आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा आइपुग्यो मतपत्र

बिहीबार, १७ कात्तिक २०७९, २० : ३७
बिहीबार, १७ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र हिमाली जिल्ला जुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट बिहीबार आइपुगेको छ । सुर्खेतबाट निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र जुम्ला ल्याएको निर्वाचन कार्यालय जुम्ला प्रमुख महेश शर्माले जानकारी दिए ।

नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाका अनुसार बुधबार दुईपटक नेपाली सेनाको हेलिकोप्टरले मतपत्र ओसारेको बताए । गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीले कर्णाली राजमार्ग भत्किएकाले हेलिकोप्टरमा मतपत्र ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए ।

 काठमाडौँबाट सुर्खेत गाडीमा आएको र सुर्खेतबाट हेलिकोप्टरमार्फत जुम्लामा मतपत्र पुगेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा मतपत्र जुम्ला ल्याइएको थियो । यसपटक कर्णाली राजमार्गको सडक साँघुरो भएकाले हेलिकोप्टरमा ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र जुम्ला ल्याई सुरक्षितसाथ राखिएको छ । 

बिहीबार प्रत्यक्षतर्फको मतपत्र हेलिकोप्टरबाटै आइपुगेको मुख्य निर्वाचन अधिकृत गौतमले बताए  । जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाको लागि ७६ हजार मतपत्र र प्रदेशसभा (१) का लागि ४२ हजार तथा प्रदेशसभा (२) का लागि ३६ हजार मतपत्र र प्रतिनिधिसभाको सामानुपातिकतर्फ कर्मचारी र सुरक्षाकर्मीका लागि एक हजार मतपत्र जिल्लामा आइपुगेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिए ।

जिल्लाको जम्मा मतदाता सङ्ख्या ६८ हजार छ सय ३८ मध्ये प्रदेश ९१० मा ३६ हजार सात सय ८३ र प्रदेश (२) मा ३१ हजार आठ सय ५५ जना रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप