फेरि किन तात्यो वैद्य र विप्लवको एकता प्रसङ्ग ?
काठमाडौँ– असोज २२ देखि २६ गतेसम्म मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को प्रथम राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भयो । राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न सो पार्टीले पार्टी मुख्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरेको थियो ।
पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई व्यङ्ग्य गर्दै वैद्यले भनेका थिए, ‘हामी सुँगुरको खोरमा जान थालेका छौँ ।’
क्रान्तिका लागि चुनाव उपयोग गर्न थालेको बताउँदै उनले भनेका थिए, ‘यो संसदीय चुनाव सुँगुरको खोर हो । हामी पनि सुँगुर खोरभित्र पस्न थालेका छौँ । तर, यो हामीले क्रान्तिका लागि गर्दैर्छौँ ।’
वैद्यको यो भनाइले उनको पार्टी साङ्गठिनक र राजनीतिक दुवै हिसाबले तयारीविना चुनावमा जान लागेको सङ्केत गरेको थियो । उनीमाथि चुनाव उपयोगको दबाब पनि थियो । देशभक्त गणतान्त्रिक मोर्चामार्फत वैद्य माओवादी चुनावी मैदानमा उत्रेको थियो । तर देशभर एक करोड ५ लाख मत खस्दा यो मोर्चाले १३ हजार नौ सय ४२ मत अर्थात सदर मतको शून्य दशमलव १५ प्रतिशत भोट पायो ।
स्थानीय तहमा पनि भाग लिएको यो मोर्चालाई प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पार्टीको शानदार प्रदर्शन हुन्छ भन्ने लागेको चाहिँ थिएन । जे जति मत आयो, यो चाहिँ वैद्य पार्टीका लागि सुखद थिएन र सम्मानजनक पनि । चुनावले वैद्य माओवादीको सङ्गठनको हैसियत पनि उजागर गरिदियो ।
एकातिर वैद्यको पार्टीले चुनावमा कमजोर उपस्थित गर्यो भने अर्कोतिर नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजको नारासहित प्रदेशसभा र प्रतिनिधिसभा चुनाव बहिष्कार गर्यो । नेपाल कम्युनिस्ट पार्टीको बहिष्कार सामन्य थिएन, सकेसम्मको कोसिस गर्यो । दर्जनौँ ठाउँमा चुनाव विरोधी गतिविधि गर्यो । यो पार्टीले चुनाव भाड्न कतै बम पड्कायो, कतै चुनावी सभा र अभियानलाई अवरोध गर्न खोज्यो । तर, विप्लव पार्टीका कारण चुनाव रोक्नुपर्ने अबस्था आएन । यो पार्टीले चुनावमा जे जति बम पड्कयो, त्यसको औपचारिक जिम्मा लिएन । बरु, जनताले गरेको प्रयत्न मात्र भन्यो ।
प्रशासनले नेपाल कम्युनिस्ट पार्टी धेरै नेता–कार्यकर्ता पक्राउ गर्यो । यस्तैका बीच मङ्सिर १० र २१ गरी दुई चरणमा चुनाव सम्पन्न भयो ।
चुनाव उपयोग गरेको वैद्य माओवादी र बहिष्कार गरेको नेपाल कम्युनिस्ट पार्टी अब पाँच वर्ष संसदीय राजनीतिबाट टाढा भए । अब उनीहरूका लागि राजनीतिक मुद्दा उठान गर्ने ठाँउ सडक मात्रै हो । सडकमा सानो शक्तिको उपस्थितिले राज्यलाई दवाव बनाउन कठिन हुन्छ । यो कुरा वैद्यले पनि महसुस गरेका हुन सक्छन् र विप्लव पनि ।
अनि त चुनावका बेला आआफ्नो बाटो लागेका वैद्य र विप्लव चुनाव सकिएपछि फेरि एकै ठाउँ उभिने कोसिसमा जुटेका छन् । चुनावमा भाग लिएपछि सम्मानजनक मत नपाएको वैद्य पार्टी र चुनाव भाड्न खोजे पनि नसकेको विप्लव पार्टीबीच बढ्दो निकटता पार्टी एकताको तहसम्म पुग्न सक्छ । यद्यपि कार्यगत एकता र पार्टी एकताका विषयमा यी दुई नेता र पार्टीबीच बेला–बेलामा कुराकानी भने हुन्थ्यो र संयुक्त विज्ञप्ती पनि बाहिर आउँथे ।
तत्कालीन राजनीतिक अवस्थाले क्रान्तिकारी शक्तिहरूबीचको एकता अनिवार्य बन्न गएको दुवै पार्टीको निष्कर्ष छ । जस्तो कि पुस ९ गते वैद्य र विप्लवले जारी गरेको संयुक्त विज्ञप्तीमा क्रान्तिकारी कम्युनिस्टहरू बीचको वैचारिक, राजनीतिक एवं सङ्गठनात्मक एकीकरण तथा धु्रवीकरण गर्न अनिवार्य आवश्यकता बन्न पुगेको उल्लेख छ ।
विज्ञप्तीमा भनिएको छ, ‘कथित प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा दलाल पुँजीवादी र संशोधनवादी पार्टीहरूबीचका गठबन्धन र एकता नयाँ स्तरमा व्यक्त भएका छन् । त्यसमा माओवादी केन्द्र एमालेमा पतन भएको भने नेपाली काङ्ग्रेसले दलाल पुँजीवाद तथा पश्चगामी पार्टीहरूलाई गोलबन्द गर्ने पहल गरेको छ । यस सन्दर्भमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तनका लागि क्रान्तिकारी कम्युनिस्टहरू बीचको वैचारिक, राजनीतिक एवं सङ्गठनात्मक एकीकरण तथा धुव्रीकरण गर्न अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्षसहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो ।’
विज्ञप्तीमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार तथा पेसागत हकअधिकारका समस्यालाई लिएर संयुक्त सङ्घर्ष सञ्चालन गर्ने र जनयुद्ध, सहिद सप्ताह र जनआन्दोलनलगायतका दिवस संयुक्त रूपमा मनाउने पनि उल्लेख छ ।
प्रचण्ड नेतृत्वको माओवादीसँग वैद्य र विप्लवसँगै अलग भएका थिए । प्रचण्डसँग अलग भएपछि ०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि वैद्यको नेतृत्वमा नकेपा–माओवादी गठन भएको थियो । विप्लवलाई त्यसबेला पार्टी विभाजन गराउने एक सूत्रधारका रूपमा प्रस्तुत गरियो । त्यस मितिदेखि ०७१ मङ्सिर ७ सम्म विप्लव वैद्य नेतृत्वको पार्टीमा थिए । तर विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाएलगतै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरेका थिए ।
दुईवटा फरक फरक पार्टी भए पनि वैद्य र विप्लवले बेला–बेलामा कार्यगत एकतादेखि पार्टी एकतासम्मका लागि संवाद गर्दै आएका थिए । तर एकताले मूर्त रूप लिन सकेको थिएन । चुनावपछि उत्पन्न राजनीतिक शक्ति सन्तुलनपछि फेरि वैद्य र विप्लवले एकताको गृहकार्य सुरु गरेका हुन् ।
पुस ६ देखि ९ सम्म वैद्य पार्टीको केन्द्रीय समितिको वैठक बसेको थियो र त्यहीबीचमा वैद्य र विप्लव पार्टीका शीर्ष नेताबीच पनि संवाद भयो । अचम्म कस्तो छ भने वैद्य माओवादीका वैठकका निर्णयको प्रेस विज्ञप्ती र दुई नेताको संयुक्त विज्ञप्ती एकै समयमा एउटै इमेल ठेगाना मार्फत सञ्चार माध्यममा पठाइएको थियो ।
वैद्य माओवादीले आफ्नो विज्ञप्तीमा एकतामा जोड दिँदै भनेको छ, ‘सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने उद्देश्यमाथि जोड दिँदै माक्र्सवाद–लेनिनवाद–माओवादको पथ प्रदर्शनमा नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादमा जानचाहने कम्युनिस्ट समूहहरूसित वार्ता, संवादको प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको छ ।’
यसअघि यी दुई पार्टीका नेताहरू पोखरामा एकै पटक आआफ्ना पार्टी वैठकमा व्यस्त थिए । जतिबेला देशमा वाम र लोकतान्त्रिक गठबन्धनबीचको राजनीतिक धु्रवीकरणले तरङ्ग पैदा गरिरहेका थियो, त्यही बेला वैद्य र विप्लव भने पोखरामा व्यस्त थिए । दुवै नेता आआफ्नो पार्टीको कार्यक्रममा गएका थिए । बेला–बेला उनीहरूबीच एकताको चर्चा हुने भएकाले दुवैको पोखरामा कार्यक्रम हुनुलाई चासोका साथ हेरिएको थियो ।
असोज अन्तिम साता पोखरामा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी राष्ट्रिय सम्मेलन भएको थियो भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पनि पोखरामा केन्द्रीय समितिको वैठक भएको थियो । केन्द्र र प्रदेशको चुनावको मिति घोषणा भएको अवस्थामा नयाँ रणनीति बनाउन वैद्य माओवादी सम्मेलनमा जुटेको थियो । पछिल्लो पटक परि थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकीकरणपछि बनेको नेकपा क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन पहिलो पटक भएको थियो ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पोखर वैठक प्रदेश र केन्द्रको चुनावमा कसरी रोक्ने भन्ने रणनीति बनाउन बसेको थियो । पोखरा वैठक भन्दा अगाडि सो पार्टीको साउनमा बनेपामा वैठक बसेको थियो । त्यसलगतै चितवनमा उपलब्ध केन्द्रीय सदस्यहरूको पनि वैठक बसेको थियो ।
वैद्यले जनवादी क्रान्तिको कार्यदिशा नै अगाडि सारेका छन् भने विप्लवले एकीकृत क्रान्तिको नारा तय गरेका छन् । यस्तो अवस्थामा यी दुई पार्टीबीच एकीकरणका लागि बेला बेला संवाद हुने गरेको छ । दुवै पार्टीले पार्टी प्रमुखलाई महासचिव बनाएका छन् ।
काठमाडौँमा उद्घाटन गरिएको विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र गत फागुन पहिलो साता रोल्पाको थवाङमा भएको थियो । आठौँ महाधिवेशनको बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यही प्रतिवेदनमा उनले पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द छाडेर नेकपा मात्र राखेका थिए । पछि यसलाई अनुमोदन गरिएको थियो । उसले हेमन्तप्रकाश वली नेतृत्वको कम्युनिस्ट न्युक्लियस नेपालबीच पार्टी एकता पनि गर्यो । वैद्य माओवादीले पनि बेला–बेलामा नाम फेर्दै आएको छ ।
अहिलेको अवस्था र एकताबारे वैद्य माओवादीको बुझाइ :
प्रतिक्रियावादीहरू तथा प्रतिक्रियावादमा पतन भएका दक्षिणपन्थी संशोधनवादीहरूले यस निर्वाचनबाट सङ्क्रमण कालको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको संविधानको कार्यान्वयन र इतिहासको नयाँ अध्याय तथा नयाँ युगको थालनी भएको बताएका छन् । परन्तु, वास्तविक अर्थमा नेपालमा प्रतिक्रान्तिको अर्को अध्यायको थालनी भएको छ । हामीले प्रतिक्रान्तिको यस अध्यायको अन्त्य र नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि विशेष परिश्रम गर्न जरुरी छ ।
पार्टीले पश्चगामी राज्यसत्ता, व्यवस्था तथा त्यसका पक्षधर राजनीतिक दलहरूको भण्डाफोर, जनाधार निर्माणलगायतका कामलाई अगाडि बढाउने उद्देश्यमाथि ध्यान दिँदै देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरूलाई सघाई संसदीय निर्वाचनको उपयोग गर्ने नीति लिएको थियो । सो उद्देश्यमा आधारित उपयोगको नीति मूलतः सही नै रहेको छ । साथै यस प्रक्रियामा हाम्रा कतिपय कमी कमजोरी तथा सीमा पनि उजागर भएका छन् । यस प्रकारको स्थिति र अनुभव माथि आवश्यक ध्यान दिँदै सङ्गठन र जनसम्बन्धका काममा दृढतापूर्वक लाग्नुपर्ने शिक्षा हासिल गरिएको छ ।
राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका साथै मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रलगायत आम जनताका हक अधिकारसित सम्बन्धित समस्याहरूको तात्कालिक तथा दीर्घकालीन समाधान गर्दै सङ्घीय जनगणतन्त्रको दिशामा अगाडि बढ्नका लागि स्वतन्त्र तथा संयुक्त रूपमा सङ्घर्षको सञ्चालन गर्न आवश्यक छ ।
सच्चा क्रान्तिकारी कम्युनिस्टलाई एकताबद्ध गर्ने उद्देश्यमाथि जोड दिँदै माक्र्सवाद—लेनिनवाद—माओवादको पथप्रदर्शनमा नयाँ जनवाद हँुदै समाजवाद तथा साम्यवादमा जान चाहने कम्युनिस्ट समूहहरूसित वार्ता, संवादको प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक पहल गर्ने निर्णय लिइएको छ । (वैद्य माओवादीको केन्द्रीय समिति वैठकपछिको बिफ्रिङ)
अहिलेको अवस्थाबारे विप्लव पार्टीको बुझाइ :
कार्यगत एकता र पार्टी एकताबारे अहिले मात्र कुरा भएको होइन । यस अगाडि नेकपा, नेकपा क्रान्तिकारी माओवादी र नेकपा मसालको संयुक्त विज्ञप्ती पनि आएको थियो । अहिले पनि तीनवटै पार्टीबीच सहकार्यको कोसिस छ । हामी नेकपा मसालसँग पनि कुरा गर्छौं ।
प्रदेश र प्रतिनिधिसभाको चुनावले धुव्रीकरणको वस्तुगत परिस्थिति तयार पारेको छ । संसदीय व्यवस्थाभित्र वाम र लोकतान्त्रिक भनिएका दुई गठबन्धन देखा परेका छन् । उनीहरूबीच राजनीतिक र सैद्धान्तिक रूपमा केही फरक छैन । उनीहरूबाट अहिलेको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल र समस्याहरू हल पनि हुँदैनन् । संसदीय व्यवस्था असफल हुन्छ ।
हामीले अगाडि बढाउने खोजेको वैकल्पिक धु्रवीकरण हो । सचेत प्रयत्नबाट नै बनेको हो । नेपाल र विश्व कम्युनिस्ट आन्दोलनको समीक्षा र सशक्त आन्दोलनका लागि यस किसिमको धु्रवीकरणको खाँचो छ भन्ने सचेत प्रयत्नबाट हामी अगाडि बढेका छौँ । त्यसकारण चुनावले मात्रै हामीलाई एक ठाउँ ल्याएको भन्ने होइन । उहाँहरूलाई चुनावले अलि अलि बोध पनि गराएको हुन सक्छ । हामीले चुनावले समस्या हल गर्दैन भनेर खारेजको नीति नै लिएका थियौँ ।
अहिले एमाले र माओवादीले वामगठबन्धन भनेका छन् । कम्युनिस्ट गठबन्धन भनेका छन् । उनीहरूलाई हेर्ने यो भ्रम चाँडै नै हट्छ । समस्या जहाँको त्यहीँ हुन्छन् । जनस्तरबाट विकल्पको खोजी हुन्छ । हामी त्यसका लागि तयार छौँ । पहल लिन्छौँ ।
जहाँसम्म क्रान्तिको मोडल छ, त्यसमा हामी खुला छौँ । छलफल गरेर थप समृद्ध बनाउने कुरामा हामी अवरोध बन्दैनौँ । सबै मिलेर क्रान्तिलाई विकास गर्ने कुरा हो । नमिलेका कुरामा छलफल गर्दै जाने हो । (नेकपाका पोलिटब्युरो सदस्य भरत बमसँगको कुराकानी)
मूलधारको माओवादी बन्ने कोसिस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने बेला–बेलामा वैद्य र विप्लव पनि पुरानै घर फर्कने दाबी गर्दै आएका थिए । तर अन्तिममा चुनाव अगाडि एमाले–माओवादी वामगठबन्धन बन्यो, जसलाई पार्टी एकतासम्म पुर्याउने गृहकार्य भइरहेको छ ।
माओवादी केन्द्र एमालेसँग एकता जान थालेपछि राजनीतिक र साङ्गठनिक रूपमा मूलधारको माओवादी बनाउने सोचसहित वैद्य र विप्लवले पार्टी एकताको कोर्स अगाडि बढाउन चाहेका हुन सक्छन् । किनभने पुस ९ गते वैद्य र विप्लवले जारी गरेको संयुक्त विज्ञप्तीमा माओवादी एमालेमा पतन भएको उल्लेख गरेर यस्तो सन्देश दिएका छन् ।
वैद्य र विप्लवको बुझाइ यो पनि हुन सक्छ कि यदि प्रचण्ड नेतृत्वको माओवादी एमालेसँगको एकतामा गयो भने मूलधारको माओवादी आफूहरू नै भइन्छ । यस्तोमा माओवादी केन्द्रका असन्तुष्ट नेताहरू पनि आफूहरूसँग आउँछन् भन्ने लागेको हुन सक्छ ।
तर, बुढाले क्रान्ति गर्न सक्दैनन् भनेर हिँडेका विप्लव फेरि नेतृत्वका विषयमा ‘बुढाहरू’कै भर पर्छन् वा पर्दैनन् ? यो चाहिँ चासोको विषय हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू
-
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री श्रेष्ठ एक करोड धरौटी राख्दै सर्वोच्चमा
-
टाउकोमा सिलौटाले हानेर श्रीमतीको हत्या
-
टिकटकलाई अझै केही समय अमेरिकामा सञ्चालन गर्न दिने ट्रम्पको संकेत
-
सरकारी डाक्टरलाई कडाइ : कार्यालयमा नबसे अब भोग्नुपर्छ कारबाही