बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीको नजरमा कांग्रेसदेखि राप्रपासम्म, कुन दल कस्ता ?

बिहीबार, १७ कात्तिक २०७९, १२ : ५५
बिहीबार, १७ कात्तिक २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचा पत्रमा विभिन्न राजनीतिक दलका सन्दर्भमा आफ्नो धारणा प्रष्ट पारेको छ । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक गरेको उक्त वाचा पत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धीहरुका लागि योगदान दिएका पार्टी भएको उल्लेख गरिएको छ । तर, तिनै पार्टी नातावाद र कृपावादमा लाग्दा लोकतन्त्रको सही प्रयोग हुन नसकेको पार्टीको निष्कर्ष छ । 

उनीहरुको मनपरीका बीच उचित विकल्प नहुँदा लामो समयदेखि यिनै दलहरु जनताको रोजाइमा भएपनि विस्तारै उनीहरुप्रति वितृष्णा बढ्दो क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको जिकिर छ । यस्तै मधेस केन्द्रीत दलहरु सत्ता स्वार्थमा फस्ने तथा सत्ताका लागि जोसँग पनि मिल्ने कारणले उनीहरु राजनीतिको मूलधारमै आउन नसकेको ठहर गरिएको छ । 

यसैगरी सो पार्टीले राप्रपाको पनि आलोचना गरेको छ । सत्ताका लागि नै अर्को पार्टीसँग मिल्ने अवस्था सिर्जना हुनुले राप्रपामा अवसरवादी र सम्झौतापरस्त चिन्तन हावी भएको पार्टी भएको ठहर गरिएको छ । 

गैरदलीय स्वतन्त्रको बाढी भए पनि वर्तमान राजनीतिक निकास दिने राष्ट्रिय स्वतन्त्र पार्टीनै भएको दाबी गरिएको छ । विभिन्न पार्टीहरुप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको धारण जस्ताको जस्तै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिहरूका लागि यिनै दल तथा यी दलहरूमा रहेका नेतृत्वहरुको सहभागिता, अगुवाइ र संघर्षबाट प्राप्त भएका हुन् । यसका लागि यी दलहरू धन्यवादका पात्र हुन् । यही कारणले पनि यी दलहरूलाई एकै समूहमा राख्नु उत्तम हुन्छ । त्यसका अतिरिक्त फरक फरक सिद्धान्त र वादहरू पछ्याउने भनिए पनि व्यवहारतः कुनै पनि दल अर्को दल भन्दा फरक देखिँदैनन् पनि । 

कार्य, गतिविधि, संरचना, कार्यकर्ता, नेता कसैलाई पनि अलग अलग राखेर हेर्दा एकबाट अर्को छुट्याउनै सकिँदैन । लोकतान्त्रिक भनिए पनि यी दलहरूमा व्यवहारतः पार्टीभित्र वा सत्ता सञ्चालनमा त्यो पुष्टि भएको देखिँदैन । पार्टीसत्तामा सीमित शिर्षनेताहरुको नियन्त्रण रहेकाले कार्यकर्ताको अधिकारिकता, राजनैतिक पदहरुमा बहाली र टिकट वितरण लोकतान्त्रिक बन्न सकेको छैन । पदीय बाँडफाँड तथा टिकट वितरणमा प्रारम्भिक निर्वाचन जस्तो लोकतान्त्रिक प्रकिया नपछ्याएर चाकडी, दाइले भाइलाई छान्ने अनि भाइले दाइलाई छान्ने जस्तो नातावाद र कृपावादमा आधारित कार्यकर्ताको अधिकारिकता वितरण, राजनैतिक पदहरूमा बहाली र टिकट वितरण भएकाले दलहरूभित्र व्यवहारमा लोकतन्त्रको प्रयोग हुन सकेको छैन भने सोही धरातलबाट राज्यसत्ता सञ्चालन भएकाले सम्पूर्ण मुलुकको लोकतान्त्रिक व्यवस्था नै जोखिमपूर्ण रहेको छ । 

