरेको छ । महिला तथा अन्य लिंगका व्यक्तिहरूलाई समाजमा स्वतन्त्र, आत्मनिर्भर र सम्मानित बनाउँदै समाज विकासको मूलधारमा स्थापित गर्ने वाचा सो पार्टीले  गरेको छ ।

​२११० को बाचा

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले अघि सारेको वाचा पत्रले अबको ३१ वर्षमा देश निर्माणका लागि आधार तयार हुने दाबी गरेको छ । ‘यो वाचा पत्रले अबको ३१ वर्षपछि विसं २११० मा राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको नेपालको लागि आधार तयार पार्ने छ’, वाचापत्रको पृष्ठ ३४ मा उल्लिखित हाम्रो परिकल्पनाको देश शीर्षकमा भनिएको छ ।

​२. रेशमको राजनीतिक एजेण्डा

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितका ९ राजनीतिक एजेण्डा अघि सारेको छ । पार्टीको एजेण्डा वा राजनीतिक उद्देश्यका लागि अनवरत संघर्षरत रहने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।

‘नागरिक उन्मुक्ति पार्टी विद्रोहबाट जन्मिएको पार्टी हो । यसले अझै केही विषयमा अहिंसित राजनीतिक विद्रोह गर्न बाँकी छ । केही कुरा हाम्रो पार्टीले गर्ने लक्ष्य नै लिएको छ । यो हाम्रो दृष्टिकोण, लक्ष्य राजनीतिक उद्देश्य जे भन्नुस्, यसमा हामी अनवरत संघर्ष गरिरहने छौं’, पार्टीको घोषणापत्रमा भनिएको छ । ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ हुनुपर्ने, प्रदेशको केही भूगोल सच्याउनुपर्ने, जथाभावी सडक खन्न रोक्ने, गाँस, बाँस कपासको ग्यारेन्टी गर्ने, जातीय कल्स्टरमा भएको विभेद सच्याउने जस्ता राजनीतिक उद्देश्य सो पार्टीले लिएको छ ।

​३. पेट्रोलियम पदार्थको मूल्य यथावत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ ।

४. सन्दीप लामिछाने प्रकरण

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका छन् ।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

५. मौसमका कुरा

हावाको गुणस्तरको सूचक अनुसार यति बेला काठमाडौँको वायुमण्डलमा भएको प्रदूषणको मात्रा संवेदनशील समूहका लागि अस्वस्थ प्रकृतिको रहेको छ । वातावरण विभागका अनुसार काठमाडौँको भन्दा पनि पश्चिम तराइको क्षेत्रमा वातावरण प्रदूषणको मात्रा उल्लेख्य रहेको छ ।

तिहार लगतै नेपालमा वायु प्रदूषणको मात्रा बढेको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले रातोपाटीलाई जानकारी दिए ।  यसको कारण भारत खेतका परालमा लगाइएको आगो रहेको उनको भनाई छ । 

उसो त नेप्से सूचक दोहोरो अंकले घटेको यसदिन कारोबार रकम समेत ९० करोड तल झर्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन ८९ करोड ८९ लाख ७ हजार रूपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता सेयर कारोबार भएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ । पाकिस्तानको गुजरान्वालाको हल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री तथा पीटीआईका अध्यक्ष खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ।  

पीटीआईका नेता डा यास्मीन राशिदका अनुसार घटनामा खान घाइते भएका छन् । 

नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान सुस्ताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५० दिन यता अतिरिक्त अर्थात् बुस्टर डोज खोप लगाउनेको सङ्ख्या शून्य छ ।

गत भदौ २८ गतेसम्म ७९ लाख ७२ लाख ७९१ जनाले बुस्टर मात्रा खोप लगाएकोमा त्यस यता बुस्टर डोज लगाउनेको सङ्ख्या शून्य रहेको हो । कार्तिक ९ देखि १५ गतेसम्म पहिलो र दोस्रो मात्रा खोप लगाउने दर पनि शून्य रहेको मन्त्रालयले जनाएको छ ।

​९ शेखरलाई प्रधानमन्त्रीको प्रोजेक्ट

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले कांग्रेस नेता डा शेखर कोइरालालाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गर्दै मत मागिरहेका छन् । केही सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि कोइराला प्रधानमन्त्री हुने बताएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३१२ जनामा गरिएको नमुना परीक्षणमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही समयमा २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार  नेपालमा हाल ५७५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रहित विपरीत कार्य गर्न लगाएको आरोप लगाएका छन् । बिहीबार गृहजिल्ला डडेलधुरा पुगेका देउवाले आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राति २ बजेको समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद् भंग गर्न लगाएको आरोप लगाएका हुन् ।

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप