जापानमा चम्किएका नेपाली सर्जन
खगराज गौतम-चिकित्सक पेसा एक संवेदनशील पेसा हो । त्यसमा पनि टाउकोको डाक्टर भई अप्रेसन गर्नु झनै संवेदनशील काम मानिन्छ । जापानमै चिकित्सा शिक्षा हासिल गरेका नेपाली डाक्टर लुशुन चालिसे यतिबेला जापनमा सफल चिकित्सकका रुपमा दरिएका छन् ।
२००२ मा जापानीज दूतावासको छात्रवृत्तिमा जापान अध्ययनका लागि आएका थिए, चालिसे । एकवर्ष जापानीज भाषा अध्ययन गरे पश्चात् उनले २००९ मा ओसाका युनिभर्सिटीको फ्याकल्टी अफमेडिसिनबाट डाक्टर अफ मेडिसिनको अध्ययन पूरा गरे । त्यसपछि २०१५ मा बोर्ड सर्टिफाइड स्पेसलिस्ट इन न्युरोसर्जरी पुरा गरी उनले सन् २०१८ मा नागोया युनिभर्सिटीबाट विद्यावारिधि पुरा गरे ।
नेपालको ललितपुरमा जन्मिएका चालिसे यतिबेला नागोया सेन्ट्रल हस्पिटलको प्रमुख सर्जनका रुपमा कार्यरत छन् । २०१४ देखि हालसम्मको चिकित्सा प्रविधिले निको पार्न नसकिने भनिएको ब्रेन क्यान्सरको नयाँ उपचार पद्धतिमा उनको टीमले प्रभावकारी अनुसन्धान गरेको थियो । टोकियो विश्वविद्यालयमा गरिएको ‘जी फोर्टी सेवेन डेल्टा’ नामक क्यान्सर निर्मूल पार्ने अन्कोलोटिकभाइरस थेरापीको ब्रेन ट्युमरमा गरिएको क्लिनिकल ट्रायल अनुसन्धानमा ब्रेन ट्युमरको नयाँ थेरापीद्वारा उपचार गर्ने प्रविधि भित्र्याएको बताइएको छ ।
गत वर्ष २०२१ मा जापानमा आम रूपमा प्रयोग हुन स्वीकृत बाँकी रहेको प्रविधिले मस्तिष्कको क्यान्सरको उपचारमा नयाँ आयाम थपिने विश्वास लिइएको छ । यस्तै उनले टोक्यो युनिभर्सिटीमै न्युरोसर्जन भै काम गरेको पनि बताउँछन् । यस्तै अन्य विभिन्न अस्पतालमा पनि उनले सेवा प्रदान गरिसकेका छन् ।
दृढ इच्छा शक्ति तथा मेहनतले आफू यहाँसम्म आई पुगेको बताउने चालिसेले २०१८ सम्ममा हजारभन्दा बढी सफलअप्रेसन गरिसकेका छन् । हाल भने उनी कन्सल्ट्यान्ट न्युरोसर्जनका रूपमा नागोया सेन्ट्रल हस्पिटलमा प्रमुख सर्जनको रुपमा कार्यरत रहेका हुन् । उनले विशेषगरी ब्रेन ट्युमर तथा न्युरोवास्कुलर सर्जरी गर्ने गर्छन् । आफ्नो कार्यको कारण विभिन्न पुरस्कारबाट पुरस्कृत चालिसेका अनुसन्धानात्मक कृतिहरू पनि प्रकाशित छन् ।