अझ पार्टीभित्र लोकतन्त्रमाथि कुठाराघात हँदा यी पार्टीभित्रका अब्बल र जान्नेहरूलाई सँधै अवसरबाट बञ्चित गराएर पाखा लगाइएको छ । यहि कारणले देश स्वार्थ र भ्रष्टाचारको जालोमा फँसेको छ । यति भएर पनि उचित विकल्पको अभावमा लामो समयसम्म यिनै दलहरू नै रोजाईमा पार्ने मतदाताको संख्या ठुलो थियो तर विगतका कर्तुत तथा स्थानीय निर्वाचनमा देखिएको परिणामले गर्दा यी दलहरुप्रतिको मतदाताहरुको वितृष्णा इतिहासमै सबैभन्दा धेरै छ ।

मधेश केन्द्रीत दलहरू
सद्भावना पार्टीलगायतबाट उठ्दै गरेको मधेश मुद्दालाई मधेशी जनअधिकार फोरमले एउटा उचाइमा पुर्यायो । संघीयतालाई संवैधानिक व्यवस्था बनाउन सक्यो । उसको रापतापका कारण अन्य पार्टी छोइदै सो दलमा समावेश हुनेहरु बढे । संविधानसभामा सो दलको उपस्थिति उल्लेखनीय थियो । विस्तारै सता स्वार्थले मधेश केन्द्रीत दलहरू थपिँदै गए, कारण हो, उनीहरूबिचको टुटफुट । मिल्न र फुट्न यिनीहरूलाई केही गाह्रो लाग्दैन । सत्तास्वार्थका लागि जोसँग पनि मिल्ने यिनीहरूको प्रवृत्ति के कारण तराईको वास्तविक समस्या राष्ट्रिय राजनीतिको मूलधारमा आउन सकेको छैन ।

राप्रपा 
पदीय भागबण्डा नमिल्दा राप्रपा फेरि फुटेको अवस्था छ । विचार एकातिर र तालमेल अर्कोतिरको अवस्था राप्रपामा पनि उस्तै छ । राप्रपाका अध्यक्ष जो अन्य पार्टीहरूका नेतालाई सार्वजनिकरूपमा चोर करार गर्थे, उनै अध्यक्ष चुनाव जित्नका लागि तिनै नेतासँग तालमेल गर्न पुगेका छन् । त्यस्तै आफ्नो पार्टीले खारेज नै गर्ने भनेको प्रदेश सभामा सबैभन्दा बढी उम्मेदवार उठाउने पार्टी बनेको छ । प्रदेश खारेजीको मुद्दा राखेर प्रदेशमा उम्मेदवार उठाउनुले मात्रै होइन, राष्ट्रिय राजनीतिमा अस्तित्व जोगाउनकै लागि अर्को पार्टीसँग अस्वभाविक तालमेल गर्नुले यो पार्टीमा पनि अवसरवादी र सम्झौतापरस्त चिन्तन हावी भएको देखिन्छ ।

गैरदलीय स्वतन्त्र 
गत स्थानीय निर्वाचनपछि स्वतन्त्रहरूको पक्षमा लहर आएको देखिन्छ । तर एकै क्षेत्रमा एक दर्जनसम्म उठेका स्वतन्त्र उम्मेदवारहरुमा को सही स्वतन्त्र भन्ने छुट्याउन गाह्रो छ । दलहरुका बागी तथा स्वतन्त्रका रूपमा उठाइने डमी उम्मेदवारले पनि स्वतन्त्रको पहिचानमा समस्या पारेको देखिन्छ । यसबाहेक संसदीय राजनीतिमा एक्लो व्यक्ति गएर नीतिनिर्माण तहमा कुनै हस्तक्षेप गर्न सक्ने अवस्था रहँदैन । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको छोटो अवधिमा नै यो समूहमा रहेका धेरै मानिसहरुलाई समेटिसकेको छ । यद्यपि अझै पनि केही राम्रा मानिसहरु बाँकी छन् । पूरानो राजनीतिक पारा र प्रवृतिविरुद्ध लागेका वा लाग्न चाहेकाहरूका लागि राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य भरपर्दो विकल्प छैन । यसैले निर्वाचन अगाडि वा पछाडि यो समूहका राम्रा व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समेटिनेछन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